

कोरोना बढेपछि भक्तपुर र ललितपुर सिडियोले बोलाए सर्वपक्षीय बैठक

भक्तपुर – कोरोना संक्रमणको जोखिम बढेपछि उपत्यकामा स्वास्थ्य सतर्कता र पूर्वतयारीका काम अघि बढाउने तयारी थालिएको छ ।
पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुले आज सर्वपक्षीय बैठक बोलाएका छन् । छुट्टाछुट्टै छलफल गरेपछि तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बसेर आवश्यक निर्णय लिइने जनाइएको छ ।
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले सकेसम्म आइतबार नै र नभए भोली (सोमबार) तिनै जिल्लाका सिडियोहरुको संयुक्त बैठक बस्न सक्ने बताइन् । संयुक्त बैठक बस्नुअघि जिल्लाका राजनीतिक दलका नेता, जनप्रतिनिधिहरु, सुरक्षा अधिकारीहरु, नागरिक समाज, पत्रकार, गैरसरकारी संस्थाका प्रतिनिधि लगायतसँग परामर्श लिन लागेको पनि शर्माले बताइन् ।
त्यस्तै ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पनि कोरोना संक्रमणको अवस्था र खोप कार्यक्रमलाई लक्षित गरी आज दिउँसो साढे २ बजे बैठक बोलाएको जानकारी दिए ।
कोरोना संक्रमणको ग्राफ बढ्दै गएको बताउँदै उनले मानिसहरुको चहलपहललाई घटाउनुपर्ने महसुस गरिएको बताए । यस सम्बन्धमा स्वास्थ्य मन्त्रालयसँग अनौपचारिक छलफल जारी रहेको जानकारी गराउँदै प्रजिअ उपाध्यायले भने, ‘स्वास्थ्य मन्त्रालयले प्राविधिक रुपमा गर्ने मार्गदर्शन र सीसीएमसीले गर्ने निर्देशन बमोजिम स्थानीय परिस्थिति अनुसार हामीले जिल्लाभित्र गर्नुपर्ने र काठमाडौं उपत्यकाभित्र एकीकृत रुपमा समन्वयात्मक विधिबाट काम गर्ने मनस्थिति बनाएका छौं, सीसीएमसीको निर्देशनपछि त्यसलाई औपचारिकता दिन्छौं ।’
काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले भने उपत्यकाका सिडिओहरुको संयुक्त बैठकको मिति र समय तय नभइसकेको बताए । तर संक्रमित संख्या बढ्दै जान थालेपछि छिट्टै कुनै न कुनै निर्णय गर्नुपर्नेमा प्रमुखजिल्ला अधिकारीहरु सचेत रहेको बताएका छन् ।

