मध्यराति कांग्रेस सभापतिलाई गोली हानेर मार्छु भन्दै एसपी पाण्डेको आतंक!

डिआईजीले भेटे कांग्रेस सभापति, एसपीलाई कारबाही नभए आन्दोलन गर्ने चेतावनी


काठमाडौं – जिल्ला प्रहरी कार्यालय, सिरहाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) हिराबहादुर पाण्डेले आइतबार मध्यराति साढे १ बजे पेस्तोलसहित नेपाली कांग्रेस सिराहा सभापतिको घरमा पुगेर आतंक मच्चाएको खुलेको छ।

स्रोतका अनुसार सरुवाको विषयलाई लिएर एसपी पाण्डे र कांग्रेस सिरहा सभापति रामचन्द्र यादवबीच विवाद भएको हो। विवादपछि मार्ने धम्की दिँदै एसपी पाण्डेले मध्यराति सभापति यादवको घर पुगेर आतंक मच्चाएको स्रोतले बतायो।

प्रहरी प्रधान कार्यालयले ६ महिनामै एसपी पाण्डेलाई तानेर उनको ठाउँमा एसपी अर्जुन तिमिल्सिनालाई पठाएको छ। एसपी पाण्डेको ८ असार २०७८ मा जिल्ला प्रहरी कार्यालय सिराहा सरुवा भएको थियो।

छोटो समयमै आफ्नो सरुवा भएपछि एसपी पाण्डे सभापति यादवसँग असन्तुष्ट थिए। प्रहरी प्रधान कार्यालयले पाण्डेलाई हेडक्वार्टर तानेपछि आक्रोशित पाण्डे गोली हानेर मार्छु भन्दै यादवको घरमा पुगेका हुन्।

पेस्तोलसहित यादवको घरमा पुगेका एसपी पाण्डेलाई सिराहाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) लालबाबु कवारी र सशस्त्र प्रहरीका एसपी दीपेन्द्र गिरीले सम्झाएर फर्काएका स्रोतको दाबी छ।

यस विषयमा सिरहाका सिडिओ कवारीले आफूलाई घटनाबारे थाहा नभएको बताए। उनले अनलाइनन्युज७ सँगको कुराकानीमा भने, ‘घटनाबारे के भएको हो छानबिन गर्दैछौं। अहिले नै केही भन्न सकिने अवस्था छैन।

प्रहरीले ११ कात्तिकमा किसन धामीलाई गोली हानी हत्या गरेको अभियोगमा केही दिनअघि सुशील यादव र प्रमोद यादवलाई पक्राउ गरेको थियो।

पक्राउ परेका उनीहरूलाई पुर्पक्षका लागि जेल चलान गरिएको छ। एसपी पाण्डले अभियुक्तलाई समातेपछि सभापति यादवले उनीहरुलाई छोड्न दबाब दिएका थिए। नमानेपछि यादवले गृहमन्त्रीमार्फत एसपी पाण्डेको सरुवा गरेको आरोप छ।

एसपी पाण्डेले समेत अभियुक्तलाई समातेपछि छोड्न यादवले आफूलाई उनीहरुलाई छाड्न दबाब दिएको बताए। ‘सरुवाको विषयमा विवाद भएको होइन। अभियुक्तलाई समातेपछि छोड्न दिएको विषयमा मात्र विवाद भएको हो,’ एसपी पाण्डेको भनाइ छ।

घटनापछि प्रदेश २ प्रहरी प्रमुख नायब महानिरीक्षक (डिआईजी) उमेश रन्जितकारले यादवलाई घरमै पुगेका भेटेका छन्।

भेटको क्रममा एसपी पाण्डेमाथि अनुसन्धान गरेर कारबाही प्रक्रिया अगाडि बढाउने आश्वासन दिएको स्रोतले बितायो। यस विषयमा सांसद यादवसँग कुरा गर्दा आइतबार मध्यराति एसपी पाण्डे मदिरा सेवन गरेपछि हतियरासहित आफ्नो निवासमा आएको पुष्टि गरे।

‘१५/२० जना प्रहरी टोलीसहित एसपी पाण्डे हतियार बोकेर निवास आएका रहेछन्। जुनुकुरा सिडिओ, सशस्त्रका एसपी र अनुसन्धानका एसपी तुलसी गिरीले थाहा पाएपछि उहाँलाई सम्झाएर फर्काएका रहेछन्,’ यादवले भने।

एसपी पाण्डेलाई कारबाही नभए यादव समर्थित कार्यकर्ताहरुले आन्दोलन गर्ने जनाएका छन्।

(यसअघि समाचारमा पूर्वसासंसद हुनुपर्नेमा रामचन्द्र यादवलाई सिरहा क्षेत्र नंं ४ का प्रतिनिधिसभा सदस्य भनिएकाले क्षमायाचनासहित समाचार सच्चाइएको छ। सम्पादक)

यादवले २०७० सालको चुनावमा सिरहा क्षेत्र नं. ४ बाट प्रतिनिधिसभा सदस्य जितेका थिए।

प्रतिक्रिया