
देउवाको मनोमानीविरुद्ध लाग्न रणनीति बनाउँदै छौँ : डा.कोइराला
काठमाडौं – १४औँ महाधिवेशनमा सभापतिमा पराजित भएका नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको मनोमानी बढ्दै गएको बताएका छन् । आज काठमाडौँ अनामनगरस्थित बसेरा होटलमा आफ्नो समूहका नेता कार्यकर्तासँग समिक्षात्मक छलफलमा कोइरालाले यस्तो बताएका हुन् ।
सभापति देउवाले पार्टीको केन्द्रीय सदस्य मनोनीत गर्दा एकलौटी गरेको, राष्ट्रिय सभा सदस्यको उम्मेदवारको टिकट वितरण गर्दा छलफल नगरी वितरण गरेको भन्दै कोइराला समूह आज रणनीति बनाउन भन्दै छलफलमा जुटेको हो । कोइरालाले सभापति देउवाले विधि, सिद्धान्त र नीतिलाई मिचेर अघि बढेकाले पार्टी दुर्घटनामा पर्न सक्ने चेतावनी पनि दिए ।
‘भर्खर महाधिवेशन सम्पन्न भएको छ । अहिले पार्टी संगठनभित्र कटुता, विभाजन र असहयोगी भावना हामी कसैमा पनि आउनु हुँदैन,’ उनले भने, ‘तर, यति भनिरहँदा पार्टीका निष्ठावान, इमान्दार, त्यागी र सक्षम नेता कार्यकर्ताहरूलाई नियोजित किसिमले पाखा लगाउने कामविरुद्ध हामीले डटेर आवाज उठाउनु पर्नेछ ।’
सबै कांग्रेसजन एउटै परिवारका सदस्य हौँ भन्ने भावना नेतृत्वबाट निर्णय गर्दा देखिनुपर्ने शेखरको भनाइ छ । ‘पार्टी नेतृत्वको गतिविधि र निर्णयले कांग्रेस संगठनमा निराशा पैदा भए अगाडिका निर्वाचन हाम्रा लागि असहज हुन सक्छन्,’ उनले थपे, ‘हाम्रो निर्णय प्रक्रियाले पार्टीमा ऊर्जाको संचार गर्न नसके कांग्रेस शिथिल हुन सक्छ ।’
देउवाले आफू इतरका नेता कार्यकर्तालाई नियोजित रुपमा पाखा लगाउन थालेको बताएका कोइरालाले त्यसविरुद्ध डटेर आवाज उठाउनुको विकल्प नरहेको बताए । पार्टीमा नियुक्ति पाएकाहरु सक्षम र योग्य भए पनि मापदण्ड नबनाइ नियुक्ति गरिनु गलत भएको उनको ठहर छ ।
‘नियुक्ति पाउनु भएका सबै साथीहरु सक्षम र योग्य नै हुनुहुन्छ। तर के ुमापदण्डु अपनाएर उहाँहरु नियुक्त हुनुभएको हो रु हामी जान्न चाहन्छौँ’ उनले भने, ‘पार्टीमा न्यायोचित अवसरको वितरण र व्यवस्थापन हुन जरुरी छ। नभए कार्यकर्ता किन कांग्रेसमा बस्ने भनी प्रश्न उठ्न सक्छ।’
सभापतिको कार्यशैलीले पार्टी दुर्घटनामा पर्ने उनको ठम्याइ छ । उक्त भेलामा कोइराला समूहबाट निर्वाचित तथा पराजित उम्मेदवारहरूसँगै अन्य नेता कार्यकर्ता सहभागी भएका थिए ।



कागजपत्र |
