कार्यकर्तालाई ओलीले भने, ‘म कति बाँच्छु थाहा छैन, तर मीठो निन्द्रा र खाना रुच्छ’


काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० औं महाधिवेशन अन्तरगत जारी बन्द सत्रमा कार्यकर्ताको साथका कारण आफूलाई आफ्नो ज्यानभन्दा पनि मीठो निन्द्रा र खान रुच्ने बताएका छन्।

आफ्नो पार्टीका कार्यकर्ताको हातमा लोकतन्त्रको भविष्य सुरक्षित रहेको उल्लेख गर्दै ओलीले आफूलाई मीठो निन्द्रा र खान रुच्ने बताएका हुन्।

‘म कति बाँच्छु थाहा छैन। धेरैपटक अप्रेसनबाट गुज्रेर आएको हुँ। मानिसको जिन्दगी यसै पनि टुंगो हुँदैन। त्यसमाथि मेरो जिन्दगी त धेरैपटक मरेर बाँचेर आएको जिन्दगी कति खेर के हुन्छ त्यत्ति साह्रो भर नहुन सक्छ,’ उनले भने।

‘तर, मलाई आज ढुक्क लागेको छ, सन्तोक लागेको छ, आरामले निद्रा लाग्छ, मीठो निद्रा लाग्छ, खान रुच्छ किनकि म तपाईहरुलाई अगाडि देख्छु। जब म तपाईहरुलाई अगाडि देख्छु देशको भविष्य देख्छु, पार्टी, लोकतन्त्र, समृद्धिको यात्रा अगाडि बढ्ने यकिन देख्छु।’

ओलीले यस्तो पार्टीको अध्यक्ष हुन पाउँदा गौरवान्वित महशुस भएको पनि बताएका छन्। उनले भने, ‘यसकारण यस्तो पार्टीको अध्यक्ष हुन पाएको गौरवान्वित महशुस गर्छु। तपाईहरुले साथ नदिएको भए बेहाल हुन्थ्यो। तपाईहरुकै साथले यो सब भएको हो। खुसी लाग्छ।’

एमाले गठबन्धन बनाएर जानेहरुसँग चुनावमा लड्न सक्ने र लड्ने क्षमता बनाउने पनि उनले बताए। ओलीले अब एमाले साँचो प्रतिनिधित्व गर्ने शक्ति हुनुपर्ने र एक्लै बहुमत ल्याउन सक्नुपर्ने बताए।

प्रतिक्रिया