अभिनेता प्रदीप भन्छन्,‘भोक लागेको बेला दुई प्लेटसम्म मःम खान्छु’


काठमाडौं– नेपाली फिल्मका चकलेटी अभिनेता प्रदीप खड्का मःमका राम्रा पारखी हुन् । यही पारखीपन उनले कोरोना महामारीको लकडाउनमा राम्रै सदुपयोग गरे । उनी धेरै मःम खाएकै कारण केही मोटाए पनि ।

बिहीबार नयाँ बानेश्वरस्थित नविल बैंकको भवनमा सञ्चालनमा आएको ‘मःम मज्जाः स्वाद घरको’ को पहिलो आउटलेटको उद्घाटन गरिरहँदा उनले मःमसँग सम्बन्धित आफ्ना कुरा सुनाए । ‘म पनि मःमको पारखी हुँ । लकडाउनमा मःम खाँदा बढेको शरीरको तौल अहिले घटाउदैछु । मलाई साँधेको मःम विशेष मन पर्छ’, उनले भने, ‘भोक लागेको बेला डेढदेखि दुई प्लेटसम्म मःम त खान्छु । घरमा पारिवारिक जमघट हुँदा मःम बनाउने गरेको छु ।’

प्रदीपले नेपालमा मःमलाई ब्रान्डको रुपमा स्थापित गर्न ‘मःम मज्जा’ ले मद्दत गर्ने बताए । ‘कफीको चेन भनेझैँ मःमलाई पनि ब्रान्डको रुपमा स्थापित गर्न जरुरी छ । हामीले नेपाली उत्पादनलाई प्राथमकिता दिनुपर्छ,’ उनले भने, ‘मःम मज्जाको आउटलेटमा ग्राहकको स्वास्थ्यलाई विशेष मध्यनजर गरिएको छ । ग्राहकले अर्गानिक मःमको स्वाद पाउनुहुनेछ ।’

‘सानो मन’ र ‘के घर के डेरा’ फिल्मका निर्माता शरद श्रेष्ठको टिमले यो आउटलेट सञ्चालनमा ल्याएको हो । सञ्चालक शरद श्रेष्ठले ग्राहकको स्वास्थ्य र स्वादलाई मध्यनजर गरेर ‘मःम मज्जा’ को सुरुवात गरेको बताए । ‘ग्राहकलाई घरको स्वाद दिनका लागि हामीले ‘मःम मज्जा’ को आउटलेट सुरु गरेका हौं । हामीले मःममा एमएसजी र अजिनो मोटो केही पनि प्रयोग गरेका छैनौं,’ उनले भने । चाँडै बसन्तपुरमा ‘मःम मज्जा’ को दोस्रो आउटलेट सञ्चालनमा आउने उनले जानकारी दिए ।

बसन्तपुरको आउटलेट पनि प्रदीपले नै उद्घाटन गर्ने कार्यक्रम छ । एक वर्षभित्र देशका १० शहरमा ‘मःम मज्जा’ को आउटलेट सञ्चालन गर्ने तयारीमा शरदको टिम छ । सञ्चालक श्रेष्ठ फिल्म निर्माण र व्यवसायलाई एकसाथ लैजाने सोचमा छन् । स्थिति सामान्य भएपछि उनले निर्माण गर्ने फिल्म ‘के घर के डेरा’ को छायांकन सुरु हुँदैछ । फिल्मलाई सुव्रतराज आचार्यले निर्देशन गर्दैछन् ।

प्रतिक्रिया