जसले धेरै खर्च गर्छ, उसैलाई बजेट धेरै दिन्छौं : अर्थमन्त्री शर्मा


काठमाडाैं – अर्थमन्त्री जनार्दन शर्माले जुन सरकारले सबैभन्दा बढी खर्च गर्न सक्छ, त्यसलाई नै बढी बजेटको व्यवस्था गर्ने बताएका छन् ।शुक्रवार अर्थ विषयक विषयगत समितिको भर्चुअल बैठकमा उनले जनतालाई सबभन्दा बढी सेवा दिने सरकार ‘राम्रो’ र सबभन्दा बढी खर्च गर्ने सरकारलाई बढी बजेटको व्यवस्था गर्ने बताए ।

‘सबभन्दा बढी जसले सेवा दियो त्यही राम्रो सरकार, जसले सबभन्दा बढी खर्च गर्न सक्यो त्यसैको लागि बजेट गर्ने व्यवस्था गर्ने कुरा मैले घोषणा गरेको छु,’ उनले भने, ‘यहाँहरूले खर्च गरेर अपुग भएमा थप बजेट माग गर्दा हामीले यहाँ बाँडिएको बजेट फिर्ता लिएर भए पनि दिन सक्ने अवस्थामा हुनेछौं ।’

उनले कोभिड महामारीमा स्थानीय र प्रदेश सरकारले बढी काम गरेको उल्लेख गर्दै तल्ला सरकारले गरेका असल कामको अंगिकार गरेर जानुपर्नेमा जोड दिए । संघीयता बलियो बनाउन असल कामको अंगिकार र कतिपय व्यवहारमा सुधार गरेर जानुपर्ने उनले बताए ।

प्रदेश सरकारका मागहरूलाई आगामी दिनमा नीतिगत रूपमा सम्बोधन गर्दै लैजाने विश्वास दिलाए । ‘जे जति अहिले बजेट प्राप्त भएको छ, त्यसमा नै ध्यान दिएर खर्च गर्न अनुरोध छ,’ उनले भने, ‘तपाईंहरूले उठाउनुभएका विषयबारे थप योजना आयोग, राष्ट्र बैंक लगायतसँग बसेर थप छलफल गर्नेछौं ।’

मन्त्री शर्माले समृद्धिका लागि उत्पादन र पूँजी निर्माणमा ध्यान दिनुपर्ने आवश्यकता औंल्याए । उनले योजनाको दोहोरोपन हुने गरेको भन्दै त्यसलाई नीति निर्माण गरेरै समाधान गर्नुपर्ने समेत बताए । संघ, प्रदेश र स्थानीय तह (समन्वय र अन्तरसम्बन्ध) ऐन २०७७ दफा (२२) अन्तर्गत गठित समितिको पहिलो बैठकमा सातै प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रीको सहभागिता थियो ।

बैठकमा उनले नीति र कर्मचारीको अभाव, योजनामा दोहोरोपन, विस्तृत अध्ययन विनाका योजना, संघ र प्रदेशबीचको अविश्वास, स्रोतसाधनमा अधिकारको कमीलगायत समस्याका कारण बजेट कार्यान्वयन सन्तोषजनक रूपमा गर्न नसकिएको उल्लेख गरे ।

प्रतिक्रिया