

यी पाँच देश जसले बिना लकडाउन कोभिड सँगसँगै गुजारा गरिरहे

काठमाडौं – कोरोना महामारी शुरु भएको १८ महिना बितिसक्दा, केही देशहरुले चाहिँ ‘कोभिड सँगसँगै बाँच्ने’ मोडल अपनाउन शुरु गरेका छन्। कतिले उच्च खोप दर पश्चात् यस्तो नीति अपनाएका हुन् भने कतिपय देशले चाहिँ लकडाउनका आर्थिक क्षति हेरेर बरु कोभिडसँगै बाँच्नु फाइदाजनक हुनेछ भनेर यस्तो निर्णय लिएका हुन् ।
१. डेनमार्क : डेनिश सरकारले सेप्टेम्बर १० देखि नै कोभिड सम्बन्धी सम्पूर्ण बन्देज र नियमहरु हटाएको छ । ‘कोभिड–१९ अब समाजलाई गम्भीर खतरामा पार्ने किसिमको रोग रहेन’ भन्ने ठहर गर्दै सरकारले यस्तो निर्णय सुनाएको हो । यहाँसम्मकी डेनिश नागरिकहरु कोभिड पासपोर्ट नदेखाइकन नाइट क्लब र रेस्टुरेन्टहरु पनि जान पाउँछन् । त्यस्तै सार्वजानिक यातायातमा चढ्दा मास्क लगाउनु पर्दैन भने ठूलो संख्यामा भेला हुन पनि दिइएको छ ।
तर यसमा डेनमार्कको सफलताका लागि यसको खोप दरलाई श्रेय दिइएको छ । सेप्टेम्बर १३ सम्ममा त्यहाँको ७४ प्रतिशत जनसंख्याले कोभिड विरुद्ध पूरा डोज खोप लगाइसकेको थियो । तर हाल राम्रो अवस्थामा भए पनि महामारी अन्त्य नभइसकेकाले फेरि समाज जोखिममा परे, सरकारले कडाइ अपनाउन नहिचकिचाउने स्वास्थ्य मन्त्री मेग्नस हेउनिकले बताएका हुन् ।
२. सिंगापुर : सिंगापुर सरकारले गत जुनमा मात्र कोभिड सँगसँगै गुजारा गर्ने रणनीतिबारे घोषणा गरेको हो । यसमा सिंगापुरले नयाँ संक्रमण नियन्त्रण गर्न नागरिकहरुको जीवन कठिन पार्नुको सट्टा खोप लगाउनमा जोड दिने र अस्पताल भर्ना हुने बिरामीलाई नजिकबाट निगरानी गर्ने नीति लागू गरेको छ ।
‘नराम्रो खबर के हो भने कोभिड–१९ कहिलै नजान पनि सक्छ । तर खुसीको खबर हामी कोरोना सँगसँगै गुजारा गरेर पहिले जस्तै साधारण जीवन बिताउन सम्भव छ’, सिंगापुरका शीर्ष कोभिड–१९ अधिकारीले भनेका हुन् ।
निकायहरुले अगस्टदेखि नै विभिन्न कोभिड मापदण्डहरु हटाउँदै गएका छन् । पूरा डोज खोप लगाइसकेकाहरुलाई दुईदेखि पाँच जनाको समुहमा भेट गर्न दिइएको छ । तर अति संक्रमक डेल्टा भेरियेन्टका कारण केही समय अगाडि नयाँ बिरामी फेला पर्न थालेपछि यो नीति केही समय स्थगित गर्नुपरेको थियो । अघिल्लो हप्ता मात्र निकायले नयाँ संक्रमितहरु नियन्त्रण गर्न नसके पुनः कोभिडका मापदण्ड लागू गराउनु पर्ने चेतावनी दिएको थियो ।
सिंगापुरको कोभिड टास्कफोर्सले अहिलेसम्म नयाँ संक्रमणलाई आक्रामक ‘कन्ट्याक्ट ट्रेसिङ’ मार्फत नियन्त्रणमा ल्याउने प्रयास गरिने बताएको छ । तर यस्ता उपायका वावजुद मंगलबार सिंगापुरमा बिरामीको दर एक वर्षकै उच्च पुगेको थियो । तरपनि खोप अभियान तिव्र भएकाले यसबाट गम्भीर बिरामी पर्नेको संख्या भने एकदम कम छ । यो भन्दा अगाडि सिंगापुरले ‘शून्य कोभिड नीति’ अपनाउँदै आएको थियो । त्यहाँका ८१ प्रतिशत नागरिकले पूरा डोज खोप लगाइसकेका छन् ।
३. थाइल्याण्ड : थाइल्याण्डले आगामी महिनादेखि नै राजधानी बैंककसहित अन्य सबै प्रख्यात गन्तव्यहरु खुला गर्ने बताएको छ । बढ्दो सङ्क्रमण संख्याका वावजुद पर्यटन उद्योगलाई पुनः जीवित पार्न भनेर यस्तो गर्न लागिएको हो ।
नयाँ कोभिड नीति अन्तर्गत कोरोनाको पूरा डोज खोप लगाएका पर्यटक र परीक्षणसम्बन्धी सबै मापदण्ड अपनाउने प्रतिबद्धता जनाउनेहरुलाई राजधानी, ह्वा हिन, पताया र चिआङ माइमा जस्ता ठाउँमा अनुमति दिइएको छ । फुकेट टापु चहिँ जुलाई १ देखि नै क्वारेन्टिनको आवश्यकता बिना खुला गरिएको थियो ।
२०२० मा संक्रमण दर न्युन राख्न सफल भए पनि यो वर्ष भने थाइल्याण्ड संघर्षरत् अवस्थामा छ । छिमेकी मुलुकहरुको तुलनामा थाइल्याण्डको खोप दर अत्यन्तै कम छ । थाइ जनसङ्ख्याको १८ प्रतिशतले मात्र पूरा डोज र २१ प्रतिशतले कम्तीमा एउटा डोज लगाएका छन् ।
४. दक्षिण अफ्रिका : संक्रमण दर घटेसँगै दक्षिण अफ्रिकाले कोभिड–१९ का थुप्रै नियमहरु खुकुलो पार्न सुरु गरेको छ । जस्तै रात्री कफ्र्युलाई ११ बजेदेखि ४ बजेसम्मले घटाइएको छ । त्यस्तै भित्र बस्दा २५० सम्म र बाहिर ५०० मानिस सम्मलाई भेला हुन अनुमति दिइएको छ ।
महामारी अवधिभरि अत्यन्तै कडा नियम अपनाउँदै आएको देशले अचानक कोभिड मापदण्ड यसरी खुकुलो पार्नुलाई त्यहाँ ठूलो परिवर्तन मानिएको छ । त्यहाँ खोप लगाउनेको दर कम हुनुले पनि सो निर्णयलाई आश्चर्यजनक बनाएको हो ।
तर नियमहरु खुकुलो बनाइएपनि अधिक संक्रमक डेल्टा भेरियेन्टले तेस्रो लहर निम्त्याउन सक्ने हुँदा सचेत रहनुपर्ने राष्ट्रपति सिरिल रामापोसाले बताएका छन् । साथै उनले आफूहरुसँग देशभरका जनतालाई लगाउन पुग्ने खोप रहेको जानकारी पनि दिएका हुन् । उनले यस्तै गरी बाँकीका नियमहरु पनि हटाउन र सामान्य जीवनमा फर्कन सबैलाई खोप लगाउन प्रोत्साहन गरेका छन् ।
५. चिली : सफल र तीव्र खोप अभियानका लागि चिलीको अन्तर्राष्ट्रिय रुपमै प्रशंसा गरिएको छ । स्वास्थ्य मन्त्रालयको सबैभन्दा पछिल्लो रिपोर्ट अनुसार त्यहाँका ८७ प्रतिशत योग्य नागरिकहरुले पूरा डोज खोप लगाइसकेका छन् ।
यति मात्र नभएर सरकारले कतिपयलाई अतिरिक्त बुस्टर डोज पनि दिन सुरु गरेको छ । स्वास्थ्य निकायले बिहिबार मात्र चिनियाँ खोप साइनोभ्याकलाई ६ वर्ष भन्दा माथिका बालबालिकाका लागि स्वीकृत गरेको थियो ।
यसरी डेल्टा भेरियेन्टबाट जोखिम कायमै भए पनि सरकारले अन्तर्राष्ट्रिय पर्यटनलाई बढावा दिन सिमा खुलाउने निर्णय सुनाएको हो ।
‘विदेशी पर्यटकहरु चिली आउन सक्नु भनेको हाम्रा लागि अत्यन्तै महत्वपूर्ण कुरा हो । यो हाम्रो पहिलो उल्लेखनीय कदम रहेको छ र सहि स्वास्थ्य स्थिति कायम गर्न सक्यौं भने हामी यसरी नै अगाडि बढिरहने छौं’, पर्यटन सचिव होजे लुइसले भनेका हुन् । सीएनएन

