बारामा प्रहरीको गोली लागेर भारतीय गाँजा तस्करको मृत्यु


काठमाडौं – बारामा प्रहरीको गोली लागेर भारतीय गाँजा तस्करको मृत्यु भएको छ। बुधबार राति ७÷८ जनाको समूहमा पाँचवटा पाकेटमा ७५ किलो गाँजा नेपालबाट भारततर्फ लगिरहेको सूचना पाएपछि प्रहरीको टोली गस्तीमा थियो।

सोहीक्रममा सिम्रौनगढ नगरपालिका–२ महुयाहीमा गस्ती टोलीलाई लक्षित गरी तस्करले एक राउन्ड गोली चलाएको र आत्मरक्षाका लागि प्रहरीले चलाएको गोली लागि नाम नखुलेका एक गाँजा तस्करको मृत्यु भएको बताइएको छ।

भारतीय नागरिकलाई कम्मरमा गोली लागि घाइते भई उपचारका लागि कलैया अस्पताल ल्याएकामा निजको राति १ बजेर ३० मिनेटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता राजेश थापाले जानकारी दिए।

प्रहरीको जवाफी फायरपछि तस्करले गाँजा छाडेर भाग्दै गर्दा एक जना भारतीयलाई प्रहरीको टोलीले पक्राउ गर्न सफल भएकोछ। पक्राउ पर्नेमा भारत विहार मोतिहारी जिल्ला ग्राम पञ्चायत पिप्रा निवासी ४० वर्षीय हृदेश गिरी रहेका छन्।

मृतकको शव प्रादेशिक अस्पतालमा राखिएको छ।

प्रतिक्रिया