एक महिनामै ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रियो, चालू खाता भने घाटामा


काठमाडौं –   चालू आर्थिक वर्षको  फागुनमा यो वर्षकै सर्वाधिक रेमिट्यान्स  भित्र्याएको  छ । माघमा ७१ अर्ब रुपैयाँ भित्रिएको रेमिट्यान्स फागुनमा २० अर्बले बढेर ९१ अर्ब रुपैयाँ भित्रिएको बताइएको छ । चालू आर्थिक वर्षको फागुनमा आइपुग्दा मुलुकमा कुल ६ खर्ब ३१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको अर्थ मन्त्रालयले जनाएको छ । जुन अघिल्लो आर्थिक वर्षको त्यही अवधिको तुलनामा तीन प्रतिशतले बढी हो ।

आन्तरिक रेमिट्यान्समा गरिएको नियन्त्रण, नयाँ श्रम स्वीकृति तथा पुनःश्रम स्वीकृति लिनेको संख्या बढ्दै गएको, विदेश गएकाले रेमिट्यान्स पठाउन थालेको र सरकारले हुन्डी कारोबारीलाई पक्राउ गरेकाले फागुनमा रेमिट्यान्स बढेको बताइएको छ ।

यसअघि ०७७ को वैशाख र जेठमा एक/ एक खर्बका दरले रेमिट्यान्स भित्रिएको थियो । चालू आर्थिक वर्षको असोजमा ८४ अर्ब रेमिट्यान्स भित्रिएको थियो भने बाँकी महिनामा ८० अर्बभन्दा कम मात्रै रेमिट्यान्स भित्रिने गरेको थियो । २० अर्बले रेमिट्यान्स बढ्दा भुक्तानी सन्तुलनमा केही राहत हुने बताइएको छ ।

रेमिट्यान्स बढे पनि मुलुकको भुक्तानी सन्तुलन र चालू खाता घाटा भने अझै गहिरिँदै गएको छ ।  भुक्तानी सन्तुलन करिब दुई खर्ब ५९ अर्ब रुपैयाँ नकारात्मक बनेको राष्ट्र बैंक स्रोतले जानकारी दियो । माघसम्ममा शोधनान्तर घाटा दुई खर्ब ४७ अर्ब थियो । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ९७ अर्ब ३६ करोडले बचतमा रहेको थियो ।

त्यस्तै, चालू खाता घाटा करिब चार खर्ब ६३ अर्ब रुपैयाँ पुगेको छ । अघिल्लो महिना चालू खाता घाटा चार खर्ब १३ अर्ब ८६ करोड रुपैयाँ पुगेको थियो । अघिल्लो वर्षको आठ महिनामा चालू खाता एक खर्ब दुई अर्बले घाटामा रहेको थियो । फागुनमा विदेशी विनिमय सञ्चिति झनै घटेर नौ अर्ब ६० डलरमा ओर्लिएको छ ।

यसले ६.६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुनेछ । माघ मसान्तमा विदेशी विनिमय सञ्चिति नौ अर्ब ७५ करोड डलर थियो । त्यसले ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने थियो । अघिल्लो वर्षको यही अवधिमा ११.९ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने सञ्चिति थियो ।

फागुनसम्म नयाँ श्रम स्वीकृति लिनेको संख्या २ लाखले बढिरहेको थियो भने पुन:श्रम स्वीकृति लिनेको संख्या २३० प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।

बैंकले रेमिट्यान्सलाई आकर्षित गर्नका लागि मुद्दती निक्षेपमा थप १ प्रतिशत ब्याजदर दिइरहेको छ । मुद्दतीमा १२ प्रतिशतसम्म ब्याजदर पाउने भएपछि विदेशमा रहेका नेपालीले रेमिट्यान्स पठाउन आकर्षित भएको बताइएको छ ।

प्रतिक्रिया