राष्ट्रियसभा निर्वाचन : बागमतीबाट सत्तारुढ गठबन्धनका गोमादेवी र कृष्णप्रसाद विजयी


हेटौंडा – राष्ट्रियसभा सदस्य निर्वाचनमा बागमती प्रदेशबाट दुवै सीटमा सत्तारुढ गठबन्धन विजयी भएको छ । बुधवार भएको निर्वाचनमा सत्तारुढ गठबन्धनबाट महिला तर्फका उम्मेदवार नेकपा एकीकृत समाजवादी (एस) की गोमादेवी तिमल्सिना र अन्यमा कांग्रेसका कृष्णप्रसाद पौडेल विजयी भएका हुन् ।

तिमल्सिनाले स्थानीय तहतर्फ ११६ मत अर्थात् २ हजार ८८ मतभार प्राप्त गरेकी छन् भने प्रदेशतर्फ ५७ मत अर्थात् २ हजार ७३६ मतभार गरी कूल ४ हजार ८२४ मतभार प्राप्त गरिन् । पौडेलले स्थानीय तहतर्फ ११७ मत अर्थात् २ हजार १०६ मतभार प्राप्त गरेका थिए भने प्रदेशतर्फ ५६ मत अर्थात् २ हजार ६८८ मतभार गरी कूल ४ हजार ७९४ मतभार प्राप्त गरे ।

चुनावमा पराजित विपक्षी दल नेकपा एमालेकी महिला तर्फकी उम्मेदवार निरुकुमारी कुँवरले स्थानीय तहतर्फ ११७ मत र प्रदेशतर्फ ४७ गरीे कूल ४ हजार ३६२ मतभार प्राप्त गरेकी छन् । एमालेकै अन्य तर्फका उम्मेदवार गोपाल शाक्यले स्थानीय तहतर्फ ११६ मत र प्रदेशतर्फ ४७ मत गरी कूल ४ हजार ३४४ मतभार प्राप्त गरेका छन् ।

नेमकिपाबाट महिलामा उम्मेदवार गीता काफ्लेले स्थानीयतर्फ २ मत र प्रदेशतर्फ २ गरीे कूल ८४ मतभार प्राप्त गरिन् । नेमकिपाकै अन्य तर्फका उम्मेदवार कृष्णबहादुर तामाङले स्थानीय तहतर्फ २ मत र प्रदेशतर्फ २ मत गरी कूल ८४ मत भार प्राप्त गरे ।

राष्ट्रियसभा निर्वाचनमा बागमतीमा ३४६ जना मतदाता थिए । प्रदेश सभाको १०९ मतमध्ये १०६ मत खसेको थियो । स्थानीयतर्फ शतप्रतिशत अर्थात् २३७ मत नै खसेको थियो भने २ मत बदर भएको थियो । मतदान प्रक्रियामा विवेकशील साझा पार्टीले सहभागिता जनाएन । विवेकशीलको प्रदेशतर्फ ३ मत थियो ।

प्रतिक्रिया