प्रदेश खेलकुद परिषदद्वारा अभिमुखीकरण सम्पन्न


काठमाडौं– बागमती प्रदेश खेलकुद विकास परिषदले मातहतका १३ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष र कार्यालय प्रमुखहरुलाई अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

यो संघीय परिषद र प्रदेश खेलकुद विकास परिषदबीचको पहिलो संयुक्त कार्यक्रम हो। प्रदेश र संघबीच समन्वय र सहकार्यको शुरु भएको अर्थमा कार्यक्रम पहिलो हो।

काठमाडौंमा भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा बागमती प्रदेशका सामाजिक बिकास मन्त्री युवराज दुलालले सम्बोधन गरेका थिए ।

नेपाल ओलम्पिक कमिटी अध्यक्ष जीवनराम श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवाल, उपाध्यक्ष शिव कोइराला, प्रदेश सभा सदस्य मिना ज्ञवाली लगायतले कार्यक्रममा सम्बोधन गरेका थिए ।

मन्त्री दुलालले संघीय संरचना अनुसार अहिलेका खेलकुद संरचनाले राम्रोसँग काम गर्न सकेमा अब नेपालि खेलकुद जगतको स्वर्ण युग सुरु हुने बताए ।

सदस्यसचिव सिलवालले बागमती प्रदेशको कामबाट अत्यन्तै प्रभावित भएको बताए । उनले भने, ‘बागमती प्रदेशले केन्द्रीय परिषद् र केन्द्र सरकारलाई समेत पछि पछि हिड्न बाध्य पारेको छ ।’

प्रदेशले केन्द्रको सिको गर्नुपर्नेमा अहिले केन्द्रले प्रदेशको सिको गरेर योजना र कार्यक्रम बनाउनु परेको बताए ।

मन्त्री दुलाल खेलकुद र खेलक्षेत्रको संभावना बुझेको मन्त्री भएको हुँदा बागमती प्रदेश धेरै अगाडि जान सक्षम भएको समेत सिलवालले बताएका थिए ।

देश संघीयतामा गइसकेपछि  प्रदेश र राष्ट्रिय खेलकुद परिषदबीच बलियो समन्वय गरी काम गरेमा मात्रै सबै तहका सरकारले खेलकुद क्षेत्रमा उल्लेख्य उपलब्धी हासिल गर्न सक्नेमा सबैको जोड थियो ।

कार्यक्रमका अध्यक्ष तथा प्रदेश खेलकुद बिकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले जिल्लाका अध्यक्ष र कार्यालय प्रमुखहरुलाई अबका दिनमा काम गर्दा आइपर्न सक्ने सम्भावित कानुनी अस्पष्टता र अन्योलबीच कसरी काम गर्ने भन्ने बिषयमा प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका बिभागिय प्रमुख कुल बहादुर थापाले प्रसासन संचालन र कर्मचारीहरु ब्यबस्थापन सम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा १३ जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तथा कार्यालय प्रमुखहरु र प्रदेश खेलकुद बिकास परिषद्का सबै सदस्यहरुको सहभागीता रहेको थियो ।

प्रतिक्रिया