हैदराबादमा नेपाली युवतीको हत्या, ‘लिभ–इन पार्टनर’ पक्राउ


हैदराबाद – भारतको हैदराबादमा एक नेपाली युवक आफ्नी लिभ–इन पार्टनरको हत्या गरी शव ट्राभल ब्यागमा राखेर फालेको आरोपमा पक्राउ परेका छन्।

घटनाबारे जुन ४ तारिखमा खुलासा भएको हो, जब ३३ वर्षीया तारा बोहराको शव एक ट्राभल झोलाभित्र फेला परेको थियो। उक्त झोला हैदराबादको बाचुपल्लीस्थित एक आवासीय क्षेत्र नजिकको सुनसान स्थानमा फालिएको थियो।

हत्या अभियोगमा पक्राउ पर्ने व्यक्ति ३० वर्षीय विजय टोप्पा उर्फ विल्सन हुन्। उनी स्थानीय रेस्टुरेन्टमा सेफको रूपमा कार्यरत थिए र मृतक तारासँग लिभ–इन सम्बन्धमा थिए।

प्रहरी अनुसन्धान अनुसार विजय र ताराबीच फेसबुकमार्फत चिनजान भएको थियो। तारा विवाहित थिइन् र उनका दुई सन्तान पनि थिए। तर उनले २०७८ साल वैशाख ३ गते (२०२५ अप्रिल १५) हैदराबाद आएर विजयसँग एकै घरमा बस्न थालिन।

घटनाको दिन २०८१ साल जेठ १० गते (२०२५ मे २३) ताराको गर्भवती भएको विषयमा उनीहरूबीच भनाभन भयो। त्यही झगडाका क्रममा विजयले नायलनको डोरी प्रयोग गरी ताराको घाँटी थिचेर हत्या गरेका प्रहरीको भनाइ छ। त्यसपछि उनले शवलाई ठूलो ट्राभल झोलामा राखी सुनसान स्थानमा लगेर फालेका थिए।

शव भेटिएपछि स्थानीय चौकीदारले प्रहरीलाई खबर गरेका थिए। घटनास्थलमा साइबराबाद प्रहरीका उच्च अधिकारीहरू के. सुरेश कुमार, सत्यनारायण र रवि किरण रेड्डीसहितको टोली तथा फरेन्सिक टोली पुगेको थियो।

अभियुक्तको खोजीका लागि पाँचवटा विशेष टोली गठन गरिएको थियो। सीसीटीभी फुटेज र प्राविधिक प्रमाणको आधारमा प्रहरीले विजयलाई मेडचल जिल्लाबाट पक्राउ गर्न सफल भयो। पक्राउपछि विजयले हत्या गरेको स्वीकार गरेका छन्।

प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया