माओवादी ‘निगाह’मा दुई जाजरकोटेलाई विशेष जिम्मेवारी


काठमाडाैं – निजामति क्षेत्रकै आकर्षक मानिने राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धिकरण विभागको नेतृत्व कर्णालीका जाजरकोटबासी अधिकृतहरुले लिएका छन् । निजामति प्रशासनमा ‘चलाख’ र ‘चतुर’ मानिएका दुई सहसचिव चक्रबहादुर बुढा र पुष्पराज शाहीले मुलुककै सबैभन्दा प्रमुख मानिएको राजस्व र सम्पत्ति शुद्धिकरण जस्तो ठूला विभागमा महानिर्देशकका रुपमा नेतृत्व गर्ने अवसर पाएका हुन् ।

प्रधानमन्त्री कार्यालय मातहत रहेका यी दुवै विभागहरुको नेतृत्वमा पुगेका दुवै सहसचिवहरु कर्मचारी प्रशासनमा चलाख र राजनीतिक नेतृत्वलाई रिझाउन सक्ने कर्मचारीका रुपमा समेत चिनिन्छन् । यसअघि भन्सार विभागको नेतृत्व गरिसकेका बुढाले पछिल्लो पटक राजस्व अनुसन्धान विभागको नेतृत्व गर्ने अवसर पाएका हुन् । बुढालाई यसअघि पर्यटन विभागबाट सरुवा गरेर प्रधानमन्त्री कार्यालयमा ल्याइएको थियो ।

कुनैबेला प्रधानमन्त्री कार्यालयको निजी सचिव समेत रहेका बुढाले विभिन्न व्यापारीहरुलाई दुःख दिएको समेत आरोप लाग्दै आएको छ । यसअघि भन्सार विभागमा समेत रहेर काम गरेका बुढाको कार्यकालमा भन्सार राजस्वमै गिरावट आएको समेत जनाइएको छ । त्यतिबेला राजस्व सचिवले राजस्व चुहावट तथा नियन्त्रण सम्बन्धी बोलाएको बैठकमा महानिर्देशक बुढाले जवाफ दिन नसकेपछि उपमहानिर्देशक सेवन्त पोखरेलले स्पष्ट पारेको समेत जनाइएको छ ।

माओवादी नेता जनार्दन शर्मा अर्थमन्त्री रहेका बेला उनकै जोडबलमा भन्सार विभागको महानिर्देशकको जिम्मेवारीमा पुगेका बुढालाई पुनः माओवादीकै पालामा राजस्व विभागको जिम्मेवारी दिइनुमा आशंका उब्जिएको छ ।

उनको कमजोर नेतृत्व र कार्यक्षमताका कारण साढे २ महिनामै भन्सारको महानिर्देशकबाट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय हुँदै पर्यटन विभागमा सरुवा गरिएको थियो । पर्यटन विभागबाट उनी प्रधानमन्त्री कार्यालयको निजी सचिवालयमा पुगेका उनलाई पछिल्लोपटक प्रधानमन्त्रीकै दबाबमा राजस्व विभागमा सरुवा गरिएको स्रोतले जनाएको छ ।

त्यस्तै शाहीलाई भने २९ भदौ २०८० मा अतिरिक्त समूहबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्याल्यमा सरुवा गरिएको थियो । त्यसलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहालसँगको सामिप्यताका कारण उनले असोज १, २०८० देखि सम्पत्ति शुद्धिकरणमा महानिर्देशकको जिम्मेवारीको अवसर पाए ।

२०७८ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विभाग प्रमुख हुँदा मानव बेचबिखन ब्यूरोले भिजिट भिषाको आवरणमा तस्करी गरेको आरोपमा बयान समेत लिएका कर्मचारी हुन् । उनको सरुवामा प्रधानमन्त्री पुत्री गंगा दाहाल र कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बढी भूमिका खेलेको समेत आरोप लाग्दै आएको छ ।

यी दुवै कर्मचारीहरु कार्यक्षमतामा कमजोर रहेपनि चलखेलका साथै माओवादी केन्द्रसँग नजिक रहेरै पटक–पटक महानिर्देशक जस्तो जिम्मेवार पदको जिम्मेवारी पाइरहेको जनाइएको छ । पछिल्लो समय उनीहरुको सरुवा बढुवामा एक दैनिक पत्रिकाका सञ्चालक नै लागिरहेको समेत जनाइएको छ । संयोगले उनीहरु दुवैजना जाजरकोटका रहेका छन् ।

प्रतिक्रिया