स्कुल जाँदा खुकुरी!

विद्यार्थीहरुको बयानः आफ्नो सुरक्षाको लागि खुकुरी बोकेर स्कुल गएका हौं


काठमाडौं – विद्यार्थी विद्या र अर्थी मिलि बनेको शब्दको शाब्दिक अर्थ ज्ञान आर्जन गर्ने व्यक्ति भनि बुझ्नु पर्दछ। विद्यार्थी त्यो हो जो केहि सिकिरहेको हुन्छ। विद्यार्थीहरु बालबालिका वा किशोरकिशोरी हुन सक्छन्, कलेजमा गएर सिकिरहेका छन् तिनीहरू पनि विद्यार्थी हुन्।

विद्यार्थीको लागि अर्को शब्द शिष्य हो। सामान्यतया, विद्यार्थीले शिक्षकहरूसँग सिक्ने गर्दछन्।

जब पोसाकमा विद्यार्थी स्कुलमा प्रवेश गर्छ, तब उक्त विद्यार्थीको रेखदेख शिक्षकहरुको काँधमा हुन्छ। स्कुलमा राम्रो/नराम्रो दुवै क्रियाकलाप गर्ने विद्यार्थीहरु स्कुलका शिक्षकहरुको निगरानीमा हुनुपर्छ। राम्रो गर्नेलाई पुरस्कृत र नराम्रो गर्नेलाई दण्डित गर्नुपर्छ। यो नियम हरेक स्कुलमा लागू हुनुपर्छ।

तर, पछिल्लो केही समययता बाँकेको कोलपुरस्थित त्रिभुवन नमुना माध्यमिक विद्यालयमा फरक दृश्य देख्न थालिएको छ। विद्यालयको कमजोरीको कारण विद्यार्थीहरुले मनलाग्दी गरेका छन्। गत सोमबार दिउँसो विद्यालय परिसरबाट दुई विद्यार्थीलाई प्रहरीले खुकुरीसहित पक्राउ गर्यो।

सो विद्यालयमा ४/५ सय विद्यार्थी अध्ययनरत छन्। स्कुलमा पिएन एकजना हुन्छन्। सरकारी स्कुलमा सुरक्षा गार्ड भनेर राखिन्न। एकजना पिएनले सबै विद्यार्थीलाई चेकजाँच गर्दै स्कुलमा प्रवेश दिन पनि त्यति सहज छैन। विद्यालयको व्यवस्थापन कमजोर हुँदा विद्यार्थीहरुले सहजै रुपमा हातहतियार लैजाने गरेको प्रहरीको भनाइ छ।

यति मात्र होइन गत शुक्रबार पनि सोही स्कुलमै अध्ययनरत दुई छात्र खुकुरीसहित पक्राउ परेका थिए। उनीहरु भने विद्यालयभन्दा परिसरभन्दा बाहिरबाट पक्राउ परेका हुन्। यसरी नमुना माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुको साथबाट हतियार बरामद भएपछि अन्य विद्यार्थीहरु त्रसित बनेका छन्।

सोमबार पक्राउ पर्नेहरुमा प्रहरीका अनुसार पाइन्टले छोपेर खुट्टामा खुकुरी लुकाएर राखेको अवस्थामा १५ वर्षीय छात्र र कम्मरको पछाडि भागमा खुकुरी राखेको अवस्थामा १७ वर्षीय छात्र रहेका छन्। विद्यालय हाताभित्रै खुकुरी देखाएर अन्य विद्यार्थीलाई धम्क्याउने, डराउने गरेको खबर पाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुमध्ये १५ वर्षीय छात्र ९ कक्षामा अध्ययनरत र १७ वर्षीय छात्र ११ मा पढ्छन्।

त्यतिबेला उनीहरुलाई नियन्त्रणमा लिन प्रहरीलाई हम्मेहम्मे भएको थियो। सादा पोसाकमा छात्रलाई नियन्त्रणमा लिन गएका प्रहरीमाथि अन्य विद्यार्थीहरु जाइलागेका थिए। प्रहरीको संख्या थोरै र विद्यार्थीको संख्या धेरै हुँदा समस्या भएको थियो। जबकी हतियार लिएर विद्यालय हाताभित्र विद्यार्थीलाई पक्राउ गर्न जाने कुरो नि भएन।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रवीन्द्र खनालले १५ वर्षीय र १८ वर्षीय छात्र विद्यालय परिसरभित्रबाटै खुकुरीसहित पक्राउ परेको जानकारी दिए।

‘खुकुरीसहितका घरेलु हातहतियार लिएर कक्षाकोठामा केही विद्यार्थी गएको सूचनाको आधारमा प्रहरी टोली विद्यालयमा पुगेको थियो,’ डिएसपी खनालले भने, ‘सोही क्रममा शरीरमा लुकाइछिपाइ राखेको खुकुरीसहित दुईजना विद्यार्थीलाई नियन्त्रणमा लिएका हौं।’

उनीहरुले अर्को समूहलाई आक्रमण गर्नको लागि खुकुरी बोकेर विद्यालय गएको हुनसक्ने प्रहरीको अनुमान छ। पक्राउ परेका छात्रहरुले आफ्नो सुरक्षाको लागि खुकुरी बोकेर स्कुल गएको प्रहरीसँगको बयानमा भनेका छन्। पक्राउ परेका उनीहरुले विद्यालय बाहिर रडसमेत लुकाएर राखेको अवस्थामा फेला परेको डिएसपी खनालले बताए।

पक्राउ परेका छात्रहरुले आक्रमण गर्ने उद्देश्यले नै घरेलु हातहतियार बोकेर स्कुलमा गएको प्रहरी अनुसन्धानबाट खुलेको कोहलपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) होम चौधरीले जानकारी दिए। ‘समयमै खुकुरीसहित दुवैजनालाई नियन्त्रणमा लिन सफल भएको कारण एउटा ठूलो घटना टरेको छ,’ उनले भने, ‘समयमै प्रहरीलाई जानकारी आएकोले त्यो घटना टरेको हो।’

केही समयअघि उनीहरुले सोही स्कुलमा एक शिक्षक, पिएयन र केही विद्यार्थीमाथि हातपात समेत गरेको पाइएको प्रहरी अनुसन्धानबाट खुलेको छ। त्यहि डरले स्कुलमा शिक्षक, पिएयन र कुटाइ खाने विद्यार्थीहरुले आक्रमण गर्न सक्छन् भनेर खुकुरी बोकेर गएको हुनसक्छ।

त्यस्तै शुक्रबार पक्राउ परेका छात्रहरुले समेत बाटोमा खुकुरी लिएर हिँडिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेपछि उनीहरु भाग्दाभाग्दै पक्राउ परेका हुन्। त्रिभुवनमै अध्ययनरत १७ वर्षीय छात्रको साथबाट समेत खुकुरी बरामद भएको इन्स्पेक्टर चौधरीले बताए। उनीसँगै १९ वर्षीय छात्र समेत पक्राउ परेका छन्।

प्रहरीले कम उमेरका भएका कारण पक्राउ परेका चारैजनालाई कार्यालयमा बोलाएको बेला हाजिरी हुनेगरी अभिभावकको जिम्मा लगाइसकेको छ। यसरी विद्यालय हाताभित्रै विद्यार्थीहरुले खुकुरी लिएर आउन थालेपछि अन्य विद्यार्थीहरु त्रसित भएका छन्।

यसरी स्कुले विद्यार्थी हिंसात्मक गतिविधिमा सक्रिय हुँदा भोलिको पुस्ताप्रति चिन्तित हुने ठाउँ देखिन्छ। खुकुरीलगायतका घरेलु हातहतियार लिएर विद्यालय जानेहरुको संख्या बढ्दै जान थालेपछि प्रहरीलाई पक्राउ गर्न समस्या हुने गरेको छ।

स्कुल पोसाकमा रहेका विद्यार्थीलाई पक्राउ गर्दा विरोध आउने भएकाले प्रहरीलाई निगरानी गर्न समस्या छ। सोही कुराको फाइदा उठाउँदै अपराधिक गिरोहमा संग्लनहरुले विद्यार्थीहरुलाई प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ।

विद्यार्थीलाई प्रहरीले पनि खासै निगरानी नराख्ने र प्रयोग गर्न सजिलो हुने भएकाले अपराधिक गिरोहहरुले विद्यार्थीहरुलाई नै प्रयोग गर्ने गरेको पाइएको छ। अभिभावकले समेत आफ्ना बालबच्चाको निगरानी नराख्दा यस्ता समस्याहरु दिनप्रतिदिन बढ्दै गइरहेको छ।

यस्तो अपराधिक गतिविधिमा संलग्न विद्यार्थीहरुलाई समयमै स्कुल प्रशासन र अभिभावकले निगरानीमा राख्नुपर्ने सुरक्षाविज्ञहरु बताउँछन्। ‘यस्ता विद्यार्थीले जुन कुनैबेला आफ्नो परिवारको समेत वास्तै नगरी समाजमा आतंक मच्चाउन सक्छन्। त्यसैले समयमै उनीहरुको क्रियाकलापबारे जानकार हुनुपर्छ,’ एकजना अवकाशप्राप्त डिएसपी भन्छन्।

प्रतिक्रिया