
‘ए’ डिभिजन लिग : च्यासलको पहिलो जित, मनाङ मर्स्याङ्दी शीर्ष स्थानमा
काठमाडाैं – शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लबले एपीएफ क्लबलाई १-० गोलले हराएको छ ।च्यासलको जितमा खेलको ४९ औँ मिनेटमा रुमेश बर्तौलाले गरेको गोल नै निर्णायक बन्यो ।
च्यासलको यो पहिलो जित हो । च्यासल पहिलो खेलमा थ्री स्टारसँग पराजित भएको थियो । विभागीय टोली एपीएफको यो लगातार दोस्रो हार हो । पहिलो खेलमा एपीएफ ब्रिगेड ब्वाइजसँग ३-२ गोलले पराजित भएको थियो । जितसँगै च्यासलको तीन अंक भएको छ ।
आजै भएकाे अर्काे खेलमा मनाङ मर्स्याङ्दी क्लबले लगातार दोस्रो जित निकालेको छ । हिमालयन शेर्पा क्लबलाई मनाङ मर्स्याङ्दीले १-० गोलले हराएको हो ।
दशरथ रंगशालामा भएको खेलमा मनाङका आफिज ओलावालेले खेलको ८४ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो। यो जितसँगै मनाङ तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा मनाङले जावलाखेल युथ क्लबलाई हराएको थियो । उसको दुई खेलमा ६ अंक छ ।



कागजपत्र |
