रोहिंज्या: नेपालमा शरणार्थी ‘तस्करी’को संकेतपछि थप अनुसन्धान गरिँदै


काठमाडाैं – बंगलादेशमा शरण लिइरहेका रोहिंज्या शरणार्थीहरूलाई मानव तस्करी गरी नेपाल ल्याइपुर्‍याएको आरोपमा तीनजना पक्राउ परेपछि नेपालमा शरणार्थीहरूको तस्करी हुने गरेको विषयमा अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।

गत भदौमा एक साताको बीचमा दुई समूहमा १४ जना रोहिंज्या शरणार्थी काठमाण्डू आइपुगेपछि अनुसन्धान सुरु गरेको नेपाल प्रहरीको अपराध अनुसन्धान विभागले उनीहरूलाई नेपाल ल्याउन संलग्न रहेको अभियोगमा तीन जनालाई पक्राउ गरेको थियो।

पक्राउ परेकामध्ये दुईजना काठमाण्डूमै बस्दै आएका रोहिंज्या शरणार्थी छन् भने एकजना बङ्गलादेशी नागरिक रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।

‘हामीले रोहिंज्याहरूलाई काठमाण्डू ल्याउन एउटा गिरोह नै रहेको आशङ्कामा पहिल्यैदेखि अनुसन्धान गरिरहेका थियौँ। यो घटनाले हामीलाई उनीहरूसम्म पुग्ने आधार तयार गरिदियो,’ अपराध अनुसन्धान विभागका प्रवक्ता श्यामकुमार महतोले भने। ‘मानव बेचबिखन ओसारपसार गरेर ल्याएको जानकारी हामीकहाँ आएपछि अनुसन्धान गर्दा त्यस्तै देखिएको छ।’

बङ्गलादेशको एउटा शिविरमा आश्रय लिइरहेका शरणार्थीहरूलाई काँकडभिट्टा नाका हुँदै तीन दिनको सडक यात्राबाट काठमाण्डू ल्याइपुर्‍याइएको अनुसन्धानमा देखिएको प्रहरीले बताएको छ।

पक्राउ परेका दुई शरणार्थीसहित एक बङ्गलादेशीलाई प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोले हिरासतमा लिएर बयान लिइरहेको छ। प्रारम्भिक अनुसन्धानले शरणार्थीहरूसँग रकम असुलेर तस्करी हुने गरेको देखिएको ब्यूरोकी प्रमुख दुर्गा सिंहले बताइन्।

‘यो एक किसिमको मानव तस्करी नै हो। उता पनि क्याम्पमै बसिरहेका मानिसहरूलाई भुटानी शरणार्थीलाई जस्तै अमेरिका र युरोप लैजान्छ भनेर ल्याएको रहेछ। उनीहरूसँग पैसा पनि उठाइएको रहेछ। हामीले दोभासे राखेर उनीहरूको बयान र अदालती प्रक्रिया गर्दैछौँ,’ उनले भनिन्।

पक्राउ परेका तीनै जनालाई ब्यूरोले मानव बेचबिखन तथा ओसारपसार कसुर अन्तर्गत अनुसन्धान गरिरहेको जनाएको छ। मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ अनुसार कसुर प्रमाणित भए उनीहरूलाई अधिकतम २० वर्षसम्म जेल र दुई लाख रुपैयाँ जरिवाना हुन सक्छ।

भुटानी शरणार्थीजस्तै नेपालबाट अमेरिका र युरोप लैजाने व्यवस्था हुने र नेपाल बसुन्जेल पनि भत्ता पाइने प्रलोभन देखाएर उनीहरूलाई काठमाण्डूसम्म ल्याउने समूहले रोहिंज्याबाट ठूलो मात्रामा पैसा उठाएको प्रहरीको दाबी छ।

रोहिंज्याको भाषा बुझ्ने मानिस नभएका कारण कपनस्थित रोहिंज्या शिविरबाटै दोभासेको सहयोग लिएर बयान लिइरहेको प्रहरीले जनाएको छ। नेपालमा अधिकांश शरणार्थीहरू पर्यटक भिसामा आएको बताइन्छ।

नेपालमा झन्डै एक दशक अघिबाटै सानो सङ्ख्यामा म्यान्मारका रोहिंज्या शरणार्थीहरू बसोबास गरिरहे पनि चार वर्षअघि त्यहाँ रोहिंज्यामाथि भएको दमनपछि नेपालमा उनीहरूको सङ्ख्या उल्लेख्य रूपमा बढ्यो। अहिले कपनस्थित शिविर बनाएर बसिरहेका रोहिंज्याहरूको सङ्ख्या चार सयभन्दा बढी रहेको बताइन्छ।

तस्करहरूको प्रलोभनमा परेर गत महिना नेपाल आएका १४ जना रोहिंज्यालाई पनि नेपालस्थित राष्ट्रसङ्घीय शरणार्थी नियोगको समन्वयनमा कपनको शिविरमा राखिएको प्रहरीले जनाएको छ।

सीमामा निगरानी
गृह मन्त्रालयले नेपालमा म्यान्मारका रोहिंज्या र अफगान शरणार्थीहरू भारतको बाटो हुँदै नेपाल प्रवेश गर्न सक्ने सम्भावनालाई ध्यानमा राख्दै सीमा क्षेत्रमा निगरानी बढाइएको जनाएको छ।

‘हामीले पूर्वसतर्कता अपनाउन प्रहरी मुख्यालय र सबै जिल्ला प्रशासन कार्यालयहरूलाई लेखेर पठाएका छौँ। खुला सीमा भएकाले उताबाट आउँदा परिचयपत्रवाहक विदेशीलाई मात्र प्रवेश गर्न दिनुहोला नभए पक्राउ गरेर कारबाही गर्न गर्नुहोला भनेर निर्देशन दिइसकिएको छू गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणी पोखरेलले भने।

अध्यागमन विभागका प्रमुख नारायणप्रसाद भट्टराई नेपालमा शरणार्थीहरूको तस्करी हुने गरेकोबारे अनुसन्धान भएको सम्भवतः पहिलो पटक हुन सक्ने बताउँछन्। विगतमा नेपालमा विभिन्न देशका शरणार्थी कसरी आएका थिए भन्नेबारे धेरै अध्ययन नभए पनि अहिलेको अनुसन्धानले विगतका कुरा पनि खुलाउन सक्ने उनले बताए।

‘हामीलाई थाहा हुने यही आइपुगेपछि मात्रै हो। अक्सर मानिसहरू चाहिँ खुला सीमालाई अवसरका रूपमा प्रयोग गरेको हुन सक्ने पनि देखिन्छ। अहिलेको अनुसन्धानले विगतको कुरालाई पनि उतार्ला,’ उनले भने। नेपालले भुटानी र तिब्बती बाहेकका शरणार्थीहरूलाई शरणार्थीको मान्यता दिएको छैन। सरकारले उनीहरूलाई गैरकानुनी आप्रवासी भन्दै आएको छ।

नेपालमा आइसकेका शरणार्थीहरूलाई सरकारले राष्ट्रसङ्घीय शरणार्थी नियोगको समन्वयमा बसोबास गर्न दिने गरेको छ। विभिन्न निकायका अनुसार नेपालमा विभिन्न देशका ६५० शरणार्थी छन्। सबैभन्दा ठूलो सङ्ख्या म्यान्मारबाट आएका रोहिंज्याहरूको छ।

अधिकारीहरूका अनुसार पहिला विभिन्न १२ देशका शरणार्थीहरू नेपालमा बसेको दृष्टान्त छ। नेपालमा पाकिस्तान, अफगानिस्तान, श्रीलङ्का र बङ्गलादेशजस्ता दक्षिण एशियाली देशबाहेक इरान र सोमालिकाका शरणार्थी छन्।

तीमध्ये रोहिंज्या शरणार्थीहरू मात्रै शिविरमा बस्दै आएका छन्। बाँकी देशबाट आएका शरणार्थीहरू काठमाण्डूका विभिन्न स्थानमा डेरामा बस्ने गरेका छन्।

नेपालले अहिलेसम्म शरणार्थीसम्बन्धी महासन्धिमा हस्ताक्षर गरेको छैन र त्यसबारे उसका आन्तरिक कानुनहरू समेत छैनन्।

महासन्धिमा हस्ताक्षर गरेको देशबाट शरणार्थीको हैसियत पाइसकेको व्यक्तिले पुनः देशमा गएर शरणार्थीको हैसियत नपाउने शरणार्थीहरूको अधिकारका लागि काम गरिरहेका गोपालकृष्ण सिवाकोटी बताउँछन्।

‘शरणार्थीहरू यदि साँच्चिकै समस्यामा परेर आएका हुन् भने उनीहरूलाई शरण लिन पाउनु उनीहरूको अधिकार हो। कुन माध्यम प्रयोग गरियो बिचौलियाबाट आए वा आएनन् भन्ने कुरा गौण हुन्छ,’ सिवाकोटी भन्छन्।

उनका अनुसार राष्ट्रसङ्घीय शरणार्थी निकाले शरणार्थी अवस्था निर्धारण प्रक्रिया पूरा गरेकाहरूलाई मात्रै शरणार्थीको मान्यता दिने गरेको छ।  बीबीसी

प्रतिक्रिया