
पत्रकार श्रेष्ठलाई बरामद विद्युतीय सामाग्रीसहित भदौ १ मा उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाडौं — सर्वोच्च अदालतले पत्रकार एवं जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठलाई सोमबार उपस्थित गराउन आदेश दिएको छ ।
बन्दी प्रत्यक्षीकरणको रिटमा न्यायाधीश बालकृष्ण ढकालको इजलासले बरामद सामग्रीसहित उपस्थित गराउन आदेश दिएको हो । पक्राउविरुद्ध उनकी श्रीमती सरस्वतीले बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेकी थिइन् ।
वैयक्तिक गोपनीयतासम्बन्धी ऐन, २०७५ विपरीतको कसुर गरेको आरोपमा श्रेष्ठलाई प्रहरीले बुधबार राति पक्राउ गरेको थियो । साथै जनआस्था साप्ताहिकको कार्यालय र श्रेष्ठको निवास खानतलासी गरी कम्प्युटर, ल्यापटप, मोबाइल लगायतका विद्युतीय सामग्री समेत प्रहरीले जफत गरेको छ ।
उनीमाथि अनुसन्धान गर्न अदालतले विहीबार तीन दिनको म्याद दिएको थियो ।
उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएकोमा हाल प्रहरी वृत्त महाराजगञ्जको हिरासत सारिएको छ ।



कागजपत्र |
