
केपी ओलीको दाबीः एमाले सरकारमा आउन अब एक वर्ष पनि पर्खनुपर्दैन
काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एमाले सरकारमा आउन एक वर्ष पनि पर्खनु नपर्ने दाबी गरेका छन्। ओलीले ढिलोमा पनि एक वर्षभित्र मुलुकमा निर्वाचन हुने र त्यसपछि आफ्नो पार्टीले सरकार बनाउने दाबी गरे।
काठमाडौंमा शनिबार आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले एमाले नेतृत्वको सरकार बनेपछि मुलुकमा पुनर्निर्माण र नवर्निर्माणको काम तीव्रताका साथ अघि बढाउने आश्वासनसमेत दिए।
अध्यक्ष ओलीले सम्पदाहरूको पुनर्निर्माण, राजमार्गलगायतका पूर्वाधारको निर्माण कार्य देख्न नसक्नेहरूले आफूलाई सरकारबाट हटाएको जिकिर गरे।
आफूले सरकारमा रहेर केही काम गर्न नटबोल्ट जोड्ने काम गरे पनि अरु कसैले फुस्काएदिएको आरोप लगाए। तर, अब त्यस्तो नहुने गरी नेपाली जनताले आफ्नो पार्टीलाई मत दिनुपर्ने ओलीको भनाइ थियो।
उनले भने, ‘चुनाव हुन अब बेस्सरी ढिला भयो भने एक वर्ष हो। एक वर्षमा चुनाव हुनैपर्छ। चुनाव भएपछि मैले भनिरहनु पर्लाजस्तो लाग्दैन–अब कसको सरकार बन्छ देशमा? त्यसो भएर एक वर्ष पर्खनुपर्ने हो।’



कागजपत्र |
