अवैध रक्तचन्दनको तेल कारोबारमा संलग्न ‘मुख्य योजनाकार’ फरार

'भरिया'का रूपमा रहेकालाई छुटाउन राजनीतिक दबाब


काठमाडौं – काठमाडौं महानगरपालिका -८ तिलगंगा स्थित आँखा अस्पताल पछाडिबाट रक्तचन्दनको तेल अबैध ढंगले कारोबार गरिरहेका बेला पक्राउ परेका १० जनामध्ये अधिकांश ‘भरिया’ रहेको प्रहरीले जनाएको छ । प्रहरीको अनुसन्धानको क्रममा ती युवाहरु अधिकांश भरियाको रुपमा प्रयोग गर्दै आएको खुलेको हो । एकैपटक पक्राउ परेका भए पनि उनीहरूले एकले अर्कोलाई नचिनेको पाइएको छ ।

अनुसन्धानको क्रममा पक्राउ परेका अधिकांश व्यक्तिले केही मुख्य योजनाकारहरुको नाम लिएका छन् । राजनीतिक दलका भातृ संगठनको जिम्मेवार युवा नेताहरू रहेको र उनीहरूको फोन समेत अफ रहेको प्रहरीले जनाएको छ ।

अनुसन्धानकै क्रममा रहेकोले मुख्य योजनाकारहरुको नाम गोप्य राखिएको छ । स्रोतका अनुसार मुख्य योजनाकारले रक्तचन्दन, सुन, यार्चागुम्बु लगायत गैरकानुनी बस्तुहरु तस्कर गर्दै आइरहेको बताएको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई छुटाउन विभिन्न दलका नेता कार्यकर्ता, प्रहरीको हाकिमहरुको समेत दबाब आइरहेको नाम नबताउने सर्तमा एक प्रहरीले बताए ।

अपराध महाशाखाबाट खटिएको टोलीले प्रतिलिटर ५ लाखको दरले ३३ लिटर कारोबार गर्दै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ पर्नेहरुमा सिन्धुली हरिहरपुर गा.पा.-४ घर भई बाँनियाटार बस्ने वर्ष ५० को हेम कुमार श्रेष्ठ, मकवानपुर गढी गा.पा-१ घर भई हाल ललितपुर सानुगाँउ बस्ने वर्ष ३९ को नवीन भन्ने मंगल सिहं लो, काठमाण्डौ टोखा न.पा-४ घर भई बस्ने बर्ष ३७ को ईक्रम श्रेष्ठ, काभ्रे बनेपा न.पा-४ घर भई हाल जि. भक्तपुर दुवाकोट बस्ने बर्ष ३१ को कार्साङ्ग लामा रहेका छन् ।

त्यस्तै गरि खोटाङ हलेसी न.पा-६ घर भई हाल जि.काठमाण्डौ महाराजगंज बस्ने बर्ष २३ को घनश्याम आले मगर, काठमाण्डौ का.म.न.पा-८ तिलगंगा घर भई बस्ने बर्ष ५१ को मदन पोडे, खोटाङ हलेसी न.पा-९ घर भई हाल जि.काठमाण्डौ चावहिल बस्ने बर्ष २० को जीवन थापा, तनँहु भानू न.पा-६ घर भई हाल काठमाण्डौ सामाखुसी बस्ने बर्ष २५ को सुदिप थडराई, काठमाण्डौ का.म.न.पा-१३ छाउनी घर भई बस्ने बर्ष ५३ को अनिल चरण श्रेष्ठ र काठमाण्डौ का.म.न.पा-१३ छाउनी घर भई बस्ने बर्ष ५१ को अनुप कुमार श्रेष्ठ रहेका छन् ।

उनीहरुलाई आवश्यक कारवाहीको लागि बन डिभिजन कार्यालय, हात्तीसार पठाईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया