


रेष्टुरेन्टमा तयार हुन्छ प्रहरीको सरुवा–बढुवा सूची!
प्रहरी सरुवा–बढुवामा आरजु र मन्जुको हस्तक्षेप किन?

काठमाडौं – नेपाल प्रहरीको सरुवा–बढुवाको सूची प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजु राणाको निर्देशनमा स्वकीय सचिव प्रकाश देउवाले बनाउने गरेको पाइएको छ।
त्यही सूची बालुवाटारबाट गृहमन्त्रालय र प्रहरी प्रधान कार्यालय पुग्ने गरेको छ। तिनै सूचीअनुसार सरुवा–बढुवा समेत भएको छ। प्रधानमन्त्रीपत्नी आरजुको आशिवार्दले विवादित प्रहरीहरुले अवसर पाएका छन्।
प्रहरी सरुवा–बढुवाको सूची बालुवाटारको ओपेरा रेष्टुरेन्टमा तयार हुन्छ। सो रेष्टुरेन्टका सञ्चालक समेत रहेका प्रकाश देउवा र अर्का सञ्चालक हेमन्त धामीको डिजाइनमा प्रहरी सरुवा–बढुवाको सूची तयार हुने गरेको छ।
सो समूहको चलखेलले यतीबेला गृहमन्त्री भन्दा सरुवा–बढुवामा बालुवाटार हाबी भइरहेको प्रष्ट छ। प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्री कमजोर हुँदा प्रहरीको सरुवा–बढुवा बिचौलियाको हातमा पुगेको हो।
त्यतिमात्र होइन प्रधानमन्त्री निकट गिरोहले बालुवाटारमा प्रहरीको सरुवा–बढुवाको सूची बनाउँछ भने गृहमन्त्रीनिकट गिरोहले गैरीधाराको एक रेष्टुराँमा बसेर सरुवा–बढुवाको सूची बनाउने गरेको छ।
तर, बालुवाटारको पूरै हस्तक्षेप हुँदा गृहमन्त्री निटक रहेका गिरोहरुको केही लाग्दैन्। बालुवाटारको हस्तक्षेपले गृहमन्त्री बालकृष्ण खाँण समेत रुष्ट बनेका छन्।
आफुले गरेको काठमाडौंको प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहको सरुवा बालुवाटारले रोकेको घटनाले पनि बालुवाटार र गृहबीच विवाद बढेको छ। आरजुले प्रहरी चलाएको भन्दै गृहमन्त्री खाण असन्तुष्ट बनेका हुन्।
सिंहको ठाउँमा एसएसपी सुदीप गिरीको काज सरुवा भएको थियो। गिरीलाई काठमाडौं प्रहरी प्रमुख बनाउन गृहमन्त्रीपत्नी मन्जु खाँणको हात रहेको छ। मन्जुको आशिर्वादले गिरी काठमाडौं आएका हुन्।
मन्जुले त गिरी प्रहरी उपरीक्षक (एसपी) बाट एसएसपीमा बढुवा हुँदा सामाजिक सञ्जाल फेसुबकमार्फत बधाई नै दिएकी छन्। ‘भाई एसएसपी बढुवा भएकोमा हार्दिक बधाई छ सफलताको शुभकामना। हिजो जस्तो लाग्छ सँगै खेलेको ठूलो भइएछ, जिम्मेवारी बढ्दैछ,’ मन्जुले फेसबुकमा लेखेकी छन्।
यसरी आफू निकट तथा चिनजानका प्रहरी अधिकृतहरुलाई आरजु र मन्जुले काखी च्यापेका छन्। विगतलाई नहेरी विवादित व्यक्तिलाई उनीहरुले इन्चार्ज पठाउने गरेका छन्।
आरजु र मन्जुको सेटिङले गर्दा नेपाल प्रहरी निरिह जस्तै बनेको छ। ‘पत्नी आतंकले पछिल्लो समय नेपाल प्रहरीको भविष्य नै अन्यौलमा परेको छ। पहिला यस्तो हुँदैनथ्यो। अहिले त जताततैबाट पत्नीको हस्तक्षेप,’ एक प्रहरी अधिकृतले भने।
बालुवाटारको ओपेरा रेस्टुरेन्ट यतिबेला प्रहरीका उच्च अधिकारीको अखडा बनेको छ। त्यहाँबाट हुने सरुवामा ठूलो आर्थिक चलखेल भइरहेको सूचना गृह मन्त्रालयले पाएपनि केही गर्न सकिरहेको छैन्।
नेपाल प्रहरीको लेखापालको सरुवा समेत ओपेरामा कुरा नमिल्दा हुन नसकेको स्रोतले बतायो। अवधि नै नपुगी चलखेलका आधारमा काज सरुवा पनि यस्तै गिरोहको चलखेलका आधारमा भइरहेका छन्।
पछिल्लो समय विभिन्न समूहको सेटिङले गर्दा नेपाल प्रहरीमा बेथिति बढेको छ। आईजी क्षेत्रीले यस्ता अनावश्यक दबाबलाई रोक्न अडान लिन नसकेपछि भविष्य देखेका अधिकृतहरु निराश हुन थालेका छन्।

