

कर्पोरेट पेको छलाङः एक वर्षमा ५५ अर्बको कारोबार

काठमाडौं – नेपाल क्लियरिङ हाउस (एनसीएचएल) ले एक वर्ष अगाडि सञ्चालनमा ल्याएको कर्पोरेट पे मार्फत हुने कारोबारमा उछाल देखिएको छ । गत वर्षको माघ १ गतेदेखि सञ्चालनमा ल्याएको कर्पोरेट पे–प्रणालीले चालु आर्थिक वर्षमा ५५ अर्बको कारोबार गरेको छ । एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत निलेशमान सिंह प्रधानले यो एक वर्षको अवधिसम्म ५५ अर्ब रुपैयाँ बराबरको कारोबार भएको बताए ।
बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकहरुलाई लक्षित गर्दै सञ्चालन भएको कर्पोरेट पे प्रणाली सञ्चालनमा ल्याएको छोटो समयमै उल्लेख्य कारोबार गरेको हो । बैंक÷वित्तीय संस्थाहरुका साना तथा मझौला व्यावसायिक तथा विभिन्न संस्थागत ग्राहकहरुलाई सहज रुपमा डिजिटल भुक्तानी गर्न सक्ने गरी कर्पोरेट–पे प्राणाली प्रयोग हुँदै आएको छ । गत वर्ष माघ १ गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कर्पोरेट पे को उद्घाटन गरेका थिए । त्यसयता विभिन्न बैंक तथा वित्तीय संस्था र व्यवसायिक प्रतिष्ठानहरुले यो प्रणालीमा आवद्ध हुँदै सजिलै अनलाइएन भुक्तानीको काम गरिरहेका छन् ।
यसले ती बैंक तथा वित्तीय संस्थाका ग्राहकले हाल चेक बिनै सजिलै अनलाइन भुक्तानीको सुविधा पाइरहेका छन् । हाल ४८ बैंक वित्तिय संस्थाहरुमार्फत् उक्त प्रणाालीमा दुई हजार छ सयभन्दा बढी व्यावसायिक ग्राहकहरु आबद्ध भइसकेका छन् । यस प्रणालीमार्फत फण्ड ट्रान्स्फर, तलब भुक्तानी, भेण्डर पेमेन्ट, नेपाल सरकारको राजस्व भुक्तानी लगायतका विभिन्न भुक्तानीहरु गर्न सकिन्छ ।
पछिल्लो समयमा यस प्रणालीमा नेपाल आयलनिगम, भन्सार विभागको प्रज्ञापन पत्रको भुक्तानी तथा अन्य विभिन्न सेवा सम्बन्धी भुक्तानी थप गरिएको छ । यस प्रणालीमा एउटै प्लेट्फममा एकभन्दा बढी बैंक खाताहरु लिंक गरी कारोबार गर्न सक्ने व्यवस्था छ । राष्ट्र बैंकले विद्युतीय कारोबारलाई प्राथमिकता दिइरहेका बेला व्यवसायी तथा संस्थाहरुलाई लक्षित गर्दै एनसीएचएलले कर्पोरेट पे प्लेटफर्म सञ्चालनमा ल्याएर डिजिटल भुक्तानीमा धेरै सहयोग पुगेको प्रधानको भनाई छ ।
कर्पोरेट पे प्रणालीको सुरुवातसँगै बैंक तथा वित्तीय संस्थाका व्यावसायिक ग्राहकलाई चेक लिएर बैंकमा जानु पर्ने बाध्यता हट्नुका साथै डिजिटल भुक्तानीको प्रयोग समेत उल्लेख मात्रामा बढेको प्रधानको भनाई छ । कर्पोरेट पे मा कुनै बैंक तथा वित्तीय संस्थाहरु आवद्ध भइसकेपछि मात्रै सो बैंक तथा वित्तीय संस्थाका ग्राहकले यसको सुविधा पाउँछन् ।

