
जनताको सेवा गर्दागर्दै अस्ताएका नेपाल प्रहरीका ‘चार सपुत’!
कोरोनाभाइरस (कोभिड–१९) संक्रमण नियन्त्रणको लागि चालिएको लकडाउनमा आफ्नो ज्यानको बाजी लगाएर दिनरात नेपाल र नेपालीलाई यो महामारीबाट बचाउन चर्को घाम, भोक, भोको पेट र मीठो निन्द्रा र पानीको तिर्खा समेत नभनी खटिने नेपाल प्रहरीको भूमिकाको जति नै तारिफ गरेपनि सकिन्न।
सधै देश र जनताको सेवामा समर्पित नेपाल प्रहरी जसलाई न त कुनै चाडपर्वले छुन्छ, न त पारिवारिक समय नै हुन्छ। प्रहरी सेवामा रहेर काम गरेर अवकाश पाएको समेत उनीहरुलाई पत्तो हुँदैन।
देश र जनताको सेवामै चासो राख्दाराख्दै उनीहरु कुनबेला बिरामी पर्छन् त्यो समेत पत्तो हुँदैन्? भोक, प्यास बिना सधै जनताको सेवामा समर्पित रहेका ‘सपुत’हरु कुन बेला घाम अस्ताएझैं अस्ताउँछन् थाहै हुन्न।
अनि मात्र तपाई–हामी भन्छौ– ‘जनता र देशको लागि सेवा गर्दागर्दै अस्ताएछ।’ यसरी आफ्नो परिवार, आफन्तलाई बिर्सेर सधै जनता र देशको सेवाको लागि भनेपछि मरिमेट्ने सपुतहरु नेपालमा थुप्रै छन्।
यसरी नै एक वर्षको बीचमा थुप्रै प्रहरी अधिकृतदेखि प्रहरी जवानहरुले देशको लागि बलिदान दिएका छन्। पछिल्लो ६ महिनाको बीचमा प्रहरी संगठनले ४ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई गुमाएको छ। यी चार सपुतहरु डुब्न लागेको घामझैं सधैको लागि यो धर्तीबाट अस्ताएका छन्।
कोरोना भाइरस (कोभिड–१९) को संक्रमणकालमा नेपाल प्रहरीका दुईजना प्रहरी डिएसपीले देशको लागि आहुति दिए। त्यो पनि ४ दिनको अन्तरालमा नेपाल प्रहरीले आफ्नो दुईजना होनहार अधिकृतलाई गुमाएको हो।
यसरी आफ्नो संगठनको होनहार अधिकृतहरु अस्ताइरहँदा के कारणले उनीहरुले निधन भयो भनेर प्रहरी संगठन प्रमुखले चासो राख्नुपर्ने हुन्छ। प्रहरी दिवसमा ‘सम्मान’ गर्दैमा मात्र उनीहरुका परिवारले न्याय पाउँदैनन्। यस्तो विषम परिस्थितिमा संगठन प्रमुखको महत्वपूर्ण योगदान रहन सक्छ।
६ जेठमा डिएसपी राजकुमार केसीको निधन भयो। राष्ट्र र जनताको सेवामा अग्रपंक्तिमा खटिने क्रममा कोरोना संक्रमित भएर नेपाल प्रहरी अस्पतालमा उपचारको क्रममा डिएसपी केसीको निधन भएको हो।

कोरोना संक्रमण भएपछि डिएसपी केसीलाई २ हप्ता अगाडि नै अस्पतालमा भर्ना गरिएको थियो । केसी महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत थिए। उनको स्थायी घर कागेश्वरी मनोहरा नगरपालिका मूलपानी हो।
उनी प्रहरी संगठनभित्र इमान्दार, दक्ष र कर्तव्यनिष्ठ प्रहरी अधिकारीको रुपमा चिनिन्थे। परिसर सरुवा हुनुअघि २१ वैशाख २०७७ सम्म डिएसपी केसी जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत थिए।
उनको निधनले अधिकांश प्रहरी दुःखी भएका थिए। किनकी उनी अरु भन्दा फरक स्वभावका प्रहरी थिए, उनी सबैका प्रिय थिए। सधैं नम्र र मिलनसार उनको पहिचान थियो। जहाँ पुग्थे त्यहि मिलासिलोपनका कारण छुट्टै पहिचान बनाएका थिए।
परिसरमा विगत एक वर्षदेखि उनले प्रवक्ताको जिम्मेवारीमा रहेर काम गरे। एक वर्षको अवधिमा उनले धेरै पीडितलाई न्याय दिए। लकडाउन समयमा धेरैको ज्यान जोगाए। जनताको सेवा गर्दा गर्दै उनी आफु भने ढले, सयौं प्रहरीलाई स्तब्ध बनाएर।
००००
डिएसपी केसीको निधन भएको चार दिनपछि अर्का होनहार प्रहरी अधिकृत डिएसपी समिरचन्द्र पोखरेल पनि सधैको लागि अस्ताए। खरेलको पनि कोरोना संक्रमणबाट निधन भएको हो।

कोरोना भाइरसको संक्रमण भएपछि नेपाल प्रहरी अस्पताल महाराजगञ्जमै उपचारको क्रममा खरेलको निधन भएको हो। वि.सं. २०५१ सालमा प्रहरी सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका खरेलको स्वास्थ्य अवस्था निकै गम्भीर भएपछि भेन्टिलेटरमा राखेर उपचार गरिँदै आएको थियो।
२०५८ सालमा प्रहरी निरीक्षक (इन्स्पेक्टर) भएका नेपाल प्रहरीका एक कुशल अधिकृत मानिन्थे खरेल। प्रहरी उपरीक्षक (एसपी) बढुवाको रोलक्रममा रहेका खरेल पछिल्लो समय राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए।
कोभिड हुनु अघिल्लो दिनसम्म उनी जनताको ज्यान जोगाउन फिल्डमै खटिएका थिए। जनतालाई जोगाउने क्रममा उनी पनि आफैं ढले। भौतिक रुपमा बिदा भएपनि उनी प्रहरी र सेवाग्राहीमाझ सधैं सम्झनामा रहनेछन्।
००००
केसीको निधन भएको एक महिनापछि रमेश कुमार देवको निधन भयो। पेटको क्यान्सरबाट ग्रसित रहेका डिएसपी देवको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरमा कार्यरत रहँदा निधन भएको हो।

२०६४ मा इन्स्पेक्टरबाट प्रहरी सेवामा प्रवेश गरेका देव सप्तरीका स्थानीय हुन्। डिएसपी देवको विराटनगरस्थित विराट मेडिकल कलेजमा मृत्यु भएको थियो। प्रहरी संगठनमा इमान्दार छवी बनाएका देव पनि सबैसँग सहज रुपमा घुलमिल हुनसक्थे।
०००००
डिएसपीद्वय केसी र खरेलको निधन भएको ६ महिनापछि आज अर्थात शुक्रबार बिहान एक होनहार डिएसपीको निधन भयो। निमोनियाबाट ग्रस्त डिएसपी लोकनाथ तिमल्सिनाको पनि उपचारको क्रममा प्रहरी अस्पतालमा निधन भएको हो।
इलाका प्रहरी कार्यालय कञ्चनपुर, सप्तरीमा कार्यरत ४३ वर्षीय डिएसपी तिमल्सिनालाई केही दिनअघि मात्रै हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको थियो। अस्पताल स्रोतका अनुसार निमोनियाबाट ग्रसित तिमल्सिनाको शुक्रबार बिहान ५ बजे उपचारको क्रममा निधन भएको हो।

क्षमता, नैतिकता र साहस भएका अधिकृतको रुपमा चिनिएका डिएसपी तिमल्सिनामा कमाण्ड, परिचालन र अब्बल प्रहरी अधिकृतमा हुनुपर्ने सबै गुण थियो। त्यसैले तिमल्सिना पनि हरेक प्रहरीको स्मरणमा सधैँ रही रहनेछन्।
देश र जनताको सेवामा दिनरात घामपानी नभनी भोकभोकै अहोरात्र डुयुटीमा खटिने नेपाल प्रहरी जनताको हरेक सुखदुखमा सँगै देखिन्छ। त्यहि भएर नेपाल प्रहरी जहाँ आवश्यकता पर्छ, त्यहिँ सदैव पाइन्छ।
यसरी देश र जनताको सेवामा खटिने प्रहरी कर्मचारी मात्र नभएर नेपाल आर्मी र सशस्त्र प्रहरी बलले पनि थुप्रै आफ्ना सहयात्रीहरु गुमाइरहेको छ।



कागजपत्र |
