

बिहे गर्न लागेको पुष्टि गर्दै श्वेता खड्का भन्छिन्–आँसुमात्र देखिनुपर्छ भन्नेको मन पोल्नेछ

काठमाडौं– अभिनेत्री श्वेता खड्काले आफू विहे गर्न लागेको पुष्टि गरेकी छन्। उनको बिहे २२ मंसिरमा गोकर्ण रिसोर्टमा धनगडीका युवक विजयेन्द्र रावतसँग गर्न लागेकी हुन्।
उनले बिहेबारे जानकारी दिँदै सामाजिक सञ्जालमार्फत आफ्ना विचार यसरी राखेकी छन्–
जीवनका बिभिन्न आरोह–अवरोह, उकाली–ओराली, सुख दुःख अनि हाँसो रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जीन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जीन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पीर, ब्यथा, दुःख अनि कष्टहरुसँग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । अचानोको पिँडा खुकुरीलाई थाहा हुन्न भनेझैं समयको दुश्चक्रले ममाथि प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पिडाहरु केवल मलाई मात्र थाहा छ ।
म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जीन्दगीको लामो बाटो जस्मा तिखा काँडा, ठूलाठूला पत्थर अनि आगोको ज्वालाहरु छरपस्ट भएर छरिएका छन् । मैले मेरो जीवनको बाटोमाथि छरपस्ट ति काँडाहरुलाई पन्छाउनु पर्नेछ, पत्थरहरुलाई फुटाउनु पर्नेछ अनि आगोको ज्वालाहरुलाई नाघ्नु पर्नेछ ।
‘के म यसो गर्न सकुँला र ?’ आँफैसँग प्रश्न गर्थें । आफ्नै प्रश्नमा आँफैले उत्तर दिन्थें ‘कि हुती हारेर मर्नु पर्छ कि त हिम्मतका साथ अघी बढ्नुपर्छ ।’ अतः मैले मृत्युलाई रोजिनँ, जीवनलाई नै रोजें । जीन्दगीका हरेक समस्याहरुसँग जुध्दै क्रमशः अगाडि बढ्दै गएँ ।
‘एक्लै जीवन काट्न सकिन्छ’ भन्ने कठोर निर्णय लिएर विगत ६ बर्षदेखि एक्लै हिँडीरहेकी थिएँ म । मेरो यो एकल यात्राका बखतमा धेरै पटक लडेकी छु ।
‘अब उठ्नै सक्दिन कि’ भन्ने कम्जोर भावले थिचेको त्यो बेलामा आफ्नो हात समातेर उठाइदिने कुनै साहराको आशा हुँदो रहेछ । महिनै पिच्छे करिव हप्ता दिनको लागि बिरामीको अवस्थामा पुग्ने मेरो शरीरले एक गिलास पानीसँगै औषधीको ट्याब्लेट मुखमा हालिदिने एउटा सहयोगको चाह हुँदो रहेछ ।
मनभित्र गाँठो परेर बसेका अब्यक्त बहहरुलाई बोकेर हिँड्नु भनेको हजार टनको पत्थरलाई टाउकोमाथि बोकेर हिंड्नु भन्दा पनि कठिन रहेछ। तर मैले मेरा बहहरु ब्यक्त गर्ने कोसँग ? मैले साथीसँगतीहरुको भिडमा आँखा डुलाएर हेरें तर मेरो पिंडालाई महसुष गर्न सक्ने कोही देखिनँ ।
आफन्तहरुको घेरामा खोजेँ तर माइतीमा शरण लिएर बसेको म एकल नारीले आफ्नो पिंडा पोखेर माइतीलाई थप तनाव दिनु हुन्न भन्ने मनन् गरें । अतः मेरो हरेक दुःखमा म एक्लै रोएँ, पीडाहरुमा आँफै सम्हालिएँ अनी अनेकन समस्याहरुसँग एक्लै जुधिरहें ।
मेरो एकल जीवनलाई नियालिरहेका मेरा धेरै हितैषीहरुले एउटा जीवन साथी खोज्नको लागि नसुझाएका पनि होइनन् तर एक पटक पुछिएको सिउँदोमाथि पुनः सिन्दुर भर्न आँट गर्ने कुनै निस्वार्थी हातहरु पाईन्छ र ?
फुटेको चुरासँगै चक्नाचुर भएको मेरो विगतलाई जोडेर एउटा सुन्दर आकार दिने स्वच्छ मनको धनी कोही भेटिन्छ र ? अनी विगतमा मैले गुमाएको मेरो चोखो मायालाई पुनः फर्काएर मेरो जीवनमा खुशीको रङ्ग भरिदिने कुनै दयालु मन पाईएला र ?
लौ,भनेको जस्तो निस्वार्थी, स्वच्छ र निष्कपटी ब्यक्ती पनि पाइयो रे, अनी के यो पुरुष प्रधान समाजले मेरो दोश्रो जीवनलाई स्विकार गर्ला र ? म मेरा हितैषीहरुलाई प्रश्न गर्थें ।
आज, मैले मेरो एकल जीवनमा एउटा सहयात्री पाएकी छु । विगतको पिँडालाई भुलाउने एउटा बहाना पाएकी छु । मेरो अतितलाई शहर्ष स्विकार गरी मसँगै सुख र दुःख बाँड्न तयार एउटा साथी पाएकी छु । म, जीवनको दुःखद अध्यायलाई बन्द गरेर खुशीको अध्याय सुरु गर्ने निर्णयमा पुगेको छु ।
त्यसो भन्दैमा मैले मेरो अतिलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन । अतितका मिठा पलहरुलाई मनको कुनामा पोको पारी भविष्यलाई सजाउने नविन यात्राको थालनी गर्ने यो निर्णय लिनु म एक्लैको लागि सहज र सम्भव छँदै थिएन । तर मेरा परिवारका सदस्यहरुको निरन्तर प्रयास अनी साथीसँगतीहरु, अग्रज र दिग्गज ब्यक्तित्वहरु लगायत मेरा शुभचिन्तकहरुले प्रदान गर्नु भएको हौशला, शाहस र प्रोत्साहनले आज म यो निर्णय लिनमा सफल भएकी छु ।
यती हुँदाहुँदै पनि मनमा एउटा प्रश्न भने अवस्य छ के यो पुरुष प्रधान समाजले मेरो यो निर्णयलाई स्विकार गर्ला र ?
मलाई थाहाछ ‘श्वेताको आँखामा आँशु मात्रै देखिनु पर्छ’ भन्ने सोच बोकेका दुईचारजना ब्यक्तिहरुलाई मेरो यो निर्णयले पोल्नेछ । श्रीमती स्वर्गीय भएको १ महिना नबित्दै नयाँ दुलही भित्राउन हतारिने तर घरकी बिधुवी बहिनीले पुरै जीवन एक्लै काट्नु पर्छ भन्ने सोचले ग्रस्त केही ब्यक्तिलाई मेरो यो निर्णयले चसक्क घोच्नेछ । तर म प्रति साहनुभुती राख्ने, मलाई सदैव खुशी देख्न चाहने अनी संधै मेरो सफलताको कामना गर्ने लाखौं शुभचिन्तकहरुको आशिर्वाद, सदभाव र सुवेक्षाले म प्रती रिस र इश्र्याको सोच राख्ने दुईचार जनाले स्वतः हार खानेछन् ।
अतः कोरोनाको सन्त्रासकाबीच जुरेको खुशीको माहौलमा मैले मेरा धेरै मित्रहरु, गन्यमान्य ब्यक्तित्वहरु, संचारकर्मीज्युहरु लगायत मेरा आफन्तहरु समेतलाई सामेल गराउन असमर्थ हुनेछु । महामारीको यो माहौलमा सिमित ब्यक्तिहरुलाई साँक्षी राखी जीवनको नयाँ यात्रा सुरु गर्दै गर्दा तपाईंहरु सम्पूर्णले मलाई आशिर्वाद दिनुहुनेछ भन्ने आशा र विश्वाश लिएकी छु ।

