नेपालमा कोरोना: उपत्यका अझै पनि जोखिममा, मुगु र हुम्लामा शून्य


काठमाडौं – विश्वसँगै पछिल्लो समयमा नेपालमा पनि कोरोना संक्रमितको संख्या घट्दो क्रममा देखिए पनि उपत्यकामा भने कोरोना संक्रमणको जोखिम कायमै छ ।

नेपालमा अहिलेको अवस्थामा सक्रिय संक्रमितको संख्या ७ हजार ६ सय ५४ मात्रै रहेका छन् । अहिलेको अवस्थामा उपत्यकाको तीन जिल्ला बाहेक अन्य कुनै पनि जिल्लामा ५ सय भन्दा बढी सक्रिय संक्रमित नरहेको तथ्यांक पनि मन्त्रालयले सार्वजनिक गरेको छ ।

मन्त्रालयका अनुसार काठमाडौंमा ५६३, ललितपुरमा ५०३ र भक्तपुरमा ५०२ संक्रमित रहेका छन् । यस आधारमा हेर्दा उपत्यकाबाहिर विस्तारै संक्रमितको संख्या घट्दै गइरहेको भन्न सकिने अवस्था नरहेको भन्न सकिन्छ । नेपालमा अहिलेको अवस्थामा कोरोनाको हटस्पटका रूपमा उपत्यकालाइ लिन सकिन्छ । ७ हजार सक्रिय संक्रमित रहेको देशभरमा १५ सय भन्दा बढी उपत्यकामै रहनु उपत्यका कोरोनाको जोखिम क्षेत्रबाट नहटिसकेको पनि मान्न सकिन्छ ।

नेपालमा २ सय भन्दा बढी ५ सयभन्दा कम सक्रिय संक्रमित रहेका जम्मा ७ जिल्ला मात्रै रहेका छन् । मन्त्रालयका अनुसार मोरङ, सुनसरी, झापा, कास्की, नवलपरासी पूर्व, रुपन्देही, बाँके र कैलालीमा २ सयभन्दा बढी सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै नेपालका २ जिल्लामा अहिलेको अवस्थामा कोरोना संक्रमितहरु नभएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कर्णाली प्रदेशको मुगु र हुम्ला कोरोना संक्रमितको संख्या नरहेको देखिएको छ ।

नेपालमा हालसम्म कोरोनाका कारण ११ हजार ४ सय ५३ जनाले ज्यान गुमाइसकेको पनि मन्त्रालयले जनाएको छ । अघिल्लो वर्षजस्तै विस्तारै दशैंतिहारपछि कोरोना संक्रमण दर बढ्ने हो कि भनेर सचेत रहनुपर्ने देखिएको छ ।

हुन त, नेपालमा अहिलेसम्म ७४ लाख ३६ हजार ७ सय १४ जनाले कोरोनाविरुद्धको खोप पूर्णमात्रामा लगाएको पनि मन्त्रालयले जनाएको अवस्थामा संक्रमण दर बढ्न रोकिने अनुमान पनि गरिन सकिन्छ ।

नेपालमा अहिलेको अवस्थामा होम आईसोलेसनमा ७ हजार ९४ जना रहेका छन् भने १८७ जना आईसीयूमा उपचाररत छन् भने ४३ जना भेन्टिलेटरमै रहेको पनि मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा हालसम्म ४४ लाख ५४ हजार २२० जनाको पीसीआर परिक्षण गरिएको छ । ती मध्ये ८ लाख १४ हजार ९ सय २९ जना कोरोना संक्रमित पुष्टी भएको छ । त्यस्तै एन्टीजेन विधिबाट ६ लाख ८२ हजार ५७ जनाको परिक्षण गरिएकोमा ९४ हजार ८ सय ३६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार नेपालमा पछिल्ला दिनमा संक्रमितको संख्या भन्दा निको हुनेको संख्या दैनिक रुपमा बढ्दो क्रममा देखिएको छ । जसका आधारमा नेपालमा कोरोना महामारीको संक्रमण विस्तारै कमी आएको हो कि भन्ने आंकलन गर्न सकिन्छ ।

विश्वभर २५ करोडभन्दा बढीलाई संक्रमित र ५० लाख भन्दा बढीको ज्यान लिइसकेको कोरोना संक्रमण कोभिड–१९ पछिल्लो समयमा केही घट्दो क्रममा देखिएको छ ।

नेपाललगायत विश्वका अधिकांश मुलुकमा महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण विश्व अर्थतन्त्रका साथै विश्व मानवजगत नै आक्रान्त बनिरहेको छ । पछिल्लो तथ्यांकअनुसार हालसम्म २५ करोड १० लाख ८३ हजार बढी संक्रमित पुगिसकेका छन् भने ५० लाख ७१ हजार बढीले ज्यान गुमाइसकेका छन् ।

प्रतिक्रिया