रविको ८ वर्ष अघिको स्टाटस भाइरल भएपछि…


काठमाडाैं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने ८ वर्षअघि फेसबुकमा पोष्ट गरेको स्टाटर भाइरल भएको छ ।

लामिछानेले ८ वर्ष पहिले सरकारले दिएको बिदालाई व्यङ्ग्य गर्दै बाउको मुख हेर्ने दिनमा पनि बिदा दिन भनेका थिए । उनले लेखेका थिए, ‘कतै भेटेको कुरो… खुशी हुनुस्, भारत र चीनका राष्ट्रपति आउँदा सार्वजनिक बिदा मात्र घोषणा गरेछन् । धन्न ‘‘बाउको मुख हेर्ने दिन’’ घोषणा गरेनछन् ।’

आज कतारका अमिर आउने दिनमा गृह मन्त्रालयले दिएको बिदालाई लिएर सामाजिक सञ्जालमा उनको पुरानो अभिव्यक्ति भाइरल बनेको हो ।

आफ्नो पोष्ट भाइरल भएपछि लामिछानेले प्रतिक्रिया पनि दिएका छन् । मंगलबार लोकतन्त्र दिवसको शुभकामना जारी गर्दै लामिछानेले जे कुरालाई हिजो गलत भनिएको हो आज पनि गलत नै रहेको उल्लेख गरेका छन् ।

‘विगतका कयौं निर्णय र परम्परा छन् जसलाई नितिगत निर्णय गरि सच्याउनु पर्छ। अनावश्यक विदा, ‘भिआइपी सवारी’ का नामको नागरिकले पाउने सास्ती, करोडौं खर्च गरेर दिइने पदक सम्मान, आम माफीका नाममा पहुँच वाला अपराधीलाई मात्र छुट,सुरक्षाकर्मी हरुलाई कामदार बनाउने परम्परा, केहि भुतपुर्वहरुलाई दिइदै आएको अभुतपुर्व सुबिधा लगायतका तमाम विषयमा पदबाहल गरेको दिन देखि नै लगातार काम गरिरहेको छु’ उनले भनेको छन् ‘रिजल्ट आउदैछ। तर विधि नै नफेरीकन कुनै ब्यक्ती, देश वा घटना हेरेर फरक फरक निर्णय गरिनु कुटनैतिक, राजनैतिक र बैधानिक हिसाबले सहि हुन्न। जे कुरा हिजो गलत भनिएको थियो त्यो आजपनि गलत नै हो, हिजोका अभिव्यक्तिहरुको गोताखोरी गर्नै पर्दैन। तर तीन दशकका अभ्यासहरुलाई सच्याउन समय त लाग्छ। धेरै काम हुदैछन्, थोरै धैर्य गरिदिनु भए पुग्छ’।

 

 

 

 

प्रतिक्रिया