सञ्चालनमा आयो सर्लाहीको नवलपुर सबस्टेसन


नवलपुर – सर्लाहीमा स्थापना हुने नयाँ उद्योगका लागि तथा स्थानीय स्तरमा सहजरूपमा विद्युत् आपूर्तिका लागि महत्त्वपूर्ण मानिएको नवलपुर सबस्टेसन सञ्चालनमा आएको छ । सहज विद्युत् आपूर्तिका लागि भौतिक पूर्वाधारको विकासमा जोड दिँदै आएको सरकारले मधेश प्रदेशमा पनि उत्तिकै प्राथमिकताका साथ काम गरिरहेको छ ।

सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा सर्लाहीको लालबन्दी नगरपालिका–१ नवलपुरमा निर्माण भएको १३२/३३ केभी क्षमताको सबस्टेसन मंगलवारदेखि सञ्चालनमा ल्याइएको हो ।

सर्लाहीको विद्युत् आपूर्तिलाई भरपर्दो तथा व्यवस्थित बनाउन र आगामी दिनमा खुल्ने नयाँ उद्योगलाई विद्युत् उपलब्ध गराउन निर्माण गरिएको सबस्टेसन मंगलवार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गरेका प्राधिकरणले जनाएको छ ।

उनले आम नेपाली जनताले उज्यालोका लागि मात्र नभई खाना पकाउन, सिँचाइ गर्न, उद्योग तथा कलकारखाना चलाउनका लागि प्रयोग गर्ने विद्युत्को खपत बढाउन आग्रह गरिन् । तराई तथा मधेश क्षेत्रमा सिँचाइमा विद्युत् खपतको प्रचुर सम्भावना देखेर नै सरकारले सिँचाइका लागि विद्युत् महशुल घटाएको उल्लेख गर्दै मन्त्री भुसालले सिँचाइका लागि पेट्रोलियम पदार्थबाट चल्ले उपकरण विस्थापन गर्न आग्रह गरिन् ।

‘अहिले हामी वार्षिक २ खर्बभन्दा बढीको खाद्यान्न आयात गरिरहेका छौं, विद्युत् प्रयोग गरी सिँचाइ गरेर उत्पादन वृद्धि गरौं, बाँझो खेत नराखौं,’ उनले भनिन्, ‘विद्युतीय ऊर्जा प्रयोग गरी उद्योग खोलौं, कृषि गरौं र मुलुकभित्रै रोजगारीको सिर्जना गर्दै अर्थतन्त्रलाई आत्मनिर्भर बनाउनेतर्फ लागौं ।’ मन्त्री भुसालले सवस्टेशन सञ्चालनमा आएसँगै यस क्षेत्रमा गुणस्तरीय र भरपर्दो विद्युत् आपूर्ति भई औद्योगीकरणमा सहयोग पुग्ने भएकाले त्यसतर्फ लाग्न आग्रह गरिन् ।

सर्लाहीका संघीय सांसद प्रमोदकुमार साहले सबस्टेसनबाट विद्युत् आपूर्ति हुन थालेपछि यस क्षेत्रका वासिन्दाले भरपर्दो र गुणस्तरीय विद्युत् पाउन थालेको बताए । उनले विद्युतीकरण नभएका क्षेत्रमा तत्काल काम गर्न प्राधिकरणलाई आग्रह गरे ।

प्रतिक्रिया