माधवजीले उता पनि गोल्ड त पाउनुभएन, सिल्भर र कास्यमा के फरक छ र?: प्रधानमन्त्री ओली


काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहको नेकपा आधिकारिक नभएको भन्दै दुई नेताको खिसिट्युरी गरेका छन्।

सबैभन्दा बढी माधवकुमार नेपालको उनले खिल्ली उडाए। प्रचण्डतिर लागेर ठूलो भाग नपाएको भन्दै ओलीले भने,‘माधवजीले उता पनि गोल्ड त पाउनुभएन, सिल्भर र कास्यमा के फरक छ र?’

प्रचण्ड खाली सरकार गिराउनका लागि सक्रिय रहेको स्मरण गर्दै त्यसमा नेपालको पनि सहभागीता रहेको उनको भनाई थियो। आफू पक्षीय केन्द्रीय सदस्यको बैठकका क्रममा सम्बोधन गर्दै बिहीबार बालुवाटारमा उनले भने,‘५ बर्षअघि पनि यी दुई जना मिलेर मेरो सरकार ढालेका थिए।’

सरकारको पक्षमा कहिल्यै नबोलेको, राष्ट्रको पक्षमा नबोलेको आरोप लगाएका उनले यसपटक भूमिसहितको नक्सा जारी गर्दा सम्बन्ध बिगारेको आरोप लगाउँदै सरकार गिराउने खेलमा लागे। उनले स्मरण गरे,‘पहिला पनि संविधान बनाएबापत्, नाकाबन्दीको सामना गरेबापत्, एउटा देशसँग मात्रै भएकोमा अर्को देशमा समेत समुन्द्र पुग्ने ढोका खोलेबापत मलाई हटाउन यिनीहरू झुत्तो बनाएर लागे, अहिले पनि कुनातिर साउती मारेर लागेका छन्।’

प्रचण्ड र नेपालले आफूलाई नेकपाबाट हटाउने निर्णय भनी तमासा देखाएको बताउँदै भने,‘प्रस्ताव गरे रे, अहिले त स्पष्टिकरण सोध्ने रे, प्रथम अध्यक्षलाई स्पष्टिकरण सोध्ने यो कुन तमासा हो? पार्टीबाट पनि निकालियो भन्ने सुनेको छु। चेस खेल्दा हात्ती उँट घोडा खाएँ भनेजस्तै हो, यस्ता तमासाका कुरा।’

प्रचण्ड र नेपाल सम्हालिएर नआए कारबाही गर्ने उनले बताए।

उनले आन्दोलन गर्नुको औचित्य पनि नभएको बताए। ‘चुनावमा जान किन डराको। टाउको ठूलो भए पनि जनमत छैन। त्यही भएर संसद पुनःस्थापनाका नाममा जालझेल गरेर आशीर्वाद लिएर खान पाइन्छ कि भन्ने छ, यीनिहरूलाई।’, उनले भने।

प्रतिक्रिया