सीता भण्डारी मृत्यु प्रकरणः बुटवलका डीएसपी कुँवरको भूमिका शंकास्पद!


काठमाडौं– केही दिनअघि रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २७ बर्षीया सीता भण्डारी पौड्यालको रहस्यमय मृत्युको घटनालाई गम्भीर रुपले नलिएको आरोपमा मृतकका माइती पक्षले इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन कुँवरको भूमिका शंकास्पद रहेको दाबी गरेका छन्।

मंगलबार अनलाइनन्युजसँग कुराकानी गर्दै मृतकका माइती पक्षले डीएसपी कुँवरलाई शंकाको घेरामा राखेको बताएका हुन्। उक्त नगरपालिका–५ कफी कम्पनी नजिकै घरमा ४३ बर्षीय टीका पौड्यालकी श्रीमती सीता २० भदौको बिहान आफ्नै घरको कोठामा रहस्यमय रुपमा मृत फेला परेकी थिइन्।

मृतक सीताका बाबु हरिप्रसाद भण्डारीले घटनाको दिनदेखि नै उनका श्रीमान टीका पौड्याल र उनकी दिदी बिष्णु पौड्यालविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिए पनि डीएसपी कुँवरले लिन नमानेर आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गर्न लगाएको बताए। डीएसपी कुँवरको भूमिका यहिँ शंकास्पद रहेको भण्डारी बताउँछन्।

‘कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिन्छु भन्दा डीएसपीसा’बले मान्नुभएन,’ मृतकका बुबाले भने, ‘आत्महत्या दुरुत्साहनमा जाहेरी दिनु यताबाट पनि अनुसन्धान गर्छौं भनेपछि दुरुत्साहन मुद्दामा जाहेरी दिएका हौं।

कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दर्ता गर्नको लागि मृतकका माइती पक्षसहित रुपन्देहीका सरोकारवालाहरुले कहिले चक्का जाम त कहिले अदालत घेराउलगायतका दबाबमूलक कार्यक्रम अगाडि बढाए पनि प्रहरीले आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गर्न लगाएर ति दुई जनालाई नियन्त्रणमा लिएर हिरासतमा राखेको छ।

आत्महत्या दुरुत्साहन मुद्दा दायर भएपछि पनि डीएसपी कुँवरले नियन्त्रणमा लिएका आरोपीहरुलाई अदालतले म्याद थप्न नमानेको भन्दै माइती पक्षलाई थप आक्रोशित पारेका थिए। मृतकका आफन्तहरुले पुनः चक्का जामसँगै अदालत घेराउ गर्न पुगेपछि दबाबमा डीएसपी कुँवरले उनीहरुलाई म्याद थप गरेर अनुसन्धान गरिरहेका छन्।

आरोपितका एकजना आफन्त नेपाल प्रहरीको ठूलै तहको मान्छे भएको आशंका गर्दै उनैको दबाबमा डीएसपी कुँवरले कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी लिन नमानेको आरोप मृतक पक्षले लगाएका छन्। यस विषयमा डीएसपी कुँवरसँग बुझ्न खोज्दा पटक–पटक सम्पर्क गर्दा पनि सम्पर्कमा आएनन्।

केही समयअघि डीएसपी कुँवरले भने सुरुमा आत्महत्या दुरुसाहनको मुद्दा दर्ता गरिए पनि हत्याको पाटोबाट पनि अनुसन्धान निष्पक्ष गरिने बताएका थिए। मृतकका बुबा भन्छन्, ‘डीएसपीसा’बलाई भेट्दा पीडित पक्षलाई न्याय दिन भन्दा पनि पीडकको पक्षमा बोल्ने गर्छन्। हाम्रो कुरा नै सुन्नुहुँदैन। कतै पीडकलाई उन्मुक्ति दिन खोज्दै त छैनन् डीएसपी सा’ब? सत्यतथ्य छानबिन गर्नु त कता हो कता उल्टो पीडितको कुरालाई वास्तै गर्दैनन्।’

सोमबार दिउँसो आन्दोलनकारीले जिल्ला प्रशासन कार्यालय घेराउ गरी प्रमुख जिल्ला अधिकारी (सीडिओ) अस्मान तामाङको कार्यकक्षमा डेलिगेशनका लागि गएका थिए। प्रमुख जिल्ला अधिकारी तामाङले सकरात्मक आश्वासन दिएको मृतक सीताका मामा आकाश पोखरेलले बताए।

यता माइती पक्षले बुटवल प्रहरी प्रमुख कुँवरको भूमिकाप्रतिचाहिँ आशंका गरेका छन्। सीडिओसँग भेट गरेर फर्किएलगत्तै मृतकका बुबाले भने, ‘प्रमुख जिल्ला अधिकारीले एक–दुई दिनभित्र कर्तव्य ज्यान सम्बन्धी मुद्दा पनि दायर गर्न सकिने आश्वासन दिनुभएको छ।’

यस विषयमा सिडिओ तामाङले भने आफूले घटनाको सत्यतत्य छानबिन गर्न निर्देशन दिइसकेको बताए। ‘भिसेराको रिर्पोट आइसकेपछि मोबाइलको कल रेकर्ड पनि चेक गरिनेलगायतका अनुसन्धानमा कमी हुन दिने छैन,’ सीडिओ तामाङले भने, ‘निष्पक्ष छानबिन गरेर पीडितलाई न्याय दिने र दोषीलाई कारबाही हुन्छ।’

घटनास्थल नजिकैको एक पसलको सीसीटिभि फुटेज बाहिरिँदा समेत प्रहरीमा हिजोसम्म त्यो फुटेज पुगेको छैन। त्यस फुटेजमा घटनाको राती मृतका जेठाजु हरि पौड्याल त्यस घरभित्र पसेका छन् भने विहान करिब साढे चार बजेको समयमा उनका श्रीमान टिका पौड्याल घरबाट बाहिर निस्किएका छन्।

उक्त सीसीटिभी फुटेज सीडिओ तामाङ र डीएसपी कुँवरले समेत हेरिसकेका छन्। डीएसपी कुँवर पोष्टमार्टम रिपोर्टमा आएको प्रमाणलाई आधार मानेर आफू बोलिरहेको दावी गर्दै आइरहेका छन्। तर, उक्त कुरालाई मृतकका परिवारले स्वीकार्न सकिरहेको छैनन्।

प्रतिक्रिया