सुनतस्करीमा संलग्न प्रहरी एयरपोर्टबाट पक्राउ


काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक प्रहरी जवान पक्राउ परेका छन्।

नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोमा कार्यरत प्रहरी जवान राजेन्द्र केसीलाई सुन तस्करीमा सहयोग गरेको आरोपमा शनिबार पक्राउ गरिएको हो ।

विमानस्थल प्रहरीका अनुसार पछिल्लो समय विदेशबाट फर्कदा काँचो सुनलाई भन्सार छल्न गहना आकारको बनाएर ल्याउन थालेपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जाँचमा कडाइ गरेको थियो । कार्यालयले कडाई गरेपछि दैनिक जसो काँचो सुन बरामद भइरहेको थियो ।

तर, विमानस्थलमा गरिएको कडाइमा सुन पास गराउन प्रहरी जवान केसीले मुख्य भूमिका खेलेको प्रहरी स्रोतको भनाइ छ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका अनुसार जवान केसीले विदेशबाट आएका यात्रुको सुन समेत आफैले बोकेर पास गराउने गरेको सीसी टीभी फुटेजमा देखिएको छ ।

यस कार्यमा संलग्न सुन ल्याउने यात्रु र जवान केसी दुवैलाई महानगरीय प्रहरी वृत्त गौशालामा राखेर थप अनुसन्धान भइरहेको विमानस्थल प्रहरीले जनाएको छ।

प्रतिक्रिया