पूर्वसांसद बस्नेतको निधन


काठमाडौं – नेकपा एमालेका तर्फबाट दुई पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित घनेन्द्र बस्नेतको निधन भएको छ । क्यान्सरका कारण उनको निधन भएको हो ।

बस्नेत २०४८ सालमा एमालेका तर्फबाट संखुवासभा क्षेत्र नं. २ बाट उम्मेदवार भई प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । उनी २०५६ सालमा भोजपुर क्षेत्र नं. १ बाट एमालेकै उम्मेदवार भई पुनः प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

झापा आन्दोलनका क्रममा राजबन्दीका रूपमा उनले १७ वर्षसम्म गोलघरसहित कारागारमा कठोर कैदी जीवन बिताएका थिए ।

भोजपुरको कुलुङ काम्लेटार निवासी बस्नेतले राजनीतिक तथा सामाजिक परिवर्तनका लागि लामो सङ्घर्ष गरेका थिए । उनको निधनप्रति विभिन्न राजनीतिक तथा सामाजिक क्षेत्रबाट दुःख व्यक्त गर्दै उनको सङ्घर्ष, त्याग र योगदानको स्मरण गरिएको छ।

उनीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरिएको छ ।

घनेन्द्र बस्नेतको निधनप्रति ओलीद्वारा श्रद्धाञ्जली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा आन्दोलनका योद्धा तथा पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

अध्यक्ष ओलीले बस्नेतको निधनले नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनमा योगदान पुर्‍याएका एक योद्धा गुमाएको उल्लेख गरेका छन् । लामो जेल जीवन र यातनाका कठिन दिन पार गर्दै लोकतान्त्रिक अधिकार प्राप्तिको आन्दोलनमा बस्नेतले पुर्‍याएको योगदान स्मरणीय रहेको उनको भनाइ छ।

ओलीले बस्नेतका संघर्षपूर्ण दिनहरू स्मरण गर्दै उनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै शोकसन्तप्त परिवारजन, आफन्त तथा सहयोद्धाहरूप्रति गहिरो समवेदना व्यक्त गरेका छन् ।

बस्नेतको संघर्ष र योगदान नेपालको कम्युनिस्ट तथा लोकतान्त्रिक आन्दोलनको इतिहासमा सम्मानपूर्वक स्मरण भइरहने अध्यक्ष ओलीले बताएका छन् ।

 

प्रतिक्रिया