
ओलीले बोलाउँदा पनि भेट्न गएनन् घनश्याम भुसाल
काठमाडौं – नेकपा (एमाले)का तेस्रो धार अर्थात १० बुँदे सहमति पक्षका ‘१० भाइ’ समूहका उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पार्टी अध्यक्षलाई भेट्दा उपमहासचिव घनश्याम भुसालले ओलीसँग भेट्न अस्वीकार गरेका छन्।
आइतबार अध्यक्ष केपी शर्मा ओलीले विष्णु पौडेलमार्फत् आफू बसिरहेको होटल पार्क सफारी रिसोर्टमा भुसाललाई बोलाएका थिए। ‘ओली आफैंले बोलाउनुभएको होइन। विष्णु पौडेलमार्फत् हो,’ भुसालनिकट एक नेताले भने।
विधि विधानअनुसार अघि बढ्न तयार रहेको भन्दै भुसालले ओलीसँग भेट्न जरुरी नभएको जवाफ फर्काएका स्रोतले बतायो। भुसालले १० औं महाधिवेशनमा उपाध्यक्षमा आफ्नो दाबेदारी प्रस्तुत गरेका छन्।
भुसालले आफ्नो दाबेदारी उपाध्यक्षमा रहेको र त्यसबाट पछि हट्ने सोच नरहेको स्मरण गराएका थिए।
यता ओलीसँगको भेटमा शाक्य र ज्ञवालीले अध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका भीम रावलसमेतलाई मिलाएर सहमतिमै नेतृत्व चयन गर्न ओलीलाई आग्रह गरेका छन्।
सो क्रममा उनीहरूले रावलसँग वार्ता गर्न पनि ओलीलाई सुझाएका छन्। जवाफमा ओलीले आफू सबैलाई मिलाएर लैजान तयार रहेको बताउनुका साथै रावलसँग वार्ता गर्ने आश्वासन पनि दिएका थिए।
शनिबारको बन्दसत्रले पदाधिकारीदेखि केन्द्रीय कमिटी सदस्यसम्म चयन गर्ने अधिकार ओलीलाई दिएपछि भुसाल तथा उपाध्यक्ष रावलले असहमति व्यक्त गरेका छन्। रावलले अध्यक्षमा उम्मेद्वारी घोषणा गरिसकेका छन्।



कागजपत्र |
