

धनुषामा एक युवकले गरे श्रीमती र बाबुको हत्या

धनुषा – धनुषामा एक युवकले आफ्नै बुवा र श्रीमतीको हत्या गरेका छन्।
मिथिला विहारी नगरपालिका वडा नम्बर ५ ललियाका भागेश्वर मण्डलले ५५ वर्षीय बाबु रामवृक्ष मण्डल र ३५ वर्षीया श्रीमती अमरिकादेवी मण्डलको हत्या गरेको प्रहरीले जनाएको छ।
हत्या आरोपी मृतक मण्डलका छोरा भागेश्वर मण्डललाई प्रहरीले पक्राउ गरेको छ। गए राति घरमा विवाद हुँदा दुवैको हत्या गरी खाल्डोमा गाडेको भन्दै भागेश्वरले प्रहरीसमक्ष स्वीकार गरेको धनुषाका एसपी प्रकाश रानाभाटले जानकारी दिए।
अनुसन्धानमा खटिएका एक प्रहरीका अनुसार लामो समयदेखि बुवा र श्रीमतीबीच अनैतिक समबन्ध रहेको र सोही विषयमा घरमा विवाद हुँदा हत्या भएको हत्या आरोपी मण्डलको भनाइ छ।
हत्या गरेर बारीको झाडीमा उनले शव गाडेको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलमा पुगेर शव उत्खनन सुरु गरेको छ।
दुबै जनाको हत्या गरेर शव गाडेको भन्दै आज बिहानै स्थानीयले प्रहरीलाई खबर गरेपछि घटना बाहिरिएको हो।
घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

