लामो पुलको झिलिमिली पर्यटकको रोजाइ


बलेवाशनिबार साँझ ७ बजेको समय आकाशमा चन्द्रमा केही माथि आइसकेको थियो । कालीगण्डकीको बहाव निरन्तर थियो । सडकमा सवारीको चापसमेत कम रहेकाले बागलुङ नगरपालिका१ रामरेखाको ढिकमा कालीगण्डकी बगेको आवाज प्रष्टै सुनिन्थ्यो ।

बागलुङ बजार र पर्वतको सुन्दरबस्ती पाङ्का बासिन्दाको सहजता र पर्यटक आकर्षणका लागि बनाइएको नेपालकै लामो झोलुङ्गे पुल आफ्नै लयमा लच्किरहेको थियो । दिउँसो हरेक दिन भीड लाग्ने सो पुलमा शनिबारको दिन थप भीड हुन्छ । लामो पुलको सुन्दरता दिउँसो  जति धेरै छ, त्यसभन्दा धेरै राति देखिन थालेको छ । रातका समयमा सो पुल तीन सयभन्दा बढी बत्तीले झिलिमिली बनाएपछि धेरैको आकर्षण केन्द्र बनेको छ ।

पारिबाट हेर्दा वारि र वारिबाट हेर्दा पारि, कस्तो सुन्दर दृष्य देखिएको  छ पोखराबाट बागलुङ घुम्न आएका  पोषण शर्मा भन्छन्, ‘दिनभर वारिपारि गरियो, रातमा फोटो खिँच्नकै लागि भए पनि फेरि पुल तरियो । बागलुङ सदरमुकामदेखि पर्वतको पाङ जोड्ने सो पुलले यात्रीलाई सहज मात्र बनाएको छैन, आकर्षण पनि थपेको छ । यहाँबाट धौलागिरि हिमाल स्पष्ट देखिन्छ । त्यस्तै मालढुङ्गादेखि बागलुङ आउने र बेनी जाने सडकका यात्रीले पनि सो पुलको आर्कषण देख्न सक्छन् ।

दिउँसो चासो नराखेका यात्रीहरु रातका समयमा झिलिमिली देखेर आकर्षित भएको  बताउँछन् । लामो पुलले बागलुङका होटल व्यवसायमा पनि राम्रो प्रभाव परेको होटल सङ्घका अध्यक्ष निलेश राजभण्डारीले जानकारी दिए ।

बागलुङमा बस्नुपर्छ भन्ने मान्यता पुलले पनि दिन थालेको उनको भनाइ छ ।  रामरेखादेखि छिमेकी पर्वतको पाङ जोड्ने सो  झोलुङ्गेपुल ५६७ मिटर लामो छ । कालीगण्डकी नदीदेखि १६५ मिटर उचाइमा बनेको सो पुल जति लामो सिङ्गल स्पाम देशभर कतै छैन । सो पुलले डेढ घण्टाको बाटालाई १० मिनेटमा छोटो बनाइदिएको छ ।

कालिका मन्दिर आएका धार्मिक पर्यटकलाई बागलुङमा एक दिन भए पनि अड्याउने अभियानमा पुल सहयोगी बनेको बानपा १ का वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए । बिहान मन्दिर आएका मानिस दिउँसो पञ्चकोट घुम्ने र बेलुकी अग्लो पुलमा घुम्ने गरेका छन् । यसरी दिनभरि घुम्दा बागलुङका होटलमा बास बस्ने पर्यटक बढ्ने विश्वास व्यसायीको छ ।

कोरोना सङ्कट विस्तारै कम भएकाले पर्यटकको आगमन बढिरहेको छ । पुल बनेकै कारण पर्वततर्फ पनि होटल सञ्चालनमा आइसकेका छन् ।

(रासस)

प्रतिक्रिया