

अमेरिकामा इजरायली दूतावासका दुई जना कर्मचारीको गोली हानी हत्या

एजेन्सी- अमेरिकाको वाशिङ्गटन डीसीको डाउनटाउमा रहेको यदूही सङ्ग्रहालयबाहिर इजरायली दूतावासका दुई जना कर्मचारीको गोली हानी हत्या भएको छ ।
अमेरिकी गृह सुरक्षा मन्त्री क्रिस्टी नोएमले यो घटनाको पुष्टि गर्नुभएको छ । घटनामा एक पुरुष र एक महिलालाई गोली लागेको सीबीएस न्युजलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।
क्यापिटल यहूदी सङ्ग्रहालयमा आयोजित एक कार्यक्रमबाट बाहिर निस्केपछि उनीहरूमाथि गोली प्रहार भएको थियो । घटनाको प्रकृति हेर्दा सुनियोजित रूपमा आक्रमण भएको खबरमा उल्लेख छ ।
गोली चलेको क्षेत्रमा धेरै पर्यटकीय स्थल, सङ्ग्रहालय र सरकारी भवनहरू छन् । यहाँ अमेरिकी सङ्घीय जाँच ब्युरो (एफबीआई) को क्षेत्रीय कार्यालय पनि छ । संयुक्त राष्ट्रसङ्घका लागि इजरायलका राजदूतले यो घटनालाई यहूदी विरोधी आतङ्कवादको कार्य भनेका छन् ।
यसैबीच इजरायली प्रधानमन्त्री नेतान्याहूको कार्यालयले दूतावासका कर्मचारीमाथि भएको भयानक, यहूदी विरोधी गोलीबारीबाट स्तब्ध भएको बताएको छ । इजरायली प्रधानमन्त्री नेतान्याहूले विश्वभर रहेका इजरायली मिसनहरूलाई सुरक्षा कडा बनाउन निर्देशन दिएको बताएका छन् छ ।

