प्रजातन्त्र दिवसका दिन छुटेका तामाङ पुनः हत्या आरोपमा पक्राउ


विराटनगर – मोरङ उर्लाबारी नगरपालिका- ४ का २१ वर्षीय कुशल दाहालको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन्।

उर्लाबारी नगरपालिका-५ का ३५ वर्षीय सुवास तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो। तामाङले घरमै बोलाएर दाहालको हत्या गरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए।

मंगलबार राति साढे ६ बजे तामाङले आफ्नै घरमा बोलाएर दाहालमाथि धारिलो हतियार तथा लाठी प्रहार गरेका थिए। गम्भीर घाइते भएका दाहाललाई गोदावरी अस्पताल उर्लाबारीमा प्रारम्भिक उपचारपछि बिएन्डसी अस्पताल बिर्तामोड लगिएको थियो। दाहालको उपचारको क्रममा त्यही दिन राति ८:० बजे मृत्यु भएको थियो।

कार्कीका अनुसार दाहालको हत्यापछि भागेका तामाङलाई सुन्दरहरैंचा नगरपालिका(४ दुलारी चोकमा पक्राउ गरिएको हो। तामाङ हत्या आरोपमा जेल परेर छुटेका व्यक्ति हुन्। उनको आपराधिक अभिलेखबारे प्रहरीले जानकारी दिएको छ। तामाङलाई कर्तव्य ज्यानमुद्दामा २०७१ साल असोज ९ गते अदालतले १० वर्ष सजाय तोकेको थियो। तर, उनी २०७६ सालको प्रजातन्त्र दिवसको दिन छुटेका थिए।

जेलबाट छुटेको एक वर्षमै उनलाई ज्यान मार्ने उद्योगमा अदालतले २०७७ भदौ ८ गते २ वर्ष ६ महिना कैद तोकेको थियो। त्यो कैद भुक्तान गरेर तामाङ छुटेका थिए। जेलबाट छुटेको दुई महिनापछि २०७७ कात्तिक ७ गते उनलाई अदालतले लागुऔषध मुद्दामा ३ महिना कैद र १ लाख धरौटी तोकेको थियो। त्यो कैद भुक्तान गरी तामाङ छुटेका थिए।

त्यस्तै, अभद्र व्यवहार मुद्दामा २०८० असोज २४ गते उनी एक लाख धरौटी तिर्न नसकेर कारागार मोरङ चलान भए। २५ गते धरौटी तिरेर उनी छुटेका थिए। प्रहरी उपरीक्षक कार्कीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिबारे अनुसन्धान भइरहेको छ। तामाङलाई कर्तव्य ज्यान मुद्दामा हिरासतमा राखेर अनुसन्धान थालिएको छ।

 

प्रतिक्रिया