नक्सालको चिठ्ठी सिंहदरबार पुग्दा पनि किन रोकियो डिआईजी बढुवा ?

को–को छन् बढुवाको दौडधूपमा ?


काठमाडौं — नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवा अब कम्तीमा एक सातापछि धकेलिएको छ ।

आइतबार बढुवाको अन्तिम तयारी सकिइसकेको अवस्थामा गृहमन्त्री रवि लामिछानेले नियम मिच्न खोज्दा डिआईजी बढुवा रोकिएको जनाइएको छ ।

नेपाल प्रहरीका महानिरीक्षक (आईजी) बसन्त बहादुर कुँवरले बरियताकै अधिकृतहरुबाट बढुवा गर्ने तयारी गरिरहेका बेला गृहमन्त्री लामिछानेले एक्कासी बरियताका शीर्ष अधिकृतलाई छाडेर पछिल्लो ब्याचका अधिकृतहरुलाई बढुवा गर्न दबाब दिएपछि डिआईजी बढुवा रोकिएको हेडक्वार्टर स्रोतले जनाएको छ ।

रिक्त रहेको ३ डिआईजीका लागि अहिले बरियताको शीर्षस्थानमा रहेका वर्तमान आईजी कुँवरकै ब्याची एसएसपीहरु कृष्णहरी शर्मा पोखरेल, भोला बहादुर रावल, धुव्रराज राउत र  दिल्लीराज बिष्ट रहेका छन् । नक्सालबाट सिंहदरबार पुगेको पत्रमा कृष्णहरि शर्मालाई एक नम्बर, दानबहादुर कार्की र डा. मनोज केसीलाई क्रमशः दुई र तीनमा नाम थियो । गृहमन्त्री लामिछानेले अहिलेका आईजी ब्याचका एक जना मात्रै समेटेको सूचना बालकोट पुगेपछि बढुवा रोकिएको हो । स्रोतका अनुसार बालकोटले आईजीका ब्याचकै अधिकृतहरुलाई बढुवा गर्नु मनासिब र न्यायोचित हुने जनाएपछि तत्कालका लागि डिआईजी बढुवा रोकिएको सोतले जनाएको छ ।

प्रहरी मादपण्ड र नियमावलीअनुसार बढुवा भएको खण्डमा रिक्त ३ स्थानका लागि आईजीका ब्जाचकै एसएसपीहरुबाटै बढुवा हुने देखिन्छ । तर, एसपी र डिएसपी बढुवामा प्रत्यक्ष हस्तक्षेप गरेका गृहमन्त्री लामिछानेले डिआईजी बढुवामा पनि हस्तक्षेप गरेपछि तत्कालका लागि बढुवा प्रक्रिया रोकिएको छ ।

प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) द्वय सन्दीप भण्डारी र मिरा चौधरीले अवकाश पाएपछि एआईजीमा उमेश जोशी र भिम ढकाल बढुवा भएपछि रिक्त रहेको दुई र विकासराज खनालले डिआईजीबाटै अवकाश लिएपछि हाल नेपाल प्रहरीमा ३ डिआईजी रिक्त रहेको छ ।

संसदमा प्रवेश गर्नासाथ गृहको दाबी गर्दै सरकारमा पुगेका रवि लामिछानेले प्रहरीमा मापदण्डविपरित सरुवा र बढुवा गर्न थालेपछि नेपाल प्रहरीका अधिकृतहरुमा वितृष्णा देखिएको छ । पछिल्लो समय एसपी र डिएसपी बढुवामा शीर्षस्थानका अधिकृतलाई पनि राजनीतिक प्रतिशोधकै कारण बढुवाबाट छुटाएका गृहमन्त्री लामिछानेले यसपटक पनि बरियतालाई मिच्ने स्पष्ट संकेत देखाइसकेका छन् ।

इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा संचालन हुने १९औं ‘हेड अफ एनसिबी कन्फरेन्स’मा सहभागी हुन जानुपूर्व रिक्त पदमा बढुवाको सिफारिस गरेर जाने आईजी कुँवरको चाहना गृहमन्त्रीकै कारण तुहिएको छ । आईजी कुँवरले यसअघिको एपपी र डिएसपीको बढुवा र सरुवामा समेत विवाद देखिएपछि विवादरहित बनाउने प्रयास गरिरहेका छन् ।

अहिले रिक्त रहेको ३ डिआईजीका लागि दर्जन एसएसपीहरु दाबेदार देखिएका छन् । आईजी कुँवरकै ब्याचका चार जनाबाहेक पछिल्ला ब्याचका एसएसपीहरु पनि बढुवाका लागि चलखेल गरिरहेका छन् । एसएसपी बढुवाका लागि सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, गणेश चन्द्र, दानबहादुर कार्की, डा. मनोज केसीलगायतका अधिकृतहरु दौडधूपमा लागेका छन् ।

प्रतिक्रिया