दीर्घकालमा लाभ हुने कम्पनी छानेर लगानी गर्न अर्थमन्त्री शर्माको आग्रह


काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले शेयर बजारका लगानीकर्ताले दीर्घकालमा लाभ दिने कम्पनी छानेर मात्रै लगानी गर्नुपर्नेमा जोड दिएका छन् । ‘शेयर बजारमैत्री नीति तय गर्न, संस्थागत संरचनाको परिवर्तन र पारदर्शीतालगायतका विषयमा स्पष्ट पार्न सरकार तयार छ’, उनले भने ‘अर्थमन्त्रीले शेयर बजार बढाउने घटाउने गर्दैन, लगानीकर्ता आफै जिम्मेवार भएर लगानी गर्नुस् ।’

बीमा समितिको नयाँ भवनको आज ललितपुरमा शिलान्यास गर्दै अर्थमन्त्रीले कम्पनी चिनेर ढुक्कले लगानी गर्न प्रोत्साहित गरे । पछिल्लो समय शेयर बजारमा आएको गिरावटको दोष आफूमाथि लगाएको भन्दै उनले विभिन्न प्रलोभनमा पारेर सीमित व्यक्तिले लाभ उठाएको र शेयर बजार घट्नुको आरोप आफूलाई लगाइएको बताए । उनले भने,’अर्थमन्त्रीले शेयर बजार घटायो भन्छन्, यथार्थ त्यसो होइन । लगानीकर्ताको लगानी सुरक्षा गर्न सरकार प्रतिवद्ध छ । म प्रतिवद्ध छु ।’

सीमित व्यक्तिको चलखेलमा बजार घटाउने अनि मन्त्रीलाई गाली गर्ने विषय आफैमा नमिल्ने उहाँको भनाइ छ । अर्थमन्त्रीले भने, ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो जस्तो भो । घटाउने मान्छे कहाँ–कहाँ हुन्छन् । कसले घटाउछन्, कसले बढाउछन् त्यही संस्थालाई थाहा होला’, मन्त्री शर्माले भने,’लगानीकर्ताको लगानीको रक्षा तथा संरक्षण गर्ने कुरामा अर्थमन्त्रालय गम्भीर छ । त्यसतर्फ ध्यान पनि दिइएको छ ।’

संस्थागत सुधारका लागि मन्त्रालयले काम गर्दै आएको उल्लेख गर्दै उनले त्यसका लागि आफूले बारम्बार प्रतिबद्धता जनाएको र त्यसको नतिजा पनि केही समयमै देखिने बताए । अर्थमन्त्रीले लाभग्राहीलाई अनावश्यक दुःख नहोस् भनेर सम्बन्धित संस्थालाई थप जिम्मेवार बनाउन आफू लागिपरेको र लगानीकर्ताको हित बाहेक सरकारको अरु कुनै चाहनासमेत नभएको उल्लेख गरे ।

बजारमा भित्री कारोबार गर्नेलाई कारबाहीको दायरमा ल्याउन र बजारको विकेन्द्रिकरण गर्ने प्रयास जारी रहेको भन्दै उनले अर्थमन्त्रीलाई दोष दिएर मात्रै समस्याको समाधान नहुने स्पष्ट पारे । ‘अर्थमन्त्रीले बजार बढाउने र घटाउने काम गर्दैन । तपाईलाई भ्रममा पारेर ठग्न सक्छन्, नठगिएरै आफ्नो व्यवसाय गर्नु होला’, अर्थमन्त्रीले भने, ‘मन्त्रालयले गर्ने भनेको संस्थालाई पारदर्शी बनाउने तथा नीतिनियम र कानून बनाउने हो ।’

उनले बीमा क्षेत्रमा देखिएको विकृति रोक्नका लागि समेत मन्त्रालय लागिपरेको बताए । उनले बीमा गर्नु ठूलो कुरा नभएको तर भुक्तानी पाउनु चाँही ठूलो कुरा भएको बताए । बीमा गरेपछि प्रतिबद्धता अनुसार भुक्तानी दिनु महत्वपूर्ण विषय रहेको भन्दै यसमा ध्यान दिन उहाँले बीमा समितिलाई निर्देशन दिए ।

बीमा समितिको कामकारबाहीलाई चुस्त र सेवाग्राही मैत्री बनाउन कर्मचारीको क्षमता अभिवृद्धि गर्नुपर्ने उनको भनाइ छ । उनले भवन निर्माण गरेर मात्र नपुग्ने बताउँदै भवन निर्माणसँगै, ऐन र प्रविधिमैत्री जनशक्तिको पनि विकास तथा विस्तार गर्नुपर्ने उल्लेख गरे ।

सेवाग्राहीलाई गुणस्तरीय सेवा दिन अब सबै संरचना बलियो बनाउनैपर्नेमा उनले जोड दिए । उनले पूर्वाधार, व्यवसाय, जनताका विविध जोखिम, किसानका जोखिमलगायतको राम्ररी पहिचान गरेर बीमा गरिए समस्या नहुने बताए । मन्त्री शर्माले बीमा कम्पनी सहर केन्द्रित र व्यवसाय केन्द्रित मात्र भएको बताउँदै त्यसप्रति असन्तुष्टि व्यक्त गरे । कार्यक्रममा बीमा समितिका अध्यक्ष सूर्य सिलवालले समितिको नयाँ बन्न लागेको भवनका बारेमा जानकारी गराएका थिए ।

प्रतिक्रिया