
एआईजी बढुवाको तयारीः सिंह, धानुक र सुवेदीको सम्भावना
पन्त र कार्की शक्तिकेन्द्र धाउँदै, लोहनी र ऐर पनि लबिङमा
काठमाडौं – नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)का तीनवटा दरबन्दी थप भएसँगै बढुवा समितिले बढुवा सिफारिसको तयारी गरेको छ। गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले एआईजीको दरबन्दी थप गर्ने निर्णय गरेको थियो।
थपिएको एआईजी पदमा बढुवाका लागि दुईवटा ब्याचका प्रहरी नायब महानिरीक्षक (डिआईजी)हरु प्रतिस्पर्धामा छन्। हाल नेपाल प्रहरीमा जनपदतर्फ २० जना डिआईजी छन्।
२० जनामध्ये १३ जना हालका प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीका ब्याची छन् भने अन्य सातजना आईजीपी क्षेत्रीकै वैकल्पीक टोली छन्। त्यसैले २० जना नै एआईजीका दाबेदार हुन्।
केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) का प्रमुख डिआईजी धीरजप्रताप सिंह, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआईजी उत्तम सुवेदी र कार्य विभागका डिआईजी रवीन्द्र धानुकलाई एआईजीमा सरकारले सिफारिस गर्न लागेको स्रोतले बतायो।
तर, सरकारले एआईजीमध्ये जसलाई चाहन्छ, उसैलाई आईजीपी बनाउन सक्छ। शक्तिकेन्द्रमार्फत लबिङ गर्ने व्यक्तिहरु नै बढुवा सिफारिस हुँदै आएको यसअघिका घटनाक्रमले देखाउँदै आएको छ।
थपिएको एआईजी पदमा बढुवाका लागि डिआईजीहरु बसन्त पन्त, घनश्याम अर्याल, ईश्वरबाबु कार्की, प्रकाशजंग कार्की, उमेश रन्जितकार, पुरुषोत्तम कँडेल, प्रकाश अधिकारी, मुकुन्द आचार्य, गणेश ऐर, साैरभ राणा, राजेशलाल कर्ण, डा. देवबहादुर बोहरा, रामकृपाल साहहरुले पनि शक्तिकेन्द्रमार्फत लबिङ गरिरहेका छन्।
उनीहरु आईजी क्षेत्रीका ब्याचीहरु हुन्। तर, आईजी क्षेत्रीसँगै उनीहरुले आउँदो १९ वैशाखमा अनिवार्य अवकाश पाउँदैछन्। त्यहिपनि उनीहरु एआईजी बन्नको लागि शक्तिकेन्द्र धाइरहेका छन्। तर, आईजीको ब्याचका डिआईजीहरूलाई बढुवा गर्न नहुने दबाब गृहदेखि बालुवाटारसम्म परेको छ।
नेपाल प्रहरीमा अहिले हरि पाल, निरज शाही, प्रद्युम्न कार्की, विश्वराज पोखरेल र सहकुलबहादुर थापासमेत पाँच जना एआईजी छन्। उनीहरुमध्ये ३० वर्षे सेवा अवधिका कारण आईजी थापासँगै एआईजीहरु पाल, शाही र कार्की पनि आउँदो वैशाख १९ गते नै अनिवार्य अवकाशमा जानेछन्।
त्यसपछि एआईजीद्वय पोखरेल र थापा बाँकी रहन्छन्। पोखरेल र थापा आईजी क्षेत्रीका वैकल्पिक टोली हुन्। तर एआईजी सिफारिसमा आईजी क्षेत्रीको टोली पर्छन् वा पोखरेल, थापाकै ब्याची पर्छन् त्यो टुंगो छैन।
तर, सरकारले क–कसलाई बढुवा सिफारिस गर्ने भन्ने तयारीका साथ एआईजीको दरबन्दी थप गरेको बालुवाटार स्रोतले बतायो। स्रोतका अनुसार डिआईजीहरु सुवेदी, सिंह र धानुकलाई एआईजीमा सिफारिस गर्ने तयारीका साथ दरबन्दी थपिएको हो।
त्यस्तै उनीहरूकाे ब्याचीहरू वसन्त लामा, दिवेश लोहनी, अरुण बिसी, पुजा सिहंले पनि लबिङ गरिररहेका छन्। एआईजी दरबन्दी थपिएसँगै सबैजसो डिआईजीहरू आफू बन्नका लागि दौडधुपमा सक्रिय छन्।
थपिएको दरबन्दीसँगै नेपाल प्रहरीमा प्रशासनतर्फ एआईजीको दरबन्दी ८ वटा हुनेछ।



कागजपत्र |
