
सौर्य एयरलाइन्सकै कर्मचारीबाट ५० लाख बरामदः अवैध रकम ओसारपोसारमा एयरलाइन्सको शंकास्पद भूमिका!
बरामद रकम क्यासिनो कारोबारीको हुनसक्ने आशंका
काठमाडौं – शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रकमसहित सौर्य एयरलाइन्सकी एक महिला कर्मचारी पक्राउ परिन्। स्रोत नखुलेको ५० लाख नेपाली रूपैयाँसहित सिनामंगलकी रेसा शाक्य पोखरेललाई प्रहरीको विमानस्थल सुरक्षा गार्डले पक्राउ गरेको हो।
विराटनगरबाट १ः५५ मा काठमाडौं आएको सौर्य एयरलाइन्सको विमानबाट आएको पैसा लिन जाँदा प्रहरीले पोखरेललाई पक्राउ गरेको विमानस्थल सुरक्षा गार्डका प्रहरी उपरीक्षक (एसपी) नान्तिराज गुरुङले अनलाइनन्युज७ लाई जानकारी दिए।
उक्त रकम सौर्य एयरलाइन्सको विराटनगरका स्टेसन मेनेजर प्रकाश पौडेलले पठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेपछि मोरङ प्रहरीले शनिबार नै पौडेललाई पक्राउ गरेर काठमाडौं पठाएको छ। उडानमा सुरक्षा जाँच नै नगराई पठाएको पैसा बरामद भएपछि पौडेललाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पौडेलले सौर्य एयरलाईन्सको उडान नम्बर एसएयु २४ मा ब्यागेज सुरक्षा जाँच नगराइ उडान भर्न तयारी अवस्थामा रहेको जहाजमा सौर्य एयरलाइन्स भद्रपुर लेखिएको रातो रंगको मेल ब्यागभित्र करेन्ट चाउचाउको प्याकेट राखेका थिए। पैसा राखेको शंका लागेपछि प्रहरीले सोधखोज गर्दागर्दैमा विमान उड्यो।
विराटनगर–१० घर भएका पौडेलले चाउचाउको प्याकेट जहाजमा राखेको दृश्य ड्युटीमा खटिएका प्रहरीले देखेका थिए। आफूलाई झुक्याएर पठाउन खोजेको प्याकेटमाथि ड्युटीमा खटिएका प्रहरीलाई शंका लाग्यो। पौडेल एयरलाइन्सकै स्टेसन म्यानेजर भएको कारण ती प्रहरी कर्मचारीले केही गर्न सकेनन्।
उक्त दृश्य देखेका प्रहरी कर्मचारीले तत्कालै महानगरीय प्रहरी विमानस्थल सुरक्षा गार्डमा घटनाबारे खबर गरे। काठमाडौं विमानस्थल प्रहरीलाई सूचनाप्राप्त भएपछि विमानस्थलका प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश मैनालीले सो चाउचाउको प्याकेट लिन आउने व्यक्तिलाई नियन्त्रणमा लिने योजना बनाए।
एसएसपी मैनालीले अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालयबाट सादा पोशाकमा प्रहरी टोली खटाएका थिए। सादा पोशाकको प्रहरी टोलीले उक्त ब्याग लिन आएको समयमा एयरलाईन्सकै सहायक कर्मचारी मोरङ घर भई सिनामंगल बस्ने पोखरेललाई नियन्त्रणमा लिन सफल भएको हो।
पोखरेलको साथबाट बरामद गरेर हेर्दा भित्र रातो प्लाष्टिकले बेरिएको करेन्ट चाउचाउको कार्टुनभित्र स्रोत नखुलेको तथा भन्सार उदघोष नभएको नेपाली रुपैयाँ एकहजार दरका ४ हजार नौ सय ५० थान र पाँच सय रुपैयाँ दरका एक सय गरी ५० लाख रुपैयाँ फेला परेको एसएसपी मैनालीले बताए।
बरामद ५० लाख रुपैयाँको स्रोत खुलाउन नसकेपछि पक्राउ परेकी पोखरेल र विराटनगरबाट पक्राउ परेका पौडेललाई विमानस्थल प्रहरीले बरामद रकमसहित थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग ललितपुर पठाएको छ। अब उनीहरुमाथि राजस्वले थप अनुसन्धान गर्नेछ।
बरामद रकम क्यासिनो कारोबारीको हुनसक्ने आशंका
पछिल्लो समय सौर्य एयरलाइन्सले काठमाडौं–विराटनगर दैनिक दुई वटा उडान गर्दै आएको छ। पक्राउ परेका एयरलाइन्सका स्टेसन म्यानेजर लामो समयदेखि सिक्किम, झापा र मोरङका क्यासिनोमा टेबुल चलाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
त्यसैले उक्त बरामद रकम क्यासिनो कारोबारीको हुनसक्ने अनुमान गरिएको छ। आफै क्यासिनो सञ्चालन गरिरहेका पौडेलमाथि विभिन्न कारोबारीको अवैध रकम ओसारपसारमा संलग्न रहेको आरोप छ।
आफ्नै कर्मचारी अवैध रकम ओसार–पोसारमा संलग्न रहेपछि सौर्य एयरलाइन्सको समेत भूमिका शंकास्पद पाइएको छ। प्रहरीसँगको बयानमा पौडेलले उक्त रकम कम्पनीको भनेका छन्। कम्पनीको पैसा भए स्रोत खुलाउन किन सकेनन्?
उक्त बरामद रकम कम्पनीको हो वा अवैध हो भन्नेबारे अनुसन्धानबाट खुल्ने एसएसपी मैनालीले बताए। कम्पनीको पैसा हो भनेका पौडेलको सौर्य एयरलाइन्सका अध्यक्ष दीपक पोखरेलसँग राम्रो सम्बन्ध रहेको समेत पाइएको छ।
यस्तै रकमसहित पक्राउ परेकी पोखरेल अध्यक्षको नातेदार हुन्। त्यसैले पनि अवैध रकम ओसारपोसारमा सौर्य एयरलाइन्सको भूमिका शंकास्पद देखिएको हो। एयरलाइन्सका अन्य कर्मचारी हुँदाहुँदै पोखरेललाई किन रकम ‘रिसिभ’ गर्न पठाइयो?
यस वियषमा समेत अनुसन्धान हुने राजश्व अनुसन्धान विभागले जनाएको छ।
त्यस्तै विराटनगर हुण्डी कारोबारीको समेत अखडा हो। विराटनगरमा पछिल्लो समय हुण्डी कारोबारी बढेको प्रहरीले जनाएको छ। यद्यपि शंकास्पद रकम चेक नगरिकनै पठाएको पाइएपछि उक्त रकम हुण्डीकै हुनसक्ने प्रहरीको अनुमान छ।
स्टेसन म्यानेजर भएकै कारण चेकिङमा बसेनन् पौडेल
नेपालबाट विदेश जाँदा मात्र होइन, नेपालको जुनसुकै विमानस्थलमा जहाजमार्फत यात्रा गर्ने यात्रुहरुमाथि प्रहरीको चेकिङ अनिवार्य हुन्छ। सुरक्षाको लागि विमानस्थलमा खटिएका प्रहरी अधिकारी बाहिर–भित्र गर्दा समेत चेकिङ हुन्छ।
अवैध गतिविधि नहोस् भन्नकै लागि विमानस्थलमा प्रहरी चेकिङ हुने प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त बहादुर कुँवरले बताए। ‘विमानस्थलमा जो कोहीलाई पनि चेकिङ गर्ने अधिकार ड्युटीमा खटिएका प्रहरीलाई हुन्छ,’ उनले भने।
तर, बेलाबेला प्रहरीलाई नै झुक्याएर कोही व्यक्ति विना चेकिङ सिधै जहाज चढ्छन्। देख्दादेख्दै पनि प्रहरीले केही गर्न सक्दैन्। त्यसको कारण हो– शक्तिको चरम दुरुपयोग। कुनै विमानस्थलमा तपाईको आफन्त वा आफ्नो मान्छे छन् भने बुझ्नुस् तपाई प्रहरीको चेकिङमा बसिरहन पर्दैन्।
विमानस्थलमा शक्तिको दुरुपयोग गर्नेहरुमा विमानस्थलकै कर्मचारी र एयरलाइन्सका कर्मचारीहरु हुन्छन्। त्यसैको कारण खुलेआम रुपमा अवैध गतिविधि हुन्छ। विमानस्थलमा हुने अवैध गतिविधिमा धेरै भन्दा धेरै विमानस्थलका कर्मचारी र एयरलाइन्सका कर्मचारी संलग्न हुने गरेको प्रहरीको दाबी छ।
यस्ता गतिविधिमा संलग्न व्यक्तिहरु कारबाहीको दायरामा आउने प्रहरीको भनाइ छ। आफू एयरलाइन्सको स्टेसन म्यानेजर भएको कारण दम्भ देखाएर पौडेल प्रहरीको चेकिङमा बसेनन्। त्यसैले अर्कै बाटोबाट जहाजमा पुगेर पैसा पठाएको प्रहरीको भनाइ छ।



सुजन पन्त |
