
गृह सचिव गोकर्णमणि दुवाडीलाई ७ दिने स्पष्टीकरण माग
काठमाडाैं- गृह सचिव गोकर्णमणि दुवाडीलाई दरबन्दीभन्दा बढी कर्मचारी अध्यागमन कार्यालयमा खटाएको विषयमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सात दिनभित्र स्पष्टीकरण दिन निर्देशन दिएको छ।
प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीले पठाएको पत्रमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालय र केही जिल्ला प्रशासन कार्यालयमा स्वीकृत दरबन्दीभन्दा बढी कर्मचारी खटाइएकोबारे स्पष्टीकरण माग गरिएको हो। साथै, दरबन्दी नभएका ठाउँमा काजमा खटाइएका कर्मचारीको नाम, जिम्मेवारी र खटाइएको मिति लगायतको विवरण उपलब्ध गराउन पनि भनिएको छ। दुवाडी हाल विदेश भ्रमणमा छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा दुरुपयोग प्रकरणमा गृह सचिवका निकट सहसचिव तीर्थ भट्टराईविरुद्ध छानबिन अघि बढाएपछि अध्यागमन कार्यालयमा दरबन्दीभन्दा बढी कर्मचारी कार्यरत रहेको तथ्य बाहिर आएको थियो। त्यसपछि केही कर्मचारीलाई फिर्ता समेत गरिएको थियो।
निजामती सेवा ऐन, २०४९ को दफा १८(क) अनुसार स्वीकृत प्रक्रिया बिना काजमा खटाइएमा सम्बन्धित पदाधिकारीबाट तलब, भत्ता र सुविधा असुल गर्नेसहित विभागीय कारबाही गर्ने व्यवस्था छ। यही आधारमा अख्तियारको निर्देशनपछिको कारबाही स्वरूप प्रधानमन्त्री कार्यालयले गृह मन्त्रालयलाई स्पष्टिकरण मागेको हो।



कागजपत्र |
