हेटौँडामा बन्दको प्रभाव : गाडीमा आगजनी, ट्रकमा तोडफोड


मकवानपुर – बन्दको उल्लङ्घन गरेको भन्दै हेटाैँडामा बन्दकर्ताहरूले गाडीमा आगजनी र तोडफोड गरेका छन् । मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता संसदबाट अनुमोदन भएको विरोधमा ६ कम्युनिस्ट दल र दुई मोर्चाले आह्वान गरेको बन्दको अवज्ञा गरेको भन्दै उनीहरूले गाडीमा आगजनी र तोडफोड गरेका हुन् ।

यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ बस्तीपुरमा एक ट्रकमा तोडफोड र हेटौँडा उपमहानगरपालिका १५ रातोमाटे शिवम् रोडमा रिद्धसिद्धि सिमेन्ट उद्योगको खुला सिमेन्ट बोक्ने गाडीमा आगजनी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताए।

आज बिहान ११ बजेको समयमा प्रदेश ३–०३–००१ ख ०१७५ नम्बरको सिमेन्ट उद्योगको बल्करमा आगजनी गरिएको हो ।

तीन जना मोटरसाइकलमा आएर तोडफोड र आगजनी गरेर फरार भएका भनी बल्कर चालकले जानकारी गराएपछि प्रहरी टोली घटनास्थल पुगेको हो । यस्तै आज बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौँडा १९ बस्तीपुरमा बन्दकर्ताहरूले ना ६ ख ३४९१ नम्बरको ट्रकको सिसा फुटाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया