देउवा गन्यापधुराबाट भए क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन


डडेल्धुरा – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा १५औँ महाधिवेशनका लागि क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्।

आफ्नै गृहजिल्ला डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ मा सम्पन्न कांग्रेस संस्थापन इतर समूहको वडा अधिवेशनबाट देउवा क्षेत्रीय प्रतिनिधिमा चयन भएका हुन्।

वडा सभापति पदम महताका अनुसार देउवालाई क्षेत्रीय प्रतिनिधिका लागि सर्वसम्मत चयन गरिएको हो।

कांग्रेसको १४औँ महाधिवेशनको विधानअनुसार १५औँ महाधिवेशन गर्ने तयारी भइरहेको छ। विधानमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ।

तर देउवाले भने स्वतः प्रतिनिधि बन्ने बाटो रोज्नुको सट्टा वडा तहबाटै चुनावी प्रक्रियामा सहभागी हुँदै महाधिवेशन प्रतिनिधि बन्ने इच्छा देखाएका हुन्।

गन्यापधुरा–१ का नेता रमेश रावलका अनुसार देउवाले क्षेत्रीय प्रतिनिधिको उम्मेदवारी मनोनयनका लागि स्थानीय कौशिलादेवी देउवालाई वारेसनामा दिएका थिए।

देउवा यसअघि पनि कांग्रेसका विभिन्न महाधिवेशनमा वडा तहबाटै प्रतिस्पर्धा गर्दै महाधिवेशन प्रतिनिधि बनेका थिए।

यसपटक पनि वडा तहबाटै प्रतिनिधि चयनको प्रक्रिया रोज्दै देउवा महाधिवेशनको आन्तरिक प्रतिस्पर्धामा सहभागी हुने भएका छन्।

यता, सभापति गगनकुमार थापा नेतृत्वको पक्षले पनि आफ्नै कार्यतालिकाअनुसार १५औँ महाधिवेशन अघि बढाइरहेको छ। नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले असोज १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने तयारीमा छ ।

तर, थापाले अघि बढाएको महाधिवेशनको प्रक्रियालाई अस्वीकार गर्दै पूर्वसभापति देउवाले पनि सभापतिकै हैसियतमा निर्वाचन आयोगलाई पत्र पठाएर १५ औं महाधिवेशनको तयारी गरिरहेका हुन् ।

यससँगै कांग्रेसभित्र १५औँ महाधिवेशनलाई लिएर दुई पक्षका छुट्टाछुट्टै संगठनात्मक प्रक्रिया अघि बढेका छन्।

 

 

प्रतिक्रिया