राष्ट्रियसभा निर्वाचन : सुदूरपश्चिममा सत्तारुढ गठबन्धनको विजयी


धनगढी – सुदूरपश्चिम प्रदेशमा भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् । रिक्त हुन लागेका राष्ट्रिय सभाका ३ सीटका लागि बुधवार भएको चुनावमा सत्तारुढ गठबन्धनका सबै उम्मेदवारले नेकपा एमालेका उम्मेदवारलाई पराजित गरेका हुन् ।

गठबन्धनका तर्फबाट राष्ट्रियसभा सदस्य खुलातर्फ नेपाली कांग्रेसका नारायणदत्त मिश्र, दलिततर्फ माओवादी केन्द्रका जगत पार्की र महिलातर्फ एकीकृत समाजवादी पार्टीकी मदनकुमारी शाह ‘गरिमा’ विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार खुलातर्फका उम्मेदवार मिश्रले प्रदेशसभा तर्फको कूल ५२ मध्ये ३९ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी नेकपा एमालेका डिल्लीराज भट्टले १३ मत पाए । स्थानीय तहतर्फ कूल १७५ मध्ये मिश्रले १०४ मत र भट्टले ६९ मत प्राप्त गरेका छन् । स्थानीय तहतर्फ २ मत बदर भए ।

दलिततर्फ माओवादी केन्द्रका पार्कीले प्रदेश सभातर्फ ३९ मत र स्थानीय तहतर्फ १०५ मत प्राप्त गरेर विजयी भएका हुन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका नरेश विकले प्रदेश सभातर्फ १२ मत र स्थानीय तहतर्फ ६७ मत पाएका छन् । दलिततर्फ प्रदेश सभामा १ र स्थानीय तहमा ३ मत बदर भए ।

महिलामा एकीकृत समाजवादीकी शाहले प्रदेश सभातर्फ ३९ मत र स्थानीय तहतर्फ १०९ मत ल्याइन् भने उनकी प्रतिद्वन्द्वी एमालेकी सन्तोषकुमार थापा शर्माले प्रदेश सभातर्फ १२ मत र स्थानीय तहतर्फ ६४ मत प्राप्त गरिन् । महिलातर्फ प्रदेश सभामा १ र स्थानीय तहमा २ मत बदर भए ।

सुदूरपश्चिम प्रदेश सभामा ५२ मतदाता (प्रदेशसभा सदस्य) रहेकामा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११, राष्ट्रिय जनता पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका १/१ जना मतदाता थिए ।

स्थानीय तहतर्फ १७५ मतदाता थिए । तीमध्ये नेपाली कांग्रेसका ७४ जना, नेकपा एमालेका ७१, माओवादी केन्द्रका १७ जना र एकीकृत समाजवादीका १३ जना मतदाता थिए । १ जना प्रदेशसभा सदस्य बराबर ४८ र स्थानीय तहका १ जना प्रमुख तथा उपप्रमुख बराबर १८ मतभार रहने व्यवस्था रहेको छ ।

प्रतिक्रिया