कांग्रेस महाधिवेशनः वडाध्यक्षमै हारेकादेखि नेताका पीएसम्मले गरे केन्द्रमा दाबेदारी


काठमाडाैं – शुक्रबारदेखि राजधानीमा सुरु हुन लागेको नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन अघि कांग्रेसभित्रको सरगर्मी एकाएक बढेको छ ।

आगामी नेतृत्वका लागि विगत लामो समयदेखि दाबी गरिरहेका नेताहरुले गर्ने कसलाई समर्थन गर्ने भन्नेमा सहमति जुट्न नसकिरहेको यस परिवेशमा वर्तमान सभापति शेरबहादुर देउवा भने पदाधिकारी चयनमा लागि परेका छन् ।

पार्टीको विधानअनुसार नै सभापतिका लागि तयारी गरिरहेको वर्तमान सभापति देउवाले आज (बुधबार) अन्य पदाधिकारीका लागि आफूपक्षीय नेताहरुसँग छलफल गर्ने भएका छन् ।

अर्कातिर सभापतिको दाबेदारी गरिरहेका बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षीय नेताहरुले सहमतिसहितको साझा उम्मेदवारको टुंगो लगाउन सकेको छैन । विगत ३ दिनदेखि सभापतिका चार अकांक्षी रामचन्द्र पौडेल, प्रकाशमान  सिंह, शशांक कोइराला र शेखर कोइरालाहरु एकापसको घरमा छलफल गरिरहेका छन् । जतिपटक बैठक बसे पनि अहिलेसम्म टुंगो लगाउन भने सकेका छैनन् ।

प्रदेश अधिवेशनसम्मको परिणामलाई हेर्दा वर्तमान सभापति देउवा नै बलियो अवस्थामा रहेको प्रारम्भिक तथ्यांकले देखाएको छ । मुलुकका ७ प्रदेशमध्ये ४ प्रदेशमा देउवा पक्षले जित हासिल गरेको छ भने प्रदेश नं. २ मा अहिलेसम्म प्रदेश अधिवेशन हुन सकेको छैन ।

सभापति पक्षबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काको दाबेदारी रहने देखिएको छ भने पौडेल पक्षबाट सभापतिको नै टुंगो लगाउन नसकिरहेको अहिलेसम्मको परिवेशमा अन्य पदाधिकारीको बारेमा लथालिंग नै देखिएको छ ।

नेपाली कांग्रेसका युवा तथा चर्चित नेताहरुले विभिन्न पदमा उम्मेदवारी घोषणा गरिसकेका छन् । पार्टी सभापतिका लागि विमलेन्द्र निधीले कार्यालय नै सञ्चालन गरी उम्मेदवारी घोषणा गरिसकेको अवस्थामा अन्य नेताहरुले पनि दाबेदारी गरिसकेका छन् ।

गत महाधिवेशनमा सिटौला गुटबाट उठेका गगन थापाले महामन्त्रीमा दाबेदारी प्रस्तुत गरेका छन् । कांग्रेस महामन्त्रीका लागि विश्वप्रकाश शर्माले देउवा प्यानलबाटै दाबेदारी गर्ने पनि जनाइएको छ । उनले यसअघि नै महामन्त्रीका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

महाधिवेशन नजिकिएसँगै विभिन्न पदाधिकारीलगायत केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नेको लहरनै चलेको प्रदेश अधिवेशन सम्मको परिणामलाई हेर्दा वर्तमान सभापति देउवा नै बलियो अवस्थामा रहेको प्रारम्भिक तथ्यांकले देखाएको छ ।

महाधिवेशन नजिकिएसँगै विभिन्न पदाधिकारीलगायत केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नेको लहरनै चलेको छ– कांग्रेसमा । वडाध्यक्षमा हारेकादेखि लिएर कांग्रेस पूर्व नेताको सहयोगीका रुपमा बसेकाहरुसम्मले केन्द्रीय सदस्यमा दाबी गरिरहेको अहिलेको परिवेशमा कांग्रेसलाई महाधिवेशन सम्पन्न गर्नु त्यति सहज देखिएको छैन । त्यस्तै निर्माण व्यवसायी, ठेकेदार, पत्रकार, कानुन व्यवसायीसम्मले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

केन्द्रीय सदस्यका लागि उम्मेदवारीको घोषणा गरेका एक उम्मेदवार भन्छन्, ‘ गाउँमा वडाध्यक्ष हारियो भन्दैमा पार्टीमा गरेको योगदानलाई भुल्न भएन, त्यसैले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेको हुँ ।’

कांग्रेस महाधिवेशनमा विभिन्न पदका लागि भन्दै सुजाता कोइराला, गोपालमान श्रेष्ठ, ज्ञानेन्द्रबहादुर कार्की, सुनिल थापा, मिनेन्द्र रिजाल, बालकृष्ण खाँण, एनपी साउद, प्रकाश शरण महतदेखि लिएर प्रदीप पौडेल, मोहन बस्नेतदेखि लिएर अन्य धेरैले पदाधिकारीका लागि उम्मेदवारी घोषणा गरिसकेका छन् ।

सबैभन्दा धेरै आंकाक्षी सभापतिमा ८ जना देखिएका छन् । त्यस्तै महामन्त्री, सहमहामन्त्रीमा पनि धेरैले उम्मेदवारी दिएका छन् ।

महामन्त्री र सहमहामन्त्रीमा उम्मेदवारी घोषणा गर्नेको नामावली नै लामो लिस्ट बनिरहेको कांग्रेसका केन्द्रीय सदस्यका लागि त नाम सुनिएका देखि नामै नसुनिएका सम्मको दाबी देखिएको छ ।

नेपाली कांग्रेसमा २ उपसभापति, २ महामन्त्री, ८ जना सहमहामन्त्री, केन्द्रीय सदस्य खुल्ला ३५, प्रदेशबाट ७ महिलासहित २१ जना, महिला ९ जना, खसआर्यबाट ६ महिलासहित १३ जना, आदिबासी जनजाति ७ महिलासहित १५ जना, मधेसीमा ४ महिलासहित ९ जना, दलितमा ४ महिलासहित ९ जना, थारुमा २ महिलासहित ४ जना, मुस्लिममा १ महिलासहित ३ जना, पिछडिएको क्षेत्रबाट १ जना, अल्पसंख्यकबाट १ जना र अपांगता भएकाबाट १ जना गरी कूल १३४ सिटका लागि निर्वाचन हुनेछ ।

नेपालमा पछिल्लो समयमा ओमिक्रोनका संक्रमित देखिइसकेको छ, त्यसलाई मध्यनजर गर्दै कांग्रेसले महाधिवेशनस्थलमा कोरोनाविरुद्धको खोप, पीसीआर परिक्षण र एन्टीजेन परिक्षणको व्यवस्था गरेको छ । स्थानीयतहदेखि महाधिवेशन प्रतिनिधिका रुपमा विभिन्न चरण पार गरेर महाधिवेशनमा आईसकेका प्रतिनिधिको परिक्षण कत्तिको प्रभावकारी बन्ने भन्ने प्रश्न एकातिर छ ।

सामाजिक दूरी तथा जनस्वास्थ्यको मापदण्ड अपनाउने भन्दै भनिरहेको अहिलेको परिवेशमा स्वास्थ्य मापदण्डको पालना नहुने यसअघिका नेकपा एमाले र राप्रपाको महाधिवेशनले पुष्टी गरिसकेको छ ।

त्यस्तै महाधिवेशनका लागि १५० भन्दा बढीयातायातका साधनहरुको व्यवस्था गरिएको छ भने उपत्यकाका विभिन्न ८६ होटलमा ३ हजार ८ सयजनालाई बस्ने गरी होटलको व्यवस्था गरिएको छ ।

यसअघि नेकपा एमालेको चितवनमा सम्पन्न महाधिवेशनमा नेपाली प्रहरीले एआईजी सहकुल थापाको कमाण्डमा सुरक्षाकर्मी परिचालन गरेको थियो भने कांग्रेस महाधिवेशनमा एआइजी हरि बहादुर पालको कमाण्डमा सुरक्षाकर्मी खटाउने भएको छ । उपत्यकामा सशस्त्र र सादा पोशाक, ट्राफिक र नेपाल प्रहरी गरी ८ हजार भन्दा बढी सुरक्षाकर्मी परिचालन हुने जनाइएको छ ।

प्रतिक्रिया