सीता भण्डारी मृत्यु प्रकरणः सीसीटिभी फुटेजमा जेठाजु राती घर आउँछन्, श्रीमान बिहानै बाहिरिन्छन्


काठमाडौं – केही दिनयता सामाजिक सञ्जालदेखि मिडियाहरुमा सीता भण्डारी पौड्याल मृत्यु प्रकरण चर्चामा छ। दुई वर्षअघि रुपन्देही तिलोत्तमा नगरपालिका–५ कफी कम्पनीका ४३ वर्षीय टीका पौड्यालसँग विवाह गरेकी २७ वर्षीया सीता गत २० भदौमा आफ्नै घरको कोठामा मृत फेला परेकी थिइन्।

माइती पक्षका अनुसार सीता आफ्नै घरको कोठामा मुखबाट रगत बगेको, गला कसिएको र भुइँमा लडेको अवस्थामा मृत फेला परेकी थिइन्। मृतकको शरीरमा निल डाम र मुखबाट रगत आएकाले घाँटी कसेर हत्या गरेको आफन्तको आशंका छ।

प्रहरीले पोस्टमार्टम रिपोर्टका आधारमा आत्महत्या भने पनि पौड्यालका माइती पक्ष यसलाई स्विकार्न तयार छैनन्। पौड्यालको मृत्यु भएको एक साता बित्दा पनि उनको मृत्यु कसरी भयो भन्नेबारे प्रहरीले यथार्थ सार्वजनिक नगर्दा आफन्त र परिवार आन्दोलित बनेका छन्, दिनहुँजसो प्रदर्शन गरिरहेका छन्।

त्यतिमात्र होइन छोरीको हत्या नै भएको भन्दै मृतकका बाबु हरिप्रसाद भण्डारीले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिए। तर, प्रहरीले जाहेरी लिन नमानेपछि मृतकका माइती पक्ष झन आन्दोलनमा उत्रिए। आन्दोलनको दबाबमा आत्महत्या दुरुत्साहनको मुद्दा दायर गरेर प्रहरीले मृतकका श्रीमान टीका र उनकी दिदी विष्णु पौड्याललाई नियन्त्रणमा लिएको छ।

मृत भेटिएको अवस्थामा खिचिएको तस्बिरहरुमा पनि मुखमा रगत देखिन्छ। अनुहारमा लत्पतिएको अवस्थामा रगतहरु बगेको सार्वजनिक भएको फोटोहरुमा प्रष्ट छ। यसले गर्दा पनि हत्याको आशंका प्रष्ट छ।

सीसीटिभी फुटेज बाहिरिएलगत्तै थप शंकास्पद

सीताको रहस्यमय मृत्यु प्रकरण सीसीटिभी फुटेज बाहिरिएलगत्तै थप शंकास्पद भेटिएको छ। सीताको घरनजिकै एक पसलमा रहेको सीसीटिभि फुटेज हालै बाहिरिएको हो।

त्यस फुटेजमा घटनाको राती मृतकका जेठाजु त्यस घर भित्र पसेका छन् भने विहान करिव साढे चार बजेको समयमा उनका श्रीमान टिका एउटा झोला बोकेर घरबाट बाहिर निस्किएका छन्।

हालै घटनास्थल नजिकै पसल भएका एमबी न्यौपानेले घटना घटेको दिन विहान करिव ४ बजेको समयमा सीताका श्रीमान टीका झोलामा समानहरु प्याक गरेर बाहिर हिँडेको आफूले पसलको सीसीटिभिमा देखेको बताए।

उनले आफ्नो सीसीटिभी सार्वजनिक गर्दै भनेका छन्, ‘घरमा श्रीमती त्यस्तो अवस्थमा थिइन् भने कुनै श्रीमान त्यसरी निर्धक्कसँग बाहिर जान सक्छ? एउटी महिला बसेको केठा त्यसरी भताभुंग भएको छ। सीताको आँखामा निलडाम छ। शरीरमा पनि दागहरु छन्।’

‘हातपात नै भएको देखिन्छ,’ न्यौपानेले भने, ‘ठिक नजिकै अर्को कोठा छ। थाह नहुने कुरा हुन्छ? सीसीटिभि फुटेजमाभदौ १९ गते दिउँसो माइतबाट घर आएकी सीताले गल्लीमा रहेको स्कुटी साँझ साढे ७ बजेको समयतिर भित्र पार्किङ गरेको देख्न सकिन्छ।’

साँझ साढे ७ बजे आसपासमा उनका श्रीमान टीका पौड्याल दाजुकी छोरीलाई गाडीमा ल्याएर घर आएको समेत सीसीटिभीमा देख्न सकिन्छ। ८ बजेर ४० देखि ४७ मिनेटको समयमा छिमेकी न्यौपानेले नचिनेको एकजना मानिस त्यस घरभित्र पसेको र त्यसपछि उनी त्यहिँ बसेको वा फर्केको देख्न–बुझ्न सकेनन्।

सोहीदिन राती करिब साढे ११ बजेको समयमा टीका पौड्यालका दाजु हरि पौड्याल बुटवलमा आगोलागि भयो भन्दै घरबाट निस्केको र करिब पौने एक बजे घटनास्थल भएको घरमा प्रवेश गरेको देख्न सकिन्छ।

त्यस्तै भदौ २० गते विहान करिव साढे ४ बजेको समयमा मृतकका श्रीमान टीका पौड्याल घरबाट मास्क लगाई बाहिर निस्केको देख्न सकिन्छ। त्यहाँबाट हिँडेका उनले नयाँमिल पुगेर आफ्नो भान्जा दाई रमेश भन्नेलाई फोन गरेर घटनाको जानकारी गराएको बुझिन्छ। बिहान सबैभन्दा पहिला उनै आएका छन्।

त्यसपछि सोहीदिन बिहानै सीताको माइतीलाई काम छ भनेर टीकाको घरमा बोलाइयो। त्यसपछि साढे ६ बजेतिर मृतक सीताका बाबुआमा र मामाहरु त्यस घरभित्र पसेको सीसीटिभिमा देख्न सकिन्छ।

माइतीजन त्यहाँ पुग्दा मुहार रक्ताम्मे अवस्थामा सीताको मृत्यु भइसकेको थियो। उक्त दृश्य देख्न साथ त्यहाँ पुगेका सीताका बाबुआमा बेहोस् भई ढलेका थिए।

प्रत्यक्षदर्शी माइतीजनका अनुसार सीता आफ्नै घरको कोठामा मुखबाट रगत बगेको, गलामा चुंगीले कसिएको र भुइँमा लडेको अवस्थामा मृत फेला परेकी थिइन्।

त्यसपछि मृतक सीताका बाबु हरिप्रसाद भण्डारीले छोरीको हत्या नै भएको भनि बुटवल ईलाका प्रहरी कार्यालयमा किटानी जाहेरी दिँदा बुटवलका प्रहरी नायब उपरीक्षक (डिएसपी) मदन कुँवरले जाहेरी लिन मानेनन्।

किटानी जाहेरी लिन नमानेका डिएसपी कुँवरले पछि कर्तव्य ज्यान मुद्दामा नभएर आत्माहत्या दुरुसाहनको मुद्दा दर्ता गरि सीताका श्रीमान टीका र उनकी दिदी बिष्णु पौड्याललाई पक्राउ गरि हिरासतमा लिएको छ।

आरोपित टीका पौड्यालको पुर्खेयौली घर गुल्मीको हुँगा हो। उनी गुल्मीका कांग्रेस नेता अनन्तराम पौड्यालका भतिजा हुन्। कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीका पनि छिमेकी हुन्। उनीहरु दुवैजनाले निष्पक्ष छानविन हुनुपर्ने धारणा राख्दै आएका छन्।

००००
सीता भण्डारीका माइतीको पुख्र्यौली गाउँ पनि गुल्मीकै वस्तुमा हो। पछिल्लो समय उनीहरु तिलोत्तमा नगरपालिका–८, मणिग्राम चारनम्वर टोलमा बस्दै आएका थिए।

सीता ६ भदौ जनैपूर्णिमाको दिन श्रीमान टीकासँगै माइतीघर गएकी थिइन्। तीज माइतीमै मानेर फर्किने गरि बसेकी सीतालाई १९ भदौको दिउँसो फोन गरेर भोली दाईकी छोरी भतिजीको जन्मदिन मनाउनुपर्ने भएकाले घर फर्किन भनेपछि त्यसदिन दिउँसो नै फर्किएकी थिइन्।

पाल्पाको तानसेनस्थित ‘दि दरवार कटेज एण्ड रिर्सोट’ सञ्चालन गरेर बसेका थिए पौड्याल दम्पत्ती। तानसेनबाटै फोन गरेर श्रीमान टीकाले श्रीमतिलाई फोन गरेर तिमी घर जाउ म साँझ आउँछु भनेका मान्छे उनी तानसेनबाट मदिराले लठ्ठिँदै ससुरालीघर समेत पुगेको पाइएको छ।

जहाँ सासुससुराको नमस्कार पनि नफर्काई बाहिरबाटै अब म रिल्याक्सको जिन्दगी जिउँछु अब तपाईकी छोरी एक्लो हुने भई भन्दै धम्क्याएर बस्दै नबसी फर्केको समेत पाइएको छ।

सीताका मामा आकाश पोखरेल यसो भन्छन्,

‘त्यसैदिन साँझ करिव साढे ६ बजेको समयमा टिका ससुराली आएका थिए र मेरो घरमा आई तपाईंकी छोरी अब एक्लो पर्ने भई। मैले त आनन्दको जीन्दगी जिउँछु भनी धम्कीपूर्ण कुरा गरी अरु केही नबोली यहाँबाट हिँडेका थिए।

मेरी भान्जीको घर र मेरो पसल सँग–सगै छ। उनले मदिरा पिएको आभास हुन्थ्यो। त्यसलगत्तै मैले पटक पटक भान्जीलाई फोन हाने। साँझ ७ बजे देखि साँझ ९ बजे सम्म भान्जीलाई फोन हान्दा पनि फोन उठेन,’ उनले थप सुनाए।

अर्को दिन बिहान ५ बजेर २५ मिनेट जाँदा उनका श्रीमानको ८ सेकेन्ड मात्रै मिसकल आयो। हिजो जाँडरक्सी पिएर केहि बोलेकी भनेर एस्क्युज गर्न होला भनेर मैले कलब्याक गरिन्। त्यसलगत्तै भाईलाई फोन आएछ।

उनले मेरो घर आउनुस् भन्नुको सट्टा मेरो घरमा जानु भनेछन्। के–के भयो र भनेर सोध्दा केही भएको छैन एउटा काम छ भनेछन्। सासु ससुरालाई फोन गरेर पनि मेरो घर छिट्टै जानुस् भनेछन्।

कारण सोध्दा के िभनेर मात्र आइहाल्नुपर्ने भयो भन्नुभयो। अति जरुरी काम पर्यो भनेछन्। त्यसपछि मृतककी आमा अर्थात मेरो दिदी पुनम भण्डारी, भाईहरु पदम पोखरेल र लक्ष्मण पोखरेल पहिला त्यस घरमा पुगेछन्। म पछि मात्रै गएको हुँ।

उनीहरुले त्यहाँ पुगेर हामीहरुलाई किन हतार–हतार बोलाउनु भएको हो? मेरी छोरी कता छिन् भनि सोध्दा घरमा भएका सासुससुराले कुनै जवाफै दिएनछन्। त्यति बेलासम्म ज्वाँई घरमा थिएनन्।

त्यसको करिब २० मिनेटपछि घरमा ज्वाँई बाहिरबाट घरमा आइ तपाईंहरुको छोरीलाई मार्नमा प्रमुख हात यसैको छ भनी उनको दिदी (जो चितवनबाट माइत आएकी थिइन् विष्णु पौडेल) लाई औँला ठड्याउँदै कराउन थाले।

त्यसपछि मृतका बाबु–आमा छोरी जीवित छैनन् भन्ने ठानेर बेहोस भई त्यही ढलेछन्।

साथमा गएका पदम पोखरेल र लक्ष्मण पोखरेलले घरभित्र गई हेर्दा अट्याच कोठाबाट बाथरुममा पस्ने ढोकामाथि काटिएको चुंगी झुण्डिइरहेको, सीतालाई भुइँमा घोप्टोपारी सिरानीमा टाउको राखिएको, मृतकको दुवै कोखामा निलडाम रहेको, मुखबाट रगत बगी अनुहारमा लत्पत्तिएको र घाँटीको दायाँ छेउमा गाठो पारिएको चुंगीले कसेको अवस्थाम फेला पारेका थिए।

प्रतिक्रिया