विवादित एसएसपी सिंहलाई कसको ठाउँमा डिआईजी बढुवा गरियो?

‘आत्महत्या नगरेको भए सुशील यादव डिआईजी हुने थिए’


काठमाडौं – शुक्रबार अर्थात २३ पुसमा गृह मन्त्रालयले नेपाल प्रहरीको प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) पुजा सिंहलाई प्रहरी नायब महानिरीक्षक (डिआईजी) बढुवाको लागि सिफारिस गर्यो।

सिंहलाई कसको दरबन्दीमा डिआईजी बढुवा गरियो धेरैलाई थाहा नहुन सक्छ। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार सिंहलाई प्राविधिकतर्फको दरबन्दीलाई जनपथतर्फ गाभेर सिंहको बढुवा भएको हो।

यहिँबाट मन्त्रालयले नयाँ दरबन्दी थपेर सिंहलाई बढुवा सिफारिस गरेको प्रष्ट हुन्छ। सिंह एकल डिआईजीमा बढुवा भएपछि अनेकन टिकाटिप्पणी सुरु भएको छ। एसएसपीमा सरुवा भएको भोलिपल्टै उनको बढुवा भएको हो।

बढुवा सिफारिस भएकी सिंहको २२ पुसमा मात्र प्रहरी प्रधान कार्यालयले सरुवा निकालेको थियो। प्रधान कार्यालय प्रशासन महाशाखामा रहेकी सिंहको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, रुपन्देही सरुवा भएको थियो।

२३ फागुन २०७६ मा प्राविधिक तर्फका डिआईजी राजीव सुब्बाले पदबाट राजीनामा दिएका थिए। १ वर्ष कार्यकाल बाँकी रहँदारहँदै त्यतिबेला सुब्बाले बढुवामा वैज्ञानिक वृत्तिविकास प्रणाली अवलम्वन नगरिएको भन्दै राजीनामा दिएका हुन्।

उनै सुब्बाको ठाउँमा सिंहको बढुवा भएको बताइन्छ। ‘प्राविधिकतर्फको दरबन्दीलाई जनपथतर्फ ल्याएर दरबन्दी सिर्जना गरिएको हो,’ प्रधान कार्यालय स्रोतले भन्यो, ‘मन्त्रिपरिषदबाट दरबन्दी थपको प्रस्ताव पास भएपछि मन्त्रालयले सिंहको बढुवा गरेको हो।’

डिआईजी बढुवा नभएको भए सिंहले आउँदो ६ फागुनमा उमेरहदले अवकाश पाउँदै थिइन्। त्यसको एक महिना अगाडि मन्त्रालयले सिंहलाई डिआईजीमा बढुवा सिफारिस गरेको हो।

९ पुसमा एसएसपी सुशील यादव आफ्नै सरकारी निवासमा झुण्डिएको अवस्थामा भेटिए। सिंह र यादव ब्याचमेट हुन्। यादव पनि १५ माघमा उमेरहदका कारण सेवाबाट अवकाश पाउँदै थिए।

तर, एक महिनाअघि यादवले आत्महत्या गरे। यादव डिआईजी बढुवाका सशक्त दाबेदार थिए। हालका प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्रीका वैकल्पिक थिए भने प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)द्वय विश्वराज पोखरेल र सहकुल थापाका ब्याची हुन् यादव र सिंह।

आफ्ना ब्याचमेटहरु प्रमोशनमा अघि परिसकेको हुँदा आफू (यादव) एसएसपीमै अवकाश हुने अवस्थाले पनि उनमा निराशा पैदा भएकाले आत्महत्या गरेको हुनसक्ने धेरैको अनुमान छ। यादव आत्महत्या प्रकरणबारे अनुसन्धान भइरहे पनि सम्बन्धित निकायले केही पनि ‘क्लू’ सार्वजनिक गरेको छैन।

आत्महत्या नगरेको भए यादवको डिआईजीमा बढुवा हुने प्रबल सम्भावना रहेको प्रहरी प्रधान कार्यालयका एक प्रहरी अधिकृतले अनलाइनन्युज७लाई जानकारी दिए। ‘एसएसपी यादवको मृत्युले सिंहको भाग्य खुल्यो। यादव बाँचिरहेको भए सिंह एसएसपीमै घर जाने थिइन्,’ ती अधिकृतले भने।

स्रोतका अनुसार यादवले आत्महत्या गरेपछि सिंहले प्रमोशनका लागि गृहमन्त्री बालकृष्ण खाँणको निवासमै पुगेर हारगुहार गरेकी थिइन्। सिंहले यादवको घटनालाई जोडेर गृहमन्त्रीलाई त्रसित बनाएकी थिइन्।

हालैमात्र यादवको घटनाबाट त्रसित रहेको गृहमन्त्री खाँणले सिंहको मागप्रति सकारात्मक हुँदै सिंहलाई डिआईजी बढुवा गरेको स्रोतको दाबी छ।

भ्रष्टाचारको आरोप लागेकी अधिकृत हुन् सिंह
भ्रष्टाचारको आरोप लागेकी सिंहमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन गरिरहेको छ। काभ्रेको प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) हुँदा सिंहले सिपाहीको टीएडीएसमेत खाएको आरोप लागेको थियो।

सिंहमाथि सरुवा भएर जाने कर्मचारीले पाउने टीएडीए नदिएर आफैंले हिनामिना गरेको आरोप छ। सरुवा भएर जाने कर्मचारीलाई दिनुपर्ने भत्ता रकम लेखापाल धुव्र गौतमसँग मिलेर उनले नक्कली हस्ताक्षर गरेर कागजपत्र मिलाएको भन्दै अख्तियारमा उजुरी परेको थियो।

सिंह ०७१ भदौदेखि ०७२ असोजसम्म काभ्रेको एसपी थिइन्। प्रहरीका परिवारले पाउनुपर्ने टीएडीए मिलेर खाएको उजुरीपछि प्रहरी प्रधान कार्यालयले लेखापाल गौतमलाई लेखापालबाट हटाएको थियो। तर टीएडीए खाने मुख्य दोषी कमाण्डर सिंहको अनुसन्धान अझैपनि टुंगिएको छैन।

र, विशेष अदालतमा समेत मुद्दा दायर भएको छैन। अनुसन्धान अधिकृतले अनुसन्धान सकेर प्रतिवेदन बुझाए पनि तत्कालीन प्रमुख आयुक्त नवीन घिमिरेले मुद्दा दायर गरेनन्। उनीपछिका प्रमुख आयुक्त प्रेम राईले पनि उनको मुद्दा दर्ता गरेका छैनन्।

तिनै सिपाहीको टीएडीए खाने सिंह एसएसपी भइन्। अहिले डिआईजी बढुवा सिफारिस भएकी छन्।

प्रतिक्रिया