प्रचण्ड-माधवको एउटै जवाफ : यथास्थितिमै एमसीसी पास गर्न सकिँदैन


काठमाडौं – सत्ता साझेदार दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीसँग एमसीसी सम्झौता अनुमोदनबारे छलफल गरेका प्रधानमन्त्री शेरबहादुर देउवालार्ई माओवादी अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड र एकिकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एउटै जवाफ दिएका छन् ।

देउवासँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अध्यक्ष प्रचण्ड र नेकपा एसका अध्यक्ष नेपालले एमसीसीबारे जनस्तरबाट उठेका सवालहरूको सम्बोधन गरिनुपर्नेमा जोड दिएका थिए । उनीहरूले यथास्थितिमै एमसीसी पारित गराउन नसकिने भन्दै थप समय लिनुपर्ने सुझाव दिएका थिए ।

भेटमा प्रधानमन्त्री देउवाले भने एमसीसीलाई तत्काल संसदमा पेस गरेर पारित गर्नुपर्ने धारणा राखेका थिए ।

प्रधानमन्त्री देउवाले फेब्रुअरी २८ भित्र एमसीसी पारित गर्ने विषय आफ्नो प्राथमिकता रहेको बताएका थिए । बालुवाटार स्रोतका अनुसार देउवाले संसदमा एमसीसी टेबुल गरिनुपर्ने र सबै दलले आफ्नो धारण त्यही राख्नुपर्ने बताएका थिए ।

पछिल्लो समय एमसीसीको विषयलाई लिएर गठबन्धनमा तनाव बढ्दो छ । प्रधानमन्त्री देउवा एमसीसी तत्काल पारित गर्ने पक्षमा भएपनि माओवादी र समाजवादीले फरक मत राख्दै आइरहेका छन् ।

प्रतिक्रिया