सीता भण्डारी मृत्यु प्रकरणः १७ दिनपछि सीआईबीले थाल्यो अनुसन्धान
काठमाडौं – रुपन्देहीको तिलोत्तमा नगरपालिकाकी २७ बर्षीया सीता भण्डारी पौड्यालको रहस्यमय मृत्युको घटनाको अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोली घटनास्थलमा पुगेको छ।
तिलोत्तमा नगरपालिका–५ राधाकृष्ण टोलकी सीताको मृत्यु भएको १६ दिनपछि (हिजो मंगलबार) सीआईबीको टोली रुपन्देही गएको हो। गत २० भदौको बिहान सीता आफ्नै घरको एक कोठामा मृत भेटिएकी थिइन्।
सीआईबीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहितको टोलीले आजदेखि अनुसन्धान थालेको छ। ‘टेक्निकल’ र ‘मेनुअल’ दुवै तरिकाले अनुसन्धान भइरहेको सीआईबीबाट खटिएका एक प्रहरी अधिकारीले भने।
रुपन्देही प्रहरी स्रोतका अनुसार सीआईबीले माइतीपक्ष र परिवारसँग सोधखोज गरिरहेको छ। यसअघि मृतकका आफन्तले इलाका प्रहरी कार्यालय बुटवल र जिल्ला प्रहरी कार्यालयले राम्रोसँग घटनाको अनुसन्धान नगरेको भन्दै सीआइृबीले गर्नुपर्ने माग राखेका थिए।
प्रहरीले पोस्टमार्टम रिपोर्टका आधारमा आत्महत्या भने पनि पौड्यालका माइती पक्ष यसलाई स्विकार्न तयार छैनन्। मृतकका माइती पक्षले इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी मदन कुँवरको भूमिका शंकास्पद रहेको बताएका छन्।
मृतक सीताका बाबु हरिप्रसाद भण्डारीले घटनाको दिनदेखि नै उनका श्रीमान टीका पौड्याल र उनकी दिदी बिष्णु पौड्यालविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा किटानी जाहेरी दिए पनि डीएसपी कुँवरले लिन नमानेर आत्महत्या दुरुत्साहनको मुद्दा दर्ता गर्न लगाएको बताए। डीएसपी कुँवरको भूमिका यहिँ शंकास्पद रहेको भण्डारी बताउँछन्।
प्रहरीको अनुसन्धानमा विश्वास नलागेर सीआईबीले अनुसन्धान गर्नुपर्छ भनेर माग गरेपछि अब सीआईबीले अनुसन्धान गरेपछि न्याय पाउँछौं भन्नेमा विश्वस्त रहेको भण्डारी बताउँछन्।
मृतकका श्रीमान पौडेलले नियमित मादक पदार्थ सेवन गर्ने र उनीहरूको उमेर अन्तरको कारणले पनि सीताले आत्महत्या गरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा खुलेको छ।