
आज छठ पर्व, तलाउ र नदी किनारमा बसेर मनाइँदै
काठमाडाैं – छठ पर्व विशेष गरी नेपालको तराई–मधेस क्षेत्र तथा भारतको बिहार, झारखण्ड र उत्तर प्रदेशमा अत्यन्तै श्रद्धा, भक्ति र निष्ठाका साथ मनाइने एक प्रमुख लोकपर्व हो। पछिल्ला वर्षहरूमा काठमाडौँ उपत्यका लगायत देशका अन्य पहाडी भू–भागमा पनि यो पर्व निकै धुमधामका साथ मनाउन थालिएको छ।
प्रकृति, जल र ऊर्जाको स्रोत सूर्यदेव तथा उहाँकी शक्ति छठी माता (षष्ठी देवी) को आराधना गरिने यो पर्वले पवित्रता, संयम, सद्भाव र पारिवारिक एकताको सन्देश दिन्छ।
छठ पर्व मुख्यतया वर्षमा दुई पटक मनाइने गरिन्छ । शारदीय छठ (मुख्य छठ) कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइन्छ। यो सबैभन्दा भव्य र व्यापक रूपमा मनाइने छठ हो। र चैती छठ चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ, जुन तुलनात्मक रूपमा कम परिवारले मात्र मनाउँछन्।
वैदिक कालदेखि नै सूर्यलाई प्रत्यक्ष देवताका रूपमा पूजा गरिँदै आएको छ। छठ पर्वमा उदाउँदो मात्र नभई अस्ताउँदो सूर्यलाई समेत अर्घ्य दिइन्छ, जसले जीवनको उत्थान र पतन दुवै अवस्थामा समान सम्मान भाव राख्नुपर्छ भन्ने दार्शनिक सन्देश दिन्छ।
महाभारत कालमा द्रौपदी र पाण्डवहरूले गुमेको राज्य फिर्ता पाउन तथा संकटबाट मुक्त हुन छठ व्रत बसेको उल्लेख पाइन्छ। त्यस्तै, सूर्यपुत्र कर्णले नित्य नदीमा उभिएर सूर्यको आराधना गर्ने परम्पराबाट पनि यो पर्वको विकास भएको मानिन्छ। त्रेतायुगमा भगवान् राम र सीताले वनवासपछि अयोध्या फर्केर कार्तिक शुक्ल षष्ठीका दिन सूर्यको उपासना गरेको विश्वास गरिन्छ।
छठी मातालाई सन्तानको रक्षा गर्ने, सुख–समृद्धि प्रदान गर्ने र रोगव्याधिबाट जोगाउने देवीका रूपमा पुजिन्छ। विशेष गरी सन्तान प्राप्ति, दीर्घायु र पारिवारिक कल्याणको कामना गर्दै यो व्रत लिइन्छ।
छठ पर्व चार दिनसम्म विभिन्न विधिविधानका साथ मनाइन्छ । पहिलो दिन – नहाय–खाय (कार्तिक शुक्ल चतुर्थी), यस दिन व्रतालुहरूले नदी, तलाउ वा घरमै पवित्र स्नान गरी चोखो र सात्विक भोजन (विशेष गरी लौकाको तरकारी र चामलको भात) ग्रहण गर्छन्। यस दिनदेखि घरमा लसुन, प्याज र मांसाहारी भोजन पूर्ण रूपमा वर्जित गरिन्छ।
दोस्रो दिन अर्थात खरना (कार्तिक शुक्ल पञ्चमी), यस दिन व्रतालुहरू दिनभरि निर्जला (पानीसमेत नपिई) उपवास बस्छन्। साँझपख माटोको नयाँ चुलोमा सख्खर, दूध र चामलको खीर (रसियाव) तथा गहुँको रोटी पकाएर छठी मातालाई चढाइन्छ। पूजापछि व्रतालुले प्रसाद ग्रहण गर्छन् र परिवारका अन्य सदस्यलाई बाँडिन्छ। यसपछि ३६ घण्टे कठोर निर्जला व्रत सुरु हुन्छ।
तेस्रो दिन अर्थात सँझिया घाट / अस्ताउँदो सूर्यलाई अर्घ्य (कार्तिक शुक्ल षष्ठी) यो छठको मुख्य दिन हो। यस दिन दिउँसो ठेकुवा, भुसुवा (कसार), केरा, उखु, नरिवल, अदुवा, सुन्तला, पान–सुपारी लगायतका सामग्री बाँसको ढकी वा नाङ्लो (सुपली) मा सजाइन्छ। साँझपख व्रतालु र परिवारका सदस्यहरू गीत गाउँदै नदी, पोखरी वा जलाशयको किनार (छठ घाट) मा जान्छन्। व्रतालुले कम्मरसम्म पानीमा पसेर अस्ताउँदो सूर्यलाई दूध र जलको अर्घ्य अर्पण गर्छन्। रातभरि घाटमै जाग्राम बसी छठी माताका लोकगीत गाउने चलन छ।
चौथो दिन अर्थात भोरका घाट / उदाउँदो सूर्यलाई अर्घ्य र पारण (कार्तिक शुक्ल सप्तमी) हाे । सप्तमीको बिहान सूर्योदय हुनुअघि नै व्रतालुहरू पुनः जलाशयमा पुगेर पानीमा उभिन्छन्। उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरेपछि घाटमै छठी माताको कथा वाचन गरिन्छ। त्यसपछि व्रतालुले प्रसाद ग्रहण गरी ३६ घण्टे कठोर व्रत तोड्छन्, जसलाई ‘पारण’ भनिन्छ।
छठ घाटमा धनी–गरिब, उच–निच वा कुनै जातजातिको भेदभाव हुँदैन। सबै समुदायका मानिस एउटै घाटमा उभिएर सूर्यको आराधना गर्छन्। पूजाका लागि आवश्यक बाँसका सामग्री (ढकी, नाङ्लो) डोम समुदायबाट, माटोका भाँडा कुम्हाले समुदायबाट र पूजा सामग्री अन्य समुदायबाट जुटाइने हुँदा यसले श्रमको सम्मान र सामाजिक अन्तरनिर्भरता झल्काउँछ।
छठ पर्वले नदी, पोखरी र जलाशयको सरसफाइ गर्न प्रेरित गर्छ। पूजामा प्रयोग हुने सम्पूर्ण सामग्री (बाँस, माटो, फलफूल, पात) पूर्ण रूपमा प्राकृतिक र वातावरणमैत्री हुन्छन्। छठमा सरसफाइ र शुद्धताको अत्यन्तै कडा नियम पालना गरिन्छ। प्रसाद बनाउनेदेखि घाटसम्म पुर्याउने कार्यमा पूर्ण पवित्रता अपनाइन्छ।
छठ पर्व धार्मिक आस्था मात्र नभएर प्रकृतिप्रतिको कृतज्ञता, स्वास्थ्य चेतना र सामाजिक एकताको अनुपम संगम हो।



कागजपत्र |
