

सीता भण्डारी मृत्यु प्रकरणः पतिसहित तीनजना पुर्पक्षका लागि कारागार चलान

काठमाडौं – रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २७ बर्षीया सीता भण्डारी पौड्यालको रहस्यमय मृत्युको घटनामा उनका पतिसहित परिवारका तीनजना पुर्पक्षका लागि कारागार चलान भएका छन्।
बुधबार जिल्ला अदालत रुपन्देहीले सीताका पति टिका पौडेल, जेठाजु हरी पौडेल र आमाजु विष्णु पौडेललाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो।
गत २० भदौको बिहान आफ्नै कोठामा मृत भेटिएकी २७ वर्षीया सीताका माइती पक्षले आत्महत्या नभई हत्या भएको दावी गर्दै जाहेरी दिएका थिए।
अदालतका न्यायाधीश पिताम्वर शर्माको इजलासमा भएको बहसपछि थुनछेक आदेशबाट आरोपीहरु तीन जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश भएको हो।
उनीहरुविरुद्ध माइती पक्षले कर्तव्य ज्यान मुद्दामा किटानी जोहरी दिन खोजे पनि प्रहरीले किटानी जाहेरी नलिई आत्महत्याका लागि बाध्य पारेको भन्दै आत्महत्या दुरुत्साहनमा मुद्दा दर्ता गरेको थियो।
उक्त मुद्दामा निवेदकको तर्फबाट सरकारी वकिल कार्यालयका अधिवक्ता डम्बर पौडेल, पुणेन्द्र पाण्डे, बाबुराम भुसाल र नागेन्द्र बस्यालले बहस गरेका थिए। प्रतिवादीका तर्फबाट शालिकराम बन्जाडे र कृष्णप्रसाद पोखरेलले बहस गरेका थिए।
त्यसपछि घटनाको १६ दिनपछि केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) समेतको सहयोगमा भएको अनुसन्धानमा सीताले सुसाइड नोट लेखेर आत्महत्या गरेको फेला परेको थियोे। तर सीताले लेखेको उक्त सुसाइड नोटमा कसैको नाम उल्लेख थिएन।
यता, माइती पक्षले उक्त सुसाइड नोट ‘बनावटी’ भन्दै अनुसन्धान प्रतिवेदन अस्वीर गरेको छ। घटनाको अनुसन्धान अझै बाँकी रहेकाले अर्को सनुवाइ नहुँदासम्म आरोपीहरु कारागारमै रहन्छन्।
सीताको दुई वर्षअघि ४३ वर्षीय टिका पौडेलसँग विवाह भएको थियो। प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा सीताको सम्पत्तिका कारण हत्या गरिएको हुनसक्ने आधारहरु भेटिएको छ।

